कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई उनी अध्ययनरत विद्यालयले वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको छ ।
सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्याल बन्द हुँदा रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सहभागी भएकामा प्रोत्साहन स्वरुप सो विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी–२०७८ को उपाधि प्रदान गरिएको हो ।
महामारीको कठिन समयमा रुखमा डेरा बनाएर पढाइमा सहभागी बनेर अन्य बालबालिकालाई सिकाईप्रति मोटिभेट गरेकाले छात्र मगरलाई ‘वर्षोत्कृष्ट पपुलर एण्ड मोटिभेसनल’ विद्यार्थीका रुपमा पुरस्कृत गरिएको सरस्वती माविका प्रधानअध्यापक नबिन चाम्लिङले बताउनुभयो । गत साउनमा कोभिड महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए ।
छात्र मगर घर वरपर मोबाईल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी भएको प्रअ चाम्लिङले बताउनुभयो ।