पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार सदन नचलेका अवस्थामा संविधानको धारा ५४ अनुसार अविश्वास प्रस्ताव पेस भएको हो।

    • बेल संचार

    • २५ फाल्गुन २०७८, बुधबार

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरूद्ध अविश्वासको प्रस्ताव पेस भएको छ।

प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग-एन (पीएमएलएन) ले मंगलबार राष्ट्रिय सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार सदन नचलेका अवस्थामा संविधानको धारा ५४ अनुसार अविश्वास प्रस्ताव पेस भएको हो।

धारा ५४ अनुसार राष्ट्रिय सभाका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक आह्वानको माग गर्न सक्नेछन्। उनीहरूले माग गरेको १४ दिनभित्रमा सभामुखले बैठक आह्वान गर्नुपर्नेछ।

विपक्षी गठबन्धनको अर्को घटक पाकिस्तान पिपुल्स पार्टीका प्रवक्ता नवीद कमारले १४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरिएको बताएका छन् ।

 

 

पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ। पाकिस्तानको संसदमा ३४२ सदस्य छन्। यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न यसको पक्षमा १७२ भोट भए पुग्छ।

विपक्षी गठबन्धनले १७२ भोट जुटाएमा इमरान खान सत्ताबाट बाहिरिनेछन्। खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ(पीटीआई) सँग राष्ट्रिय सभामा १५५ सिट मात्रै छ। उनले केही साना दलसँग मिलेर सरकार बनाएका हुन्।

यसैबीच प्रधानमन्त्री खानले सरकार नढल्ने बरु अझ बलियो हुने प्रतिक्रिया दिएका छन्।

गत वर्ष मार्चमा खानले विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १७८ भोट पाएका थिए।

लाहोरमा केही साता अगाडि बसेको मुभमेन्टको बैठकमा यसका प्रमुख फजजुर रहमानले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गर्नुपर्ने बताएका थिए।

विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका छन्। विपक्षीको विरोधलाई रोकथाम गर्ने प्रयासमा प्रधानमन्त्री खानले पेट्रोलको मूल्य र बिजुलीको महसुलमा केही कटौतीको निर्णय गरेका छन्। साथै

सामाजिक कल्याण योजना अनुसार अधिक अनुदान दिने लगायतको घोषणा पनि खानले गरेका छन् ।

खानले सन् २०१८ देखि पाकिस्तानी सरकारको नेतृत्व गरिरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित