नेपाल–चीनबीचको बीआरआई सम्झौता अझै प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा राष्ट्रपतिद्वारा चिन्ता व्यक्त
नेपाल–चीनबीचको बीआरआई सम्झौता अझै प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा राष्ट्रपतिद्वारा चिन्ता व्यक्त
    • बेल संचार

    • २७ फाल्गुन २०७८, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्ता राष्ट्रपति भण्डारीले नेपाल–चीनबीच बीआरआई सम्झौता भएको पाँच पुग्दा पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको हो । बीआरआईलाई नेपालको पूर्वाधार विकासको अवसरको रूपमा हेरेको भन्दै उहाँले दुबै पक्ष मिलेर चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले बीआरआईसहित अन्य समसामयिक विषयमा चर्चा गर्नुभएको छ ।
यस्तै अन्तर्वार्तामा बेइजिङको शीतकालीन ओलम्पिक खेलकुद, चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण र उनको विचारधारबारे समेत राष्ट्रपति भण्डारीसँग कुराकानी गरिएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ नेपाल भ्रमणमा आउने तयारीमा रहेका बेला चिनियाँ सरकारको मुखपत्रले राष्ट्रपति भण्डारीको अन्तर्वार्ता लिएको हो।

राष्ट्रपति भण्डारीले नेपाल(चीन सम्बन्ध आपसी विश्वासमा अघि बढ्ने उल्लेख गर्नुभएको छ ।

झण्डै २३ वर्षपछि सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति चिनफिङको भ्रमणले चीन–नेपाल सम्बन्ध नयाँ ढंगले बढिरहेको भन्दै भण्डारीले चिनियाँ राष्ट्रपतिको भ्रमण भ्रमण सफल र फलदायी भएको स्मरणसमेत गर्नुभएको छ । उहाँले भ्रमणका बेला भएका सम्झौताहरु कार्यान्वयन गरेर जानुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

उहाँले कोभिड १९ महामारीविरुद्ध लड्न नेपाललाई खोप र अन्य आपतकालीन स्वास्थ्य सहयोग गरेकोमा चिनियाँ सरकारलाई धन्यवादसमेत दिनुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित