मुख्यमन्त्री पोखरेलद्वारा शिवपञ्चायन मन्दिरको शिलान्यास   
    मुख्यमन्त्री पोखरेलद्वारा शिवपञ्चायन मन्दिरको शिलान्यास   

यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित मन्दिर निर्माण गर्न लागिएको हो ।    

    • Bell Sanchar

    • २९ फाल्गुन २०७८, आईतवार

दमौली, 
तनहुँको व्यास नगरपालिका–७ कलेस्तीमा शिवपञ्चायन मन्दिर निर्माण हुने भएको छ । यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित मन्दिर निर्माण गर्न लागिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त मन्दिरको शनिबार शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले गण्डकी प्रदेश धार्मिक हिसाबले निकै महत्वपूर्ण प्रदेश रहेको चर्चा गर्नुभयो । प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउने सकिने भएकाले त्यसतर्फ सरकारको जोड रहेको उहाँले बताउनुभयो ।

प्रदेशभित्र धेरै धार्मिक सम्भावना बोकेका ठाउँ भएकाले त्यसको विकासका लागि सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । “धर्मलाई पर्यटनसँग जोडेर अगाडि लैजान सकिए प्रदेशलाई समृद्ध बनाउन सकिन्छ, त्यसतर्फ सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, तत्कालीन् संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वेदव्यासको जन्मभूमि दमौली र आसपासका क्षेत्रलाई धार्मिक पर्यटनको माध्यमबाट विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

हाते ट्र्याक्टर वितरण

कृषि ज्ञान केन्द्र तनहुँले व्यास –९ गजौडेका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । सुनौला नयाँ गोरेटो कृषि सहकारी संस्थामा आबद्ध कृषकलाई ज्ञान केन्द्रले हाते ट्र्याक्टर वितरण गरेको हो । पचास प्रतिशत अनुदानमा नौवटा हाते ट्र्याक्टर वितरण गरिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यसहित हाते ट्र्याक्टर वितरण गरिएको तिवारीले बताउनुभयो । हाते ट्र्याक्टरको कूल लागतको पचास प्रतिशत कृषकले र पचास प्रतिशत कार्यालयले व्यहोरेको छ ।

“लागत घटाउँदै कृषिमा यान्त्रिकरण गर्नका लागि कृषकलाई उपकरण दिएका हौँ”, उहाँले भन्नुभयो, “परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ । कृषिमा यान्त्रिकरण गर्न सके लागत घट्न गई आम्दानी बढाउन सकिन्छ ।”

जिल्लाकै ऋषिङ गाउँपालिकाले कृषकलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाले वडा नं ४ भिरकोटका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो । परम्परागतरूपमा कृषि पेशा गर्दै आएकालाई व्यावसायिक बनाउन १० कृषकलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

हाते ट्र्याक्टर पाएपछि यहाँका कृषक खुसी भएका छन् । खेतबारी जोत्नका लागि गोरुको प्रयोग गर्दा लागत महङ्गो हुने गरेकाले हाते ट्र्याक्टरले लागत पनि कम गराउने बताइएको छ । गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव खेपिरहेका किसानलाई ट्र्याक्टर पाएपछि सहज हुने विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भन्नुभयो, “हाम्रो मुलुकमा विकसित प्रविधि किसानको पहुँचमा पु¥याउन नसक्दा निर्वाहमुखी उत्पादनमा अल्झिएका छौँ ।” ऋषिङका अधिकांश भू–भाग भिरालो भएकाले साना र हलुङ्गा किसिमका हाते ट्र्याक्टर किसानलाई उपयुक्त हुने बताइएको छ ।
–––

साताकाे चर्चित
सम्बन्धित