प्रकाशको ‘पिर’ विवाद : युट्युबबाट हटाउन माओवादीका चार संगठनको चेतावनी, प्रतिवाद गर्ने युथफोर्सको घोषणा
प्रकाशको ‘पिर’ विवाद : युट्युबबाट हटाउन माओवादीका चार संगठनको चेतावनी, प्रतिवाद गर्ने युथफोर्सको घोषणा
    • Bell Sanchar

    • ३० फाल्गुन २०७८, सोमबार

नेकपा माओवादी केन्द्रनिकट ४ संगठनले गायक प्रकाश सपुतको ‘पिर’ बोलको गीतको भिडियो तत्काल युट्युबबाट हटाउन चेतावनी दिएका छन्।

जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै गीतको भिडियो तत्काल युट्युब च्यानलबाट हटाउन भनेका छन्।

‘२०७८ फागुन २७ गते शुक्रबार प्रकाश सपुत युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो ‘पीर’ले चित्रण गरेको विषयवस्तुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। दश वर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विद्युतीयकरण गर्न खोजिएको उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार माग गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।

भिडियोमा माओवादीका पूर्वलडाकुलाई आफ्नो जीवन धान्नका लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

यता, नेकपा एमालेनिकट युथ फोर्स नेपालले भने गायक सपुतमाथि भइरहेका धम्कीपूर्ण भाषा रोक्न भनेको छ। धम्की नरोकिए प्रतिकार गर्ने युथ फोर्सको विज्ञप्तिमा उल्लेख छ।स्वतन्त्रता, सामाजिक न्याय, उत्पीडित वर्ग, समुदायको हक–हितको रक्षासहितको प्रावधान संविधानमा राखिएको छ। तर, पनि भर्खरै चर्चामा आएको प्रकाश सपुतको ‘पीर’ नामक सांगीतिक भिडियोलाई लिएर माओवादी (केन्द्र) आवद्ध वाईसीयल लगायत जनसंगठनका नेता कार्यकर्ताले भिडियो बन्द गर्न धम्कीपूर्ण भाषासहितको अभिव्यक्ति दिएको देखियो’ युथ फोर्स नेपालका प्रमुख पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसबाट ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको’ प्रष्ट भएको छ । कलाकारले कलाकारिताको माध्यमबाट यथार्थ चित्रण हुनेगरी मनोरञ्जन दिने अभिप्रायले सिर्जना गरेको हुन्छ । कलाकारले देखाएको प्रतिभालाई रोक्ने अधिकार कसैलाई हुँदैन ।’

साताकाे चर्चित
सम्बन्धित