प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया
प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया

उनले 'जनयुद्ध' बाट शान्ति प्रक्रिया र संविधानसभामा ल्याएको भन्नेमा पनि पक्ष र विपक्षमा बहस हुने गरेको बताए।

    • Bell Sanchar

    • ३० फाल्गुन २०७८, सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले ल्याएको ‘पिर’ गीतबारे कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिएका छन्।

माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गरिरहेका बेला प्रचण्डले उत्तेजित हुनु नपर्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस  भइरहने बताएका थिए।

‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन, मेरो विचारमा अहिले हामी कोही उत्तेजित हुनुपर्ने छैन,’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन्, त्यसलाई सहज र स्वभाविक रूपले लिनुपर्छ।’

उनले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रिया र संविधानसभामा ल्याएको भन्नेमा पनि पक्ष र विपक्षमा बहस हुने गरेको बताए।

‘शान्ति प्रक्रियामा आएकोमा गर्व गर्ने पक्ष पनि छ। शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि छ,’ उनले भने, ‘हामी उत्तेजित हुनुपर्ने छैन। योबारे हामी गइसकेपछि सयौं वर्षसम्म पनि बहस रहन्छ।’

आफू कतार, मलेसिया जाँदा त्यहाँ काम गर्न पुगेका पूर्वलडाकुसँग कुराकानीसमेत भएको प्रचण्डले स्मरण गरेका थिए। ‘कतार, मलेसिया जाँदा त्यहाँ लडाकु दु:खपूर्ण जीवन विताइरहेका छन्। दु:ख गरे पनि कमरेड तपाईंलाई अप्ठ्यारो परेका बेला भन्नुस् हामी फेरि आउन तयार छौं, विचलित भएका छैनौं भन्नुभएको थियो,’ उनले भने।

यसअघि माओवादीका पूर्वनेता तथा जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पनि गीतले ‘जनयुद्धको’ विरोध नगरेको प्रतिक्रिया दिएका थिए।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु- त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयुद्धको विरोध गरेको छैन,’ ट्वीट गर्दै बाबुरामले भनेका छन्।

गीतले अपूर्ण क्रान्तिका पीडा दर्शाएको पनि उनले उल्लेख गरेका छन्।

‘अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ, त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो,’ उनले भनेका छन्, ‘गीतका सर्जकलाई किन धम्काउने?’

साथै माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्‍याएको तर सोझासाझाले सास्ती भोग्नुपरेको कथा सपुतले गीतको भिडिओमा देखाउन खोजेका छन्।

गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा पाएको छ। केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन्।

चुनाव नजिकिएको बेला माओवादीको विरोध गरेको भनेर केहीले यसको आलोचना गरेका छन् भने केहीले भने यसले राम्रो कथा र सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन्।

माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ।

भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक दम्पति देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ।

भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन्। आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाशको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन्।

गीतमा प्रकाशको नै शब्द र संगीत छ। भिडिओको कथा तथा निर्देशन पनि प्रकाशले नै गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित