पन्जाबका नयाँ मुख्यमन्त्रीले लिँदैछन् गाउँमा सपथ, सहभागी हुन जनतालाई निम्तो
पन्जाबका नयाँ मुख्यमन्त्रीले लिँदैछन् गाउँमा सपथ, सहभागी हुन जनतालाई निम्तो

पहिलो पटक पन्जाबमा सरकार बनाउन लागेका आम आदमी पार्टी (आप) का नेताले राजधानी चन्डीगढमा नभई एक गाउँमा सपथ लिँदै छन्।

    • बेल संचार

    • १ चैत्र २०७८, मंगलवार

भारतीय राज्य पन्जाबका नयाँ मुख्यमन्त्री भागवन्त मानले बुधबार पद तथा गोपनियताको सपथ लिँदैछन्।

पहिलो पटक पन्जाबमा सरकार बनाउन लागेका आम आदमी पार्टी (आप) का नेताले राजधानी चन्डीगढमा नभई एक गाउँमा सपथ लिँदै छन्।

भारतीय स्वतन्त्रता आन्दोलनका योद्धा सरदार भगत सिंहको गाउँमा खट्कर कलानमा उनको सपथ हुने हिन्दुस्तान टाइम्सले जनाएको छ। मानले आफ्नो सपथ समारोहमा सहभागी हुन सबै पन्जाबीलाई निम्तो दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा एक भिडिओ सार्वजनिक गर्दै ४८ वर्षीय मानले आफू एक्लैले पन्जाबको मुख्यमन्त्रीको सपथ नलिने बरू सबै पन्जाबीले एकसाथ मुख्यमन्त्रीको सपथ लिने उनले बताएका छन्।

आपका संस्थापक एंव दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि मानको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्।

मार्च १० मा आएको पन्जाब विधान सभाको मतपरिणाममा आपले ११७ मध्ये ९२ सिट जितेको थियो।

आफ्ना सांसदहरूलाई मानले राजधानी चन्डीगढमा नबस्न र भोट माग्न गाउँ-गाउँ गएजसरी काम गर्न गाउँ-गाउँ जान निर्देशन दिएका छन्।

 वैकल्पिक राजनीति थालेको १० वर्षमै आम आदमी पार्टीको दोस्रो राज्यमा बहुमतको सरकार

भारतीय प्रान्त  पन्जाबको विधान सभा चुनावमा आम आदमी पार्टी (आप) ले दुई तिहाइ  बढी सिट जितेको छ।

बिहीबार पाँच वटा भारतीय राज्यमा विधान सभा चुनावको मतगणना भइरहेको छ। तीमध्ये पन्जाबमा अरबिन्द केजरीवाल नेतृत्वको आपले दुई तिहाइ बढी बहुमत ल्याएको हो।

टाइम्स अफ इन्डियाका अनुसार ११७ सिटमध्ये आपले ९२ सिट जितेको हो। पन्जाबमा सरकार बनाउन ५९ सिट भए पुग्छ। आपले झन्डै ७९ प्रतिशत सिट जितेको हो।

पन्जाबमा हाल कंग्रेस आईको सरकार छ। कंग्रेसले जम्मा १८ सिटमात्रै जितेको छ। सिरोमनी अकेली दल (एसएडी) ले तीन सिट, भारतीय जनता पार्टी (भाजपा) ले दुई सिट र अरूले दुई सिट जितेका छन्। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ।

जीतपछि पार्टी अध्यक्ष केजरीवालले पन्जाबका जनतालाई धन्यवाद दिएका छन्।

‘पन्जाबका जनताले गज्जब गरे। हामी सबै तपाईंहरूलाई माया गर्छौं, पन्जाब,’ उनले भने।

उनले अब आपको क्रान्ति देशभर फैलिने बताए।

कंग्रेसका ‍पूर्व-मुख्यमन्त्री अमरिन्दर सिंह, कंग्रेस पन्जाब राज्यका अध्यक्ष नवजोतसिंह सिद्धू र मुख्यमन्त्री समेत रहेका चरन्जित चन्नी पराजित भएका छन्।

सन् २०१७ मा भएको विधान सभा चुनावमा कंग्रेसले ७७ सिट जितेको थियो।

पार्टीको आन्तरिक विवाद सम्हाल्न नसक्दा केही महिनाअघि मात्रै मुख्यमन्त्री अमरिन्दर सिंहले पार्टी छोडेका थिए। विभाजित भएको कंग्रेसले अहिले १८ सिटमात्रै जितेको हो।

कंग्रेसका नेता राहुल गान्धीले जनताले गरेको निर्णयलाई नम्रताका साथ स्वीकार्ने बताएका छन्।

उनले बिहीबार ट्विट गर्दै विधान सभा चुनावमा जितेका नेताहरूलाई बधाई समेत दिएका छन्।

वैकल्पिक राजनीति थालेको १० वर्षमा आपले दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको हो। भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब पन्जाबमा पनि सरकार बनाउने छ।

दिल्लीमा पनि आपले विधान सभा चुनावमा झन्डै ९० प्रतिशत सिट जितेको थियो। सन् २०२० मा भएको विधान सभा चुनावमा आपले ७० मध्ये ६२ सिट जितेको थियो।

पन्जाबमा अब आपका नेता भागवन्त मान मुख्यमन्त्री बन्नेछन्।

वैकल्पिक शक्तिका रूपमा उदाएको आपले दिल्लीमा तेस्रो पटक सत्ता चलाइरहेको भए पनि अरू राज्यमा फैलिन उसलाई मुस्किल भइरहेको थियो। पन्जाब विधान सभा जित्नु आपका लागि ऐतिहासिक सफलता हो।

यसअघि दिल्लीमा पनि आपले कंग्रेसबाट नै सत्ता छिनेको थियो।

आपले पन्जाबमा जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छानेको थियो।

आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् जनताको अभिमत मागेको थियो।

अभियानमा सहभागीहरू भागवन्त मनलाई मुख्यमन्त्री बनाउनु पर्ने बताएका थिए।

झन्डै २२ लाख मानिस अभियानमा आफ्नो राय व्यक्त गरेको र तीमध्ये ९३ प्रतिशत मत भागवन्तको पक्षमा आएको बताइएको थियो।

आपले सन् २०१७ को विधान सभा चुनावमा पनि पन्जाबमा लडेको थियो। त्यतिबेला पहिला नै मुख्यमन्त्रीका उम्मेदवार घोषणा गरिएको थिएन। आपले पाँच वर्षअघिको चुनावमा विधान सभाका २० सिट जितेको थियो।

आपले मुख्यमन्त्रीका उम्मेदवार बनाएका भागवन्त ४८ वर्षका भए। राजनीतिमा आउनुभन्दा पहिला उनी कमेडियन थिए।

सन् २०१२ मा उनी राजनीतिमा आएका थिए। सुरूमा उनी पन्जाब पिपल पार्टीमा आवद्ध भएका थिए। उक्त पार्टीबाट विधान सभा चुनाव जित्न नसकेपछि भागवन्त सन् २०१४ मा आपमा लागेका थिए।

भागवन्त सन् २०१४ देखि लोकसभा सदस्य छन्। सन् २०१९ को चुनाव पन्जाबबाट लोकसभा चुनाव जित्ने उनी एकमात्र आप उम्मेदवार हुन्।

(विभिन्न भारतीय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।)

साताकाे चर्चित
सम्बन्धित