रवीन्द्र अंकल, जुन दिन हामी गाली गर्न छाड्छौं तपाईंको राजनीति सकिनेछ: मिलन पाण्डे
रवीन्द्र अंकल, जुन दिन हामी गाली गर्न छाड्छौं तपाईंको राजनीति सकिनेछ: मिलन पाण्डे

विवेकशील साझाको संयोजक रहेका पाण्डेलाई पार्टीले यसअघि नै साधारण सदस्य पनि नरहने गरी निकालेको थियो।

    • बेल संचार

    • २ चैत्र २०७८, बुधबार

विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएपछि मिलन पाण्डेले यो निर्णय सुनेर दया लागेको टिप्पणी गरेका छन्।

विवेकशील साझाको संयोजक रहेका पाण्डेलाई पार्टीले यसअघि नै साधारण सदस्य पनि नरहने गरी निकालेको थियो।

आइतबार (फागुन ३० मा) बसेको कार्यसम्पादन समिति बैठकले लगातार केन्द्रीय समितिमा अनुपस्थित भएको, कतिपयले समानान्तर गतिविधि गरेको र लेबीसमेत नतिरेको भन्दै २६ केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको थियो।

कार्यसम्पादन र केन्द्रीय समितिमा रहेकाहरूलाई जिम्मेवारी हेरफेर गरिएका खबर बाहिरिएपछि पाण्डेले त्यसमाथि टिप्पणी गर्दै विवेकशील साझाको निर्णय देखेर यसपालि रिसभन्दा पनि दया लागेको प्रतिक्रिया दिएका छन्।

उज्ज्वल थापासँगै २०६९ जेठमा वैकल्पिक राजनीति थालेर पार्टीको जग बनाउन योगदान गरेका पुकार बमलाई पनि विवेकशील साझाले केन्द्रीय समितिबाट हटाउने निर्णय गरेकोमा पाण्डेले उक्त निर्णय देखेर दया लागेको बताएका छन्।

‘जसले वैकल्पिक राजनीति सुरु गर्यो, जसले हालेको जगमा टेकेर राजनीति गर्दै हुनुहुन्छ उसलाई नै कारबाही?,’ पाण्डेको प्रश्न छ, ‘पुकार बम ती पात्र हुन् जसले वैकल्पिक राजनीति उज्वल थापा दाइसँग २०६९ साल जेठमा सुरु गरेका थिए। केजरिवालले आप सुरु गर्नु ६ महिना अघि। बिजुली, धारा, किताब झुन्ड्याउँदै डेलिभरीको मुद्दा बोक्दै हिँड्थे।’

पुकारले कोरोनाका बेला पनि राम्रा काम गरेको पाण्डे बताउँछन्।

‘पुकार बम ती पात्र हुन् जसले कोरोनाको बेलामा ५०० दिनसम्म हजारौँलाई खाना खुवाए। ‘इनफ इज इनफ’को बेलामा नागरिकका निम्ति १२ दिनसम्म अनशन बसे। दोस्रो लकडाउनमा देशवासीलाई घर घरमा पुगेर अक्सिजन र खाना खुवाए,’ उनले भनेका छन्, ‘यति काम कुन नेताले गरेको छ यो ५ वर्षमा? मलाई यसपालिचाहिँ रिस उठेन, बरु दया लाग्यो।’

उनले छल गरेर सकुनीले पनि जितेको तर अन्त्यमा पाण्डवकै जित भएको पनि उल्लेख गरेका छन्।

‘क्षणिक जित्नु ठूलो कुरा होइन, आफ्नो कन्भिक्सनमा रहनु अनि आफ्नो विचारमा अडिनु नै राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले भनेका छन्।

विवेकशील साझाले केन्द्रीय सदस्यबाट जिम्मेवारीविहीन बनाएका २६ जनामध्ये अधिकांश संस्थापक नेता भएको पाण्डे बताउँछन्।

‘सुरूमा निर्णय हेर्दा हाँसो उठ्यो अनि पछि दया लाग्यो,’ उनले भनेका छन्, ‘यति बुझ्नुहोस् रवीन्द्र अङ्कल, जुन दिनबाट हामी तपाईँलाई गाली गर्न छोडिदिनेछौ, त्यो दिनबाट तपाईँको राजनीति सकिने छ।’

विवेकशील साझाले गत पुस ६ मा मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको थियो। पार्टीले लिने विचारलगायत विषयमा कुरा नमिल्दा अध्यक्ष मिश्र र तत्कालीन संयोजक पाण्डे पक्षबीच मतभेद थियो।

साथै अध्यक्ष मिश्रले पार्टीमा एकलौटी गरेको भन्दै पाण्डे पक्ष अदालतमा पुगेको थियो।

साताकाे चर्चित
सम्बन्धित