इटहरी । प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवाका २४ वर्षीय शंकर खड्का, सोही ठाउँका भबेश थापा मगर र मोरङ पथरिशनिश्चरेका २७ वर्षीय सुमन दाहाल रहेका छन् । सप्तरी घर भइ विराटनगर ४ कंचनबारीमा कोठाभाडामा बस्दै आएका १८ वर्षीय आलोक श्रेष्ठलाई अपहरण गरि उनका परिवारलाई दुई लाख रुपैयाँ फिरौती रकम मागेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
घटनामा जोडिएका सुमन मुख्य नाइके भएको खुलेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुमनले आलोकलाई अपहरण गर्नुको कारण प्रेमिकासँग जोडिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुमनको प्रेमिका विराटनगरमा बसेर पढ्दै आएका थिइन् ।
पढाइमा लाग्ने सम्पूर्ण खर्च सुमनले नै व्यहोरेका थिए । केही समयअघि मात्रै सुमनकी प्रेमिका आलोकसँग लागेको थाहा पाएपछि आलोकलाई अपहरण गर्ने र सबै खर्च उठाउने योजना अनुरुप विराटनगरको कन्चनबारीदेखि बिहीबार साँझ आलोकलाई अपहरण गरिएको प्रहरीले जनाएको छ ।
अपहरणपछि आलोकको घरमा फोन गरेर दुई लाख मागिएको र घटना’bout खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्र कार्कीले बताए । उनका अनुसार अपहरणमा संलग्नलाई शुक्रबार पक्राउ गरेको हो पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ । यता, मोरङ प्रहरीले आइतबार ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा म्याद थप गर्ने तयारी गरेको छ ।