सहयोगका पर्खाइमा राना दम्पती   
   सहयोगका पर्खाइमा राना दम्पती   

उहाँका ६५ वर्षीया श्रीमती सोनावत्ती राना शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ ।

    • बेल संचार

    • ६ चैत्र २०७८, आईतवार

कञ्चनपुर, 
लालझाडी गाउँपालिका–१ विनवारीका रामसिंह राना उमेरले ८० वर्ष पुग्न लाग्नुभएको छ । उहाँका ६५ वर्षीया श्रीमती सोनावत्ती राना शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँहरूका सन्तान छैनन् । सम्पत्तिका नाममा तीन कठ्ठा ऐलानी जग्गा छ । सो जग्गामा राना दम्पतीको कच्ची घर छ । दुवै ज्येष्ठ दम्पतीलाई स्थानीय बासिन्दाले खानाको जोहो मिलाउने गरेका छन् ।

“घरबासका लागि मात्रै जग्गा छ, त्यो पनि ऐलानी हो”, सोनावत्तीले भन्नुभयो, “कम्मरमुनिको भाग चल्दैन, खानाका लागि छिमेकीले जोहो मिलाउँछन् । दुःख बिराम परेका बेला दिदीको छोराले हेर्ने गरेको छ ।” बस्नका लागि घर र शौचालयको व्यवस्था दिदीको छोराले गरेको उहाँले बताउनुभयो । रामसिंहले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको भत्ताको रकम पाउने गर्नुहुन्छ । सोनावत्तीले समेत अपाङ्गता भत्ता पाउनुहुन्छ । सोही रकमले घरको केही खर्च चल्ने गर्दछ ।

“दुवै जना बेला–बेला बिरामी पर्ने गरेकाले भत्ताको रकमले धान्दैन”, रामसिंहले भन्नुभयो, “जेठी सासुका छोराले उपचार गराउने गरेका छन् ।” अरुको भरमै बाँच्नुपरेको उहाँले बताउनुभयो । पहिलाकी श्रीमती रोगव्याधिका कारण बितेपछि उहाँले सानावत्तीसँग दोस्रो विवाह गर्नुभएको हो । “अपाङ्गता भएको थाहा थियो, घर सम्हाल्ने कोही नभएपछि सोनावत्तीसँग विवाह गरेँ”, उहाँले भन्नुभयो, “दुईपटक बिरामी भएका कारण गर्भमै सन्तान बिते । त्यसपछि सन्तानै भएनन् ।”

रामसिंह दमको बिरामी हुनुहुन्छ । थोरै हिँड्दा श्वास फुलेर आउँछ । यसैले काम गर्न सक्दैनन् । उहाँका श्रीमती शारीरिकरूपमा अपाङ्गता भए पनि खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्नका लागि हातको सहाराले घिस्रेर काम चलाउनुहुन्छ ।

“शरीरमा थोरै तागत भएका बेला आफैँ काम गर्दै आएका छौँ”, रामसिंहले भन्नुभयो, “बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो निकै चिन्ता छ ।” दातृ निकायको सहयोगमा गाउँपालिकाको स्वास्थ्य शाखाले दुवै दम्पतीको अवस्थालाई मध्यनजर गरी घरमै पुगेर कोरोनाविरुद्धका दुई खोप लगाएका छन् ।

“बिरामी पर्दा गाउँ नजिकै रहेको आधारभूत स्वास्थ्य केन्द्रमा समेत पुग्न सक्दैनौँ । कहिले छिमेकी गुहार्छौँ, कहिले अन्य कसैबाट औषधि मगाउँछौँ । बिरामीले थला पर्दा टाढाको अस्पताल जान भने सकिँदैन ।

दिदीको छोराले आफ्नो घर र यहाँ हेर्नुपर्ने भएपछि उसलाई समेत निकै कर गर्न सक्दैनौँ । रोगलाई दबाउँदै बस्नेसमेत गरेका छौँ”, सोनावत्तीले भन्नुभयो, “निकै कष्टकर जीवन बिताउनुपरेको छ, यस्तो कसैलाई नहोस् ।”
–––

साताकाे चर्चित
सम्बन्धित