माओवादी छाडेका कर्णालीका सांसद विष्ट एमाले प्रवेश
माओवादी छाडेका कर्णालीका सांसद विष्ट एमाले प्रवेश

विष्टलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्। 

    • बेल संचार

    • ६ चैत्र २०७८, आईतवार

नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेश सभा सदस्य भएका ठम्मर विष्ट नेकपा (एमाले) प्रवेश गरेका छन्।

आइतबार दिउँसो एमालेको बृहत कार्यकर्ता भेलामा सहभागी भएर उनले पार्टी प्रवेश गरेका हुन्।

विष्टलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्।

सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, संसदीय दल र पार्टीबाट राजीनामा दिएका थिए। सांसद पदबाट दिएको राजीनामा पत्रमा उनले शनिबार मात्र हस्ताक्षर गरेका थिए।

यता माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलले उनलाई निष्कासन गरेको भन्दै विज्ञप्ति निकालेको छ। यसअघि संसदीय दलले उनलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको थियो।

निर्देशनपछि पनि माओवादीबाट अलग्गिएको घोषणा गरेपछि उनलाई सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो। विष्ट माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक समेत थिए।

उनले पछिल्लो समय पार्टी नेतृत्वको गतिविधि अलोकतान्त्रिक भएको हुँदा पार्टी छाडेको बताएका थिए। यस्तै आफूले आफ्ना शुभेच्छुक कार्यकर्ताहरूलाई पनि एमालेमै आउन भनेको बताए।

‘पछिल्लो समय मेरो परिश्रम रहेको पार्टी र नेतृत्वको गतिविधि लोकतान्त्रिक छैन। मैले मेरा शुभेच्छुक कार्यकर्तालाई पनि एमालेमा आउन भनेको छु,’ उनले भनेका थिए।

साताकाे चर्चित
सम्बन्धित