स्थानीय तहको चुनाव लक्षित नेपाली कांग्रेसको ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान कर्णाली प्रदेशमा पनि सुरू गरिएको छ।
कर्णाली प्रदेशका हिमाली जिल्लाहरूबाट यो अभियान सुरू गरिएको छ।
अभियानअन्तर्गत नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको नेतृत्वमा एक टोली डोल्पा पुगेको छ।
सोमबार डोल्पा पुगेको टोलीले जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताहरूले भेटघाट गरी अभियानलाई प्रभाकारी बनाउन सुझाव दिएको छ।
भेटका क्रममा सभापति शाहीले हालसम्म प्राप्त उपलब्धी, लोकतन्त्र र संविधानको रक्षा गर्न आगामी चुनामा कांग्रेसले जित्नुपर्ने बताउँदै सोही लक्ष्य अनुसार अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।
उनले कांग्रेस बाहेकका दलहरूमा विकासको नारा लगाउने तर भ्रष्टाचारमा लिप्त हुने प्रवृत्ति कायमै रहेको टिप्पणी गरे।
उनले कोभिड महामारीका बेला पनि कम्युनिष्ट नेतृत्वको सरकार जनताको स्वास्थ्य उपचारमा गम्भीर नभएको आरोप सभापति शाहीले लगाए।
‘एमालेलगायत सबै दल विकासको नारा लगाउने तर भ्रष्टाचारमा लिप्त हुने गरेको अवस्था छ, यो प्रवृत्ति अन्त्य गर्न पनि कांग्रसेको जित अपरिहार्य छ,’ उनले भने।
उनले कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनेपछि योजना व्यवस्थापन र सुशासनको मार्गमा प्रदेश अघि बढेको बताए।