गैर आवासीय नेपाली संघमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन
गैर आवासीय नेपाली संघमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन

अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको हो।

    • बेल संचार

    • ८ चैत्र २०७८, मंगलवार

लामो समयदेखि विवादमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएन) मा सहमति भएको छ। सहमतीसँगै आगामी चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन गर्ने निर्णय भएको हो।

अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको हो।

अध्यक्ष पदका तीनै जना प्रत्यासीले मंगलबार संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको दाबी गरे।

यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उनीहरूको भनाइ छ।

अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ आफ्नो कमजोरी स्वीकार गरेको बताए। पछिल्लो सहमतिले संस्थालाई एकजुट बनाएको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले गैर आवासीय एक र एकतावद्ध रहने दाबी गरे। उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताए। अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारहरुले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको पनि जानकारी दिए।

‘गैर आवासीय नेपाली संघ एक रहन्छ, एकतावद्ध रहन्छ । अब गैर आवासीय नेपाली संघ एकतावद्ध रहन्छ म दावाका साथ भन्न सक्छु । यसले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति झनै प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्दै जानेछ’, उनले भने, ‘मार्चको २६ र २७ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भनेको थियौं, त्यसलाई केही परिमार्जन गरेर २४ र २५ मा गर्ने निर्णय गरेका छौं।’

अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताए। पदभन्दा पनि पद्धतिका लागि एकजुट हुनु परेको उनको भनाइ थियो। संस्थालाई एकजुट बनाएर अगाडि अहिलेको आवश्यकता रहेको उनले औल्याए ।

अध्यक्षका उम्मेदवारद्वय केसी र थापाले पनि संस्था जोगाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताए। उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरू मिलेर संस्थालाई अघि बढाउने बताए।

‘अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नुबाहेक अन्य कुनै पनि उपाय छैन। हरेक व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि जानुपर्छ भन्नेमा हामी सहमत छौं’, उनले भने, ‘यो डेढ वर्षको समय हामी सबैले एकैसाथ सामुहिक नेतृत्व गर्ने गरेर अघि बढ्ने निर्णय गरेका छौं।’

त्यस्तै अर्का अध्यक्षका प्रत्यासी कुल आचार्यले पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए। उनले सबै गैर आवासीय नेपालीले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि बताए।

‘हामी सबै पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेका छौँ। हामी राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेका छौँ । हामी पहिला भएका कमी कमजोरीहरुलाई नियालेर सबैलाई समेट्दै अघि बढ्न चाहन्छौँ,’ अध्यक्षका प्रत्यासी आचार्यले भने।

त्यस्तै अध्यक्ष पदर्की प्रत्यासी रविना थापाले  संस्थामा भएका विवादहरुलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताइन्। उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्य बेगर यसलाई अघि लैजान गाह्रो भएको पनि बताइन्।

अध्यक्षकी प्रत्यासी थापाले भनिन्, ‘यो संस्थाको विभिन्न किसिमको समस्या, झैझगडा, विवादहरु थिए । यी विवादलाई अन्त्य गर्नको लागि र संस्थालाई बलियो बनाउनको लागि इमान्दारितापूर्वक काम गरिरहेका छौँ । अहिलेको एनआरएनएको अवस्था सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो छ।’

एनआरएनएले गैर आवासीय नेपाली संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै थप प्रभावकारी बनाउन पनि राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गरेको छ । यो महाधिवेशनपछि सहमति प्रणालीबाट नेतृत्व गर्ने निर्णय भएको पनि अध्यक्षकी प्रत्यासी थापाले बताइन्।

सहमति अनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्ने छन् भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिनेछन्।

त्यसैगरी असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता हुने पन्तले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित