नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसिसी पास गर्ने कांग्रेस हो भनेर जनतामाझ जानुपर्ने र कांग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे।
एमसिसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, ‘कांग्रेसले एमसिसी पास गर्यो, त्यही कारण कांग्रेसलाई भोट देऊ भनेर जनतामाझ जानुपर्छ।’
एमसिसी परियोजनामार्फत् उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उनको भनाइ थियो।
नेपालको गरिबी अन्त्यका लागि एमसिसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसिसीको विरोध गर्नेहरू राष्ट्रघाती भएको आरोप लगाए।
‘देश विकास गर्ने पार्टी कांग्रेस हो, देशलाई कांग्रेसले मात्रै बलियो बनाउँछ’, पौडेलले भने, ‘देशको भविष्य सोचेर कांग्रेसले दूरदर्शी निर्णय गरेको छ। यही कुरा जनतालाई बुझाउनुपर्छ।’