आजदेखि लेटाङमा कर्फ्यु आदेश हटाइयो
आजदेखि लेटाङमा कर्फ्यु आदेश हटाइयो

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बिहीबार बिहानदेखि कर्फ्यु हटाइएको हो।

    • बेल संचार

    • १० चैत्र २०७८, बिहीबार

प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्युपछि मोरङको लेटाङमा आइतबारदेखि लगाइएको कर्फ्यु आदेश हटाइएको छ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बिहीबार बिहानदेखि कर्फ्यु हटाइएको हो।

लेटाङको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रामाथि दुर्व्यवहार गरेको विरोधमा आइतबार लेटाङमा प्रदर्शन भएको थियो।

प्रदर्शन उग्र बनेपछि प्रहरी र स्थानीयबासीबीच झडपसमेत भएको थियो। सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको आक्रमकारीले छुरा प्रहार गरेर ज्यान लिएका थिए।

घटनापछि मोरङ प्रशासनले सुरक्षाको कारण दर्शाउँदै लेटाङमा कर्फ्यू आदेश जारी गरेको थियो।

नेपाल प्रहरीले लेटाङ घटनाको छानबिनका लागि प्रहरी मुख्यालय काठमाडौं, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरेको छ।

घटनामा प्रहरी र सर्वसाधारण गरी २८ जना घाइतेसमेत भएका थिए।

मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखासहितको संयुक्त टोलीले घटनाको छानबिन थालेको छ।

प्रदेश १ प्रहरी कार्यालयका एसएसपी राजेन्द्र चौधरीको नेतृत्वमा छानबिन समिति बनाएको छ।

बुधबारसम्ममा दुई दर्जनभन्दा बढी सर्वसाधारणलाई जिल्ला प्रहरी विराटनगरमा ल्याएर प्रहरीले सोधपुछ गरिसकेको छ।

‘नियन्त्रणमा लिएर ल्याउने र सोधपुछ गर्ने क्रम जारी छ,’ एसपी जिसीले भने, ‘त्यसैले अहिलेसम्म कतिलाई नियन्त्रणमा लिइयो भन्ने अवस्था छैन।

लेटाङमा बिलायो प्रहरी जवान दम्पतीको सँगै बस्ने सपना 

-राजु अधिकारी

कुनै ठूलो विद्रोहको बेला थिएन। राजनीतिक आवरणमा हुने भीडन्तको कुनै घटना पनि थिएन। यही ‘शान्त बेला’मा प्रहरी जवान  उर्मिला श्रेष्ठले सेवाकै दौरान आइतबार मोरङको लेटाङमा ज्यान गुमाइन्। उनी अढाई वर्षदेेखि प्रहरी सेवामा कार्यरत थिइन्।

उनका दाजु भुवन पनि प्रहरी सेवामै छन्। विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक उनी बहिनीको हत्यापछि विह्वल छन्। बोल्न सक्ने अवस्थामै छैनन्।

‘दाइ, पति सबै प्रहरीमै हुनुहुन्छ,’ कोशी अस्पताल परिसरमा सोमबार बिहान प्रहरीहरू भन्दै थिए, ‘उहाँहरू कोही बोल्न सक्ने अवस्थामा हुनुहुन्न।’

उनीहरूका अनुसार लेटाङमा उत्पन्न तनावले उग्र रूप लिँदा उर्मिला मारिएकी थिइन्।

आइतबार मोरङको लेटाङ नगरपालिका-५ मा स्थानीयको आक्रमणबाट मारिएकी प्रहरी जवान उर्मिला २०७६ साउन १ गते सेवामा प्रवेश गरकी हुन्।

१ नम्बर  प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङतर्फ गएको थियो।

तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए।

एकाएक अवस्था असामान्य बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो। त्यही टोलीमा उर्मिला पनि लेटाङ पुगेकी थिइन्।

यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपित शिक्षकलाई नियन्त्रणमा लियो। यता गाउँलेहरू भने प्रहरीले उनलाई बचाउन लागेको भन्दै थप आक्रोशित भए।

दिउँसो एक बजे नै घटनास्थल पुगेको प्रहरीलाई स्थानीयबासीले दिनभरजसो छेके। साँझतिर झडप सुरू भयो। त्यही क्रममा भीडबाट कसैले उर्मिलाको घाँटीमा चक्कु प्रहार गरेको प्रहरी भनाइ छ।

‘उहाँको घाँटीमा चक्कु प्रहार भएपछि गम्भीर घाइते हुनुभयो,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले सेतोपाटीसँग भने, ‘उपचारका लागि ल्याउँदै गर्दा उहाँको बाटोमै निधन भयो।’

झडपका क्रममा एक्कासी उर्मिला ‘ऐय्या…’ भनेर चिच्याएको आवाज आएको प्रहरीहरू बताउँछन्।

‘उनले ऐय्या…भनेको सुनेपछि हेरेको घाँटीबाट भलभल रगत आइरहेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘उनको उपचार पनि हुन पाएन। बाटैमा ज्यान गयो।’

बुवा कुमार र आमा सीतामायाकी एक्ली छोरी उर्मिला २०५२ कातिक १४ गते खोटाङ बरहापोखरीमा जन्मेकी थिइन्। उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिबिएस गरेपछि उनी प्रहरी सेवामा प्रवेश गरेकी हुन्।

उनका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै छन्। इलाममा कार्यरत उनी पत्नी मारिएको घटनापछि विराटनगर आएका छन्। उनीहरूको गत वैशाख १९ गते विवाह भएको थियो। आउँदो वैशाख १९ मा उनीहरू विवाह बन्धनमा बाँधिएको पहिलो वर्ष पूरा हुँदै थियो।

‘उहाँहरू एकै ठाउँ बस्ने तारतम्य मिलाउने प्रयासमा हुनुहन्थ्यो,’ कोशी अस्पताल परिसरमा खटिएका उर्मिलाका साथी प्रहरीहरू भन्दै थिए, ‘तर, त्यो समय नआई सदाका लागि उहाँहरूले छुट्टिनुपर्‍यो।’

उत्तरी मोरङमा एकपछि अर्को बलात्कार र यौन दुर्व्यहारको घटना लगातार भइरहेका छन्। केही दिनअघि मात्रै डेढ वर्षे बालिकाको बलात्कारले ज्यान लिएको घटना नसेलाउँदै शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको घटना बाहिरिँदा स्थानीयबासी उग्र प्रदर्शनमा उत्रिएका थिए। सुन्दर हरैंचाकी डेढ वर्षे बालिकाको हत्या प्रकरणमा स्थानीयबासी प्रहरीसँग रूष्ट थिए।

‘न्याय माग्दै सडकमा उत्रिएका सर्वसाधारणलाई गछियामा प्रहरीले दुई दिन हिरासतमा थुनेपछि सर्वसाधारण थप आक्रोशित थिए,’ लेटाङ नगरका एक जनप्रतिनिधिले भने, ‘यहाँ पनि प्रहरीले दोषी बचाउन लाग्यो भन्ने उल्टो बुझाइ हावी भयो। आक्रोशले यस्तो अवस्था ल्यायो।’

सोमबार सुन्दरहरैंचा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी हत्यामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। ‘दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ,’ प्रधानमन्त्री देउवाले भने।

उनले प्रहरीलाई अनुसन्धानका लागि निर्देशनसमेत दिइसकेका छन्।

साताकाे चर्चित
सम्बन्धित