रवीन्द्र मिश्रलाई शुभकामनासहित राप्रपामा जान दिऔं: मिलन पाण्डे
रवीन्द्र मिश्रलाई शुभकामनासहित राप्रपामा जान दिऔं: मिलन पाण्डे

पार्टीबाट निस्कासन हुनुअघि पाण्डे विवेकशील साझाका संयोजक थिए।

    • बेल संचार

    • ११ चैत्र २०७८, शुक्रबार

पार्टीले लिने विचारमा मतभेद भएपछि विवेकशील साझा पार्टीबाट निस्कासनमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई शुभकामनासहित राप्रपामा जान दिनुपर्ने बताएका छन्।

पार्टीबाट निस्कासन हुनुअघि पाण्डे विवेकशील साझाका संयोजक थिए।

पाण्डेले गत साउन ११ देखि आजसम्मका घटनालाई वैकल्पिक राजनीतिको इतिहासबाट हटाएर मिश्रलाई शुभकामनासहित राप्रपामा जान दिनुपर्ने बताएका छन्।

विवेकशील साझा र राप्रपाबीच एकीकरण हुन लागेका खबरहरू सञ्चार माध्यममा आइरहेका छन् भने अध्यक्ष मिश्रले भने यसमा खण्डन गरिसकेका छन्।

विवेकशील साझाले पाण्डे पक्षका २६ जनलाई गत फागुनमा केन्द्रीय सदस्यबाट हटाइसकिएको छ। उनीहरूले विवेकशील साझा गठबन्धनबाट स्थानीय चुनाव लड्नेसमेत बताइसकेका छन्।

पाण्डेले चार बुँदामा आफ्ना कुरा राखेका छन्:

१) ‘मार्ग परिवर्तन’ भन्ने गोलमटोल/पश्चगामी र राजतन्त्रवादी दस्ताबेज ल्याएसँगै रवीन्द्रजीले पार्टीलाई नयाँ राप्रपा बनाउन खोज्नुभएको थियो। राप्रपामा राजेन्द्र लिङ्देनको उदयसँग रवीन्द्रजीको त्यो आकाङ्क्षामा पानी पर्यो। अब मिश्र पक्षले गर्न लागेको त्यो एकीकरण स्वाभाविक हो। एजेन्डा नै मिल्छ, नाम र चुनाव चिन्हमा ‘फेस सेभ’ गरेर एकीकरण गर्दा हुन्छ। अब एकीकरण हुनु र नहुनुले केहि फरक पर्दैन। विवेकशील साझा रवीन्द्र मिश्र पक्ष अहिले नै राप्रपाभन्दा के नै फरक छन् र?

२) विवेकशील साझा पार्टीको आधिकारिकताबारे, मुद्दा अदालतमा छ। अदालतको फैसला कुरौँ। यो हाम्रो कानुनी पाटो हो। राजनीतिक रूपमा ६ महिनामा महाधिवेशन गर्ने भनेर एकीकरण भएको हो। महाधिवेशन नभएसम्म पार्टी एकीकरणको मर्मभन्दा फरक कुनै पनि कुरा मान्न सकिँदैन।

राजनैतिक रूपमा रवीन्द्रजीले वैकल्पिक राजनीतिका निम्ति असान्दर्भिक र पश्चगामी एजेन्डा ल्याएर एकल बैठक बोलाएको दिन अर्थात् भदौ १७ गते देखिनै दुई वटा भैसकेको छ। मूलबाटो पक्षले एकीकरणको बेलाका १३० केन्द्रीय सदस्य सहित २०१ समिति केन्द्रीय समिति बनाएका छन्। विभिन्न ५ वटा सङ्गठन निर्माण गर्दै अब प्रदेश र जिल्ला कमिटीहरू पुनर्गठन गर्दै अघि बढ्दै छ।

हामी पार्टी स्थापनाकाल देखिनै सामेल भएका साथीहरूलाई समेट्दै अघि बढ्छौँ। अभियान सुरु भएको एक दशक भएछ, यो एक दशकको गहिरो समीक्षा गर्दै अघि बढ्छौँ।

३) केहि साथीहरू पार्टीको चुनाव चिन्ह बचाउनुपर्छ भनेर आफ्नो विचार र मूल्यमान्यतामै सम्झौता गरेको देख्छु। दुख लाग्छ, यदी विचार र पार्टीको मान्यता नै रहेन भने के अर्थ त्यो फगत नाम र लोगोको? छन् त नेपालमा १११ वटा पार्टी।

विवेकशील नेपाली र विवेकशील साझा पार्टीको संस्थापकहरू मध्ये म पनि एक भएको हुँदा मलाई पनि नाम र तराजुको माया छ, तर पार्टीको स्थापनाको मर्म, मान्यता र वैकल्पिक राजनीतिले जगाएको आशाको अगाडी त्यस्ता हजार नाम र लोगोलाई छाड्न सकिन्छ, सक्नुपर्छ।

४) सदस्यहरूलाई अपिल: साथीहरू, वैकल्पिक राजनीतिको विगत एक दशकको अनुभवले हामीलाई र हाम्रो राजनीतिलाई पनि एक हदसम्म परिपक्व बनायो। हामीले गरेका गल्तीहरूबाट सिकायो। अब आत्समिक्षा र यो यात्राको समीक्षा सहित अघि बढौँ। यो घटना नघटेको भए हुन्थ्यो, घट्यो। सिकियो। अब अघि बढौँ।

रवीन्द्रजीलाई धेरै तनाव नदिऔँ। उहाँलाई उहाँको राजनीति गर्न दिऔँ। तर वैकल्पिक राजनीतिलाई गिजोल्ने ती अनुहारहरू नभुलौँ। मिठो पाठ सिकौँ। शुभकामना भनौँ। मुसुक्क हासौं, माफ गरौँ, अघि बढौँ।

साताकाे चर्चित
सम्बन्धित