विप्लवको पार्टीभित्र चुनावमा जानुपर्ने पक्षमा उनी र प्रकाण्ड मात्रै
विप्लवको पार्टीभित्र चुनावमा जानुपर्ने पक्षमा उनी र प्रकाण्ड मात्रै

चुनावलाई उपयोग गर्नुपर्ने नेकपा महासचिव विप्लवको प्रस्ताव पार्टीभित्र अल्पमतमा परेको छ।

    • बेल संचार

    • ११ चैत्र २०७८, शुक्रबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा चुनावमा नजानेहरूको स्पष्ट बहुमत पुगेको छ।

चुनावलाई उपयोग गर्नुपर्ने नेकपा महासचिव विप्लवको प्रस्ताव पार्टीभित्र अल्पमतमा परेको छ।

गत शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटी बैठकमा विप्लवले चुनावलाई उपयोग गर्ने भने पनि त्यसको मोडालिटीबारे खुला छलफल गर्ने प्रस्ताव गरेका थिए।

बिहीबारसम्म सबै केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिसकेका छन्। अब महासचिव विप्लवले मात्रै बोल्न बाँकी छ।

‘अहिलेसम्म जतिले बोल्नुभएको छ। सबैको धारणा चुनावमा जानु हुँदैन भन्ने छ,’ एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने,’६८ जना केन्द्रीय सदस्यमध्ये महासचिव र प्रकाण्ड मात्रै निर्वाचनको पक्षमा देखिनुभएको छ। अरू २/४ जना पनि निर्वाचनको पक्षमा देखिनुभएको छ।’

केन्द्रीय कमिटी बैठक अझै १/२ दिन बस्ने बताइएको छ।

विप्लवको प्रस्ताव असफल भएपछिको पार्टीको रणनीति के हुने भन्ने छलफलसमेत गर्न जरूरी रहेको अर्का एक केन्द्रीय सदस्यले बताए।

‘उहाँहरूले निर्वाचनमा जाने भन्नुभएको हो। त्यो प्रस्ताव अल्पमतमा परेको छ। पार्टीले नयाँ रणनीति तय गर्नुपर्छ,’ उनले भने,’अब कसरी जाने भनेर हामी छलफल गर्छौं। महासचिवले बोल्न बाँकी छ। उहाँले यसबारे केही भन्नुहुन्छ होला।’

२०६९ सालमा तत्कालीन एकीकृत माओवादीसँग विभाजन गर्दा मोहन वैद्यलाई साथ दिएका विप्लवले त्यसपछि २०७१ मा वैद्यसँग विद्रोह गरेका थिए।

केही समय सशस्त्र क्रान्ति गर्ने भनेर भूमिगत भए पनि २०७७ फागुनमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग वार्ता गरेर उनी शान्तिपूर्ण राजनीतिमा आएका हुन्।

न त शान्तिपूर्ण राजनीतिमा अगाडि बढ्न सकेको न त विद्रोहको योजना बनाउन सकेको भन्दै पार्टीभित्रै विप्लवको आलोचनासमेत हुने गरेको छ। शान्तिपूर्ण राजनीतिमा आएका एक वर्षमा विप्लव नेतृत्वको नेकपाले अन्य पार्टीसँग एकताको लागि पहल समेत गरेको थियो।

स्रोतका अनुसार विप्लव माओवादीसँग एकता गर्न चाहन्छन भने प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड एमालेसँग एकता गर्न चाहन्छन्।

पार्टीभित्र पकड रहेको मानिएका विप्लव र प्रवक्ता प्रकाण्ड नै अल्पमतमा परेपछि नेकपाभित्रको आन्तरिक प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ।

नेकपाको ५ सदस्यीय सचिवालयमा विप्लव र प्रकाणड एकातिर छन् भने हेमन्तप्रकाश ओली चुनावको विपक्षमा थिए। एक केन्द्रीय सदस्यका अनुसार सन्तोष बुढा मगर समेत निर्वाचनको विपक्षमा छन्।

साताकाे चर्चित
सम्बन्धित