नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले सुधार्न नसकेको बताएका छन् । शनिबार नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई आफूले सुधार्न नसकेको टिप्पणी गरेका हुन् ।
माओवादीलाई पखालेर बागमती नै मैलिएको टिप्पणी गर्दै उनले भने, ‘ल्याइयो मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर, ल्याइयो । मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो । डल्लाका डल्ला साबुन खर्च भयो । धुँदाधुँदा । हाम्रो बागमती नै मैलियो माओवादीलाई पखाल्दा पखाल्दा, साबन लाउँदा लाउँदा । मैले अरुलाई भनेको होइन यो प्रचण्डलाई भनेको है ।’
त्यस्तै उनले युवाहरुले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको पनि बताएका छन् । उनले भनेका छन्, ‘युवाहरुले त देश बनाउनका लागि, देशमा जनवाद ल्याउनका लागि, राम्रा सुखका दिन ल्याउनका लागि, जनवादी शासन समादवादी शासन आउँछ भन्नका लागि ति देखाएका सपना । युवाहरुको गल्ती के भयो भने प्रचण्ड जस्तालाई पत्याए । अलि अलि त मैले त पत्याएँ । सपार्न सकिन्छ कि जस्तो आँट आयो क्या मलाई । सकिन्छ होला भनेर मैले पनि कोशिस गरिहेरेँ । अन्तिममा त जहाँको त्यहीँ ।’
त्यस्तै अध्यक्ष ओलीले मुस्लिम समुदायका अगुवाहरुले मुस्लिम समुदायको पछौटेपन हटाएर जागरण ल्याउन भूमिका खेल्नुपर्ने बताए । मुस्लिम समुदायले छोरीलाई पढाउनमा जोड दिनुपर्ने उनले बताए ।