दिपेन्द्र सिंह ऐरीले शतक बनाउनुका बाबजुद नेपालले दोस्रो एक दिवसीय खेलमा पनि पपुवा न्युगिनीसँग ३ विकेटले पराजीत भएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २७९ रनको लक्ष्य पपुवा न्युगीनीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपाल हिजोको पहिलो खेलमा पनि ६ रनले पराजीत भएको थियो ।
नेपालका लागि आज युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले शतक पुरा गरेका छन् । ऐरीले १४० बल खेल्दै ७ चौकाको मद्दतमा १०५ रन बनाएर आउट भए । हिजोको खेलमा रोहित पौडेलले शतक पूरा गरेका थिए ।
त्यसै गरी आज देव खनालले पनि उत्कृष्ट ब्याटीगं गरे । उनले ८६ बल खेल्दै तीन छक्का र चार चौकाको मद्धतमा ७२ रन जोडे । दीपेन्द्र र खनालले १२९ रनको साझेदारी गरेका थिए ।
शुरुमै ओपनर कुसल भुर्तेल शुन्य र अनिल शाह एक रनमा आउट भएपछि संकटमा परेको नेपाललाई ऐरी र खनालले उकासेका थिए ।
त्यसपछि रोहित पौडेलले पनि ३५ रन बटुले भने भीम सार्कीले २६ रन जोडे । सन्दीप लामीछानेले अविजीत ९ बलमा २४ रन जोडे । आरिफ शेख ४ रनमा आउट भए भने पवन सर्राफ शुन्य रनमै पेभिलियन फर्किए ।