प्रदेशसभाको हिउँदे अधिवेशन सुरु   
     प्रदेशसभाको हिउँदे अधिवेशन सुरु   

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आजदेखि सुरु भएको छ

    • Bell Sanchar

    • १३ चैत्र २०७८, आईतवार

सुदूरपश्चिम,
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आजदेखि सुरु भएको छ । ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिँउदे अधिवेशन प्रारम्भ भएको हो ।

अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेशसभामा छलफलका लागि कार्यसूची दिन नसकेकोलगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो । अधिवेशनको प्रारम्भमा दिइएको विषेश समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेशसभाबाट अहिलेसम्म बनेका ऐन, कानून कार्यान्वयनको अवस्था, सरकारका काम कारवाही, बजेट तर्जुमा र कार्यान्वयनको अवस्थाका बारेमा गम्भीर ढङ्गले समीक्षा गर्ने समय आएको बताउनुभयो । उहाँले प्रतिपक्षीका आवाजलाई नसुनेर सहमति र सहकार्यविपरीत ढङ्गले सरकार अघि बढ्दा जनताका समस्या समाधान हुन नसकेको उल्लेख गर्नुभयो ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का लीलाधर भट्टले केन्द्रको गठबन्धन सरकारका कारण नेपालको आर्थिक अवस्था कमजोर बनेको बताउनुभयो । जनता समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले चारवर्षे कार्यकाल पूरा गरेको प्रदेश सरकार सबैतिर असफल हुँदा जनतामा निराशा छाएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का वीरमान चौधरीले उपलब्ध स्रोत साधनका आधारमा सरकारले जनअपेक्षाअनुसार पर्याप्त काम गरेको बताउनुभयो ।

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गर्नुभयो । अधिवेशनका प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गर्दै अधिवेशन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख थापाले प्रदेशसभाले पारित गरेको सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको जानकारी दिनुभयो ।
–––

साताकाे चर्चित
सम्बन्धित