झापा । झापाको मेचीनगर नगरपालिका–४ का विद्यार्थीले अब अध्यायनका लागि यातायातमा आवत–जावत गर्दा भाडा तिर्नु नपर्ने भएको छ । काँकरभिट्टा माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत् मेचीनगर–४ का ८३ जना विद्यार्थीको वार्षिक यातायात खर्च मेचीनगर–४ नम्बर वडा कार्यालयले व्यहोरेको छ ।
मंगलबार विद्यालय परिसरमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा वडा नम्बर–४ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक नविन बरालले विद्यालयका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपानेलाई तीनलाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
चेक ग्रहण गर्दै प्रधानाध्यापक न्यौपानेले मेचीनगर–४ बाट यस विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थीका लागि एकमुस्ट यातायात खर्च व्यहोरेको भन्दै बरालप्रति कृतज्ञता र वडा नम्बर ४ लाई धन्यवाद ज्ञापन गरे ।
वडाध्यक्ष बरालले आफ्ना वडाका कुनै पनि विद्यार्थी कुनै कारणले उच्च शिक्षाबाट बञ्चित हुनु नपरोस् भनेर उनीहरुमा यति ठूलो लगानी गर्नुपरेको बताए ।
उनले आफ्ना व्यक्तिगत तथा वडाकै तर्फबाट जस्तासुकै सहयोग विद्यार्थीका लागि हुने भन्दै नराम्रो काम र कुलतमा नफस्न सबैमा अनुरोध गरे ।