भारत भ्रमणमा रहेका प्रधानमन्त्री भेटवार्तामा व्यस्त, पहिलो दिन के–के भयो ?
भारत भ्रमणमा रहेका प्रधानमन्त्री भेटवार्तामा व्यस्त, पहिलो दिन के–के भयो ?
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् ।

देउवाले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गरेका छन् । भेटमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै उनीहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गरेका थिए ।

नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धबारे पनि उनीरूबीच विचारविमर्श भएको छलफलमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिए ।

प्रधानमन्त्रीको साथमा डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव थिए ।

आजै साँझ प्रधानमन्त्री देउवासँग भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गरे । भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनको यो भ्रमणले  भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी भएका छन् । भोलि चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्भ ने  प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

साताकाे चर्चित
सम्बन्धित