नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन भोलि शनिबार हुने भएको छ ।
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले गरेका छन् भने बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।
निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोकाअनुसार बारको निर्वाचनका लागि शनिबार बिहान देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ बजेदेखि मतदान प्रारम्भ हुनेछ भने अपराह्न ४ सम्पन्न हुने छ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ ।
निर्वाचनमा नौहजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँचहजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् । सर्वोच्च अदालत परिसरमा चारवटा बुथको व्यवस्था गरिएको छ । उपत्यकामा धेरै मतदाता भएकाले चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य महतोले जनकारी दिए ।