गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ : अस्मिता र स्वस्तिका बनिन् पहिलो
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ : अस्मिता र स्वस्तिका बनिन् पहिलो
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

भक्तपुरकी अस्मिता दुवाल र रामेछापकी स्वस्तिका तिरुवाले शुक्रबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको वागमती प्रदेशस्तरीय छनोटमा पहिलो स्थान हासिल गरेका छन् ।

भक्तपुरको सानोठिमीमा सम्पन्न महिला ५१ केजी तौल समूहको फाइनलमा अस्मिताले रोपिना रञ्जितकारलाई पराजित गरिन् । यसैगरी महिला ५७ केजी तौल समूहमा स्वस्तिकाले धादिङकी रितिका श्रेष्ठलाई पराजित गर्दै काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि स्थान पक्का गरिन् । महिलाकै ६० केजी तौलसमूहमा धादिङकी शशिकला राईले रामेछापकी प्रसुना खत्रीलाई पराजित गर्दै पहिलो स्थान हासिल गरिन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा रामेछापका करण लोहारले फाइनलमा स्थान बनाए । उनले धादिङका सुलभ डंगोललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । उनले अब फाइनलमा काठमाडौंका मार्सल गुरुङसँग प्रतिस्पर्धा गर्नेछन् । मार्सलले नुवाकोटका आङपेम्वा शेर्पालाई पराजित गरेका हुन् ।

पुरुष ७५ केजीमा काठमाडौंका अतुल्य भण्डारीले रसुवाका साहिल राईलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।

प्रदेश १ को छनोट प्रतियोगितामा उदयपुरका नारायण भुजेल र झापाका धमेन्द्र राईले फाइनलमा स्थान बनाएका छन् । शुक्रबार सम्पन्न पुरुष ५२ केजी तौलसमूहमा सुनसरीका पुनम राई र धमेन्द्रले सुनसरीकै सागर यादवलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

पुरुषकै ५७ केजीमा झापाका भुगल लिम्बू र सिंहवीर लिम्बूले फाइनलमा स्थान बनाए । भुगलले झापाका सुरेन्द्र राई र सिंहवीरले उदयपुरका वसन्त राईलाई पराजित गरे । यसैगरी ६३ केजीमा झापाका टोविन प्रधानले सुनसरीका भूमिक थापा र उदयपुरका रोशन मगरले झापाका सुजन राईलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।

महिलाको ५२ केजी तौलसमूहमा सुनसरीकी कृतिका राई र झापाकी सुस्मिता श्रेष्ठले फाइनलमा स्थान बनाए । कृतिकाले उदयपुरकी मुस्कान तुलाधर र सुस्मिताले झापाकी अनिषा कुमाललाई पराजित गरे । महिलाकै ५७ केजीमा झापाकी सुस्मिता राईले झापाकै सुस्मिता लिम्बूलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरिन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको वसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

साताकाे चर्चित
सम्बन्धित