मोदीलाई नेपाल भ्रमणको निम्तो : नेपाल-भारतबीच चार सम्झौता
मोदीलाई नेपाल भ्रमणको निम्तो : नेपाल-भारतबीच चार सम्झौता
    • बेल संचार

    • १९ चैत्र २०७८, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल-भारत सीमा समस्याका विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरिएको बताएका छन् ।

शनिबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरिएको बताएका हुन् । भारतको आर्थिक रूपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको उनले उल्लेख गरे ।

नेपाल-भारत सडक र रेलजस्ता सम्पर्क सञ्जालसम्बन्धी परियोजनाहरूमा थप प्रगति हुनेमा विश्वस्त रहेको बताए । प्रधानमन्त्री देउवाले महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माण र नेपालमा मल निर्यात गर्नेसम्बन्धी केही समय पहिले भएको समझदारी तथा यसको सफल कार्यान्वयनमा जोड दिइएको जानकारी दिए ।

उनले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन दुईजना सहमत भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिए ।

ऊर्जा क्षेत्रमा साझेदारीमा जोड

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समक्षकी शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

देउवा र आफूबीच नेपाल र भारतका सम्बन्धका विविध पक्षका बारेमा छलफल भएको उनले उल्लेख गरे । मोदीले नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा साझेदारी हुनुपर्नेमा जोड दिए ।

सो क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले सोलु करिडोर प्रसारणलाइनको उद्घाटन गरे । हरियो झन्डा देखाएर जनकपुर-जयनगर रेल सेवाको पनि उद्घाटन गरे । १३० भन्दा बढी स्वास्थचौकीहरू र रुपे डिजिटल कार्डको समेत उद्घाटन गरियो ।

चार सम्झौता
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चारवटा सम्झौता भएको छ । दुई देशबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेलवेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञतासम्बन्धी सम्झौता भएको जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित