नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्दैछ ।
एमालेबाट अलग हुनुअघि नै नेपालसहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेर पनि सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।
एमालेले एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामाथि समेत प्रश्न उठाउँदै निर्वाचन आयोगविरुद्ध मुद्दा हालेको छ ।
नेता झलनाथ खनालबाहेक १४ सांसदलाई कारबाहीको पत्र पठाएकोमा त्यसबारे सभामुखबाट कुनै निर्णय नगरी निर्वाचन आयोगले जबर्जस्ती अर्को दल दर्ता गरेको एमालेको आरोप छ । यही विषयलाई लिएर एमालेले लगातार प्रतिनिधिसभाको बैठक समेत अवरुद्ध गरेको थियो ।