मोटरसाइलकमा सद्गुरुको ३० हजार किलोमिटरको यात्रा, २४ देश घुम्दै
मोटरसाइलकमा सद्गुरुको ३० हजार किलोमिटरको यात्रा, २४ देश घुम्दै
    • Bell Sanchar

    • २१ चैत्र २०७८, सोमबार

प्रकृतिका सबैभन्दा ठूला स्रोतहरु अहिले विनाशको कति जोखिममा छन् भन्ने कुरामाथि प्रकाश पार्न जग्गी वाशुदेव पनि भनिने भारतका चर्चित धर्मगुरु सद्गुरुले २४ वटा देशको १०० दिनको यात्रा सुरु गरेका छन् । यो र्‍यालीको सुरुवात लन्डनबाट भएको थियो भने दक्षिण भारतमा गएर समाप्त हुने बताइएको छ ।

६४ वर्षीया सद्गुरु मोटरबाइकमा ठूलो रुची राख्दछन् । त्यसै कारण ३० हजार किलोमिटरको यो यात्रा उनले एक्लै मोटरबाइकमार्फत् नै तय गरिरहेका छन् ।

राजनीतिले हाेइन व्यापारले राष्ट्र समृद्ध बन्छ : सदगुरु

उनी अहिले पनि बीएमडब्लु के १६०० नामको स्पोर्टस बाइकमा चढेर वातावरणीय अभियानको प्रचार गर्न युरोपका सडकहरुमा हिँडिरहेका छन् ।

उनी विशेषगरी भित्री अन्तरमनको शान्ति कसरी कायम गर्ने भन्ने सिकाउनका लागि प्रख्यात मानिन्छ । इन्स्टाग्राममा मात्र उनका ७५ लाख भन्दा बढी फलोअर छन् ।

यस्तोमा भित्रैबाट सुखी भए पनि आफूलाई पृथ्वीको चाहिँ अधिक चिन्ता लाग्ने गरेको उनले बताउँदै आएका छन् ।

त्यसैले पृथ्वीमा सबैभन्दा बेवास्ता गरिएका प्राकृतिक स्रोत साधनहरुबारे चेतना वृद्धि गराउनका लागि उनले ‘सेभ द सोएल’ अर्थात् यो ‘माटो बचाऊ’ अभियान थालेका हुन् । यसमा उनले युरोप हुँदै मध्यपूर्वबाट एसियासम्म यात्रा गर्दैछन् ।

उनी भन्छन्, “अहिले हामी माटोको गुणस्तर सम्बन्धी नभएर यो लोप नै हुन सक्ने बारे कुरा गरिरहेका छौँ । त्यसैले पनि यो विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ ।”

भविष्यमा माटो दुर्लभ हुँदै जाने हो भने नतिजास्वरुप खाद्य अभाव सुरु हुँदा दुनियाँभर कोलाहल मच्चिने निश्चित रहेको पनि उनले थप बताए ।

उनले भनेका छन्, “केबल तीन दिनका लागि विश्वका ५० प्रतिशत मान्छेले केही खान पाएनन् भने मानव सभ्यता नै बिलाउनेछ र पृथ्वी विस्तारै जङ्गलीमा परिणत हुनेछ ।”

यसकारण पनि आफ्नो योग प्रशिक्षणबाट ब्रेक लिँदै उनले माटो बचाऊ सम्बन्धी अभियानमा लाग्ने निर्णय गरेका हुन् ।

‘सेभ सोएल’ अभियान अन्तर्गत उनले विभिन्न सेलिब्रेटीहरुदेखि वातावरण संरक्षणवादी र अन्य प्रभावशाली व्यक्तित्वहरुसँग भेट गरिरहेका छन् ।

यात्राको सुरुवातमा लन्डनस्थित एक सञ्चारकर्मीसँग बोल्दै उनले भने, “विगत केही वर्षदेखि दुनियाँभर यस किसिमका वातावरणीय अभियान लिएर यात्रा गर्दा मैले के देखेँ भने त्यस्ता अधिकांश मानिसहरु जसको काँधमा यो दुनियाँको जिम्मेवारी छ, वास्तवमा उनीहरुलाई समस्या के हो भन्ने राम्ररी थाहा छ । उनीहरुले कुन दिशातर्फ जाँदा यसको समाधान हुन्छ भन्ने पनि एकदम मजाले बुझेका छन् । तर यसो हेर्दा के देखियो भने यसमा उनीहरु कुनै ‘मूर्ख’ ले आएर बिरालोको घाँटीमा घण्टी लगाइदिए हुन्थ्यो भन्ने पर्खाइमा बसिरहेका छन् । त्यसैले हेर्नुस् म त्यही भूमिका निभाउन आएको छु, म यही गर्दैछु ।”

सेभ सोएल भन्ने अभियानले माटो पुनःस्थापना सम्बन्धी नीति निर्माण गर्नमा अपील गरिरहेको छ । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा एक तिहाइ भन्दा बढी माटोमा कुनै बोटबिरुवा उम्रन सक्दैनन् र २०५० सम्ममा यो तथ्याङ्क ९० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ ।

राष्ट्र संघको अभियानमा उल्लेख गरिए अनुसार केही सेन्टिमिटर सम्मको माटो उत्पादन गर्न पनि एक हजार वर्ष लाग्ने को छ ।

यसबारे सद्गुरुले भनेका छन्, “म कुनै वैज्ञानिक होइन म कुनै वातावरणविद् पनि होइन । तर म यो जमिनबाट आएको हुँ ल्याबबाट निस्किएको होइन । र मलाई थाहा छ माटो संकटमा छ त्यसैले मैले विश्वका केही राष्ट्रप्रमुख, त्यहाँका लिडर र शीर्ष वैज्ञानिकहरुकहाँ यो कुरा पु¥याउन सम्भव भएसम्मको प्रयास गरिरहेको छु । ”

उनले थप भने, “हामी सबै यही माटोबाट आएका हौँ । यसले नै हामीलाई खान दिइरहेको छ । र, यो सब भइरहँदा मानिसहरु बेवास्ता गर्दै सुतिरहेका छन् । सुत्नु कुनै अपराध होइन तर आफ्नो जिन्दगी सुतेरै बिताउने हो भने पछि त्यसले ठूलो प्रकोप निम्त्याउनेछ । त्यसैले हामी यस्तो भयावह अवस्था नआओस् भन्ने चाहन्छौँ । र यदि सबैले साथ दिने हो भने यसको समाधान सम्भव छ ।”

यति भनेर उनी फेरि लन्डनको सडकमा मोटरसाइकलमा सवार भइ एक्लै हिँडेका हुन् ।

यो यात्रामा उनले विभिन्न हलिउड कलाकारदेखि चर्चित खेलाडीहरुसम्मलाई भेटिसकेका छन् भने विभिन्न टेलिभिजन र रेडियो कार्यक्रममा पनि सहभागी भइसकेका छन् ।

उनले भनेका छन्, “हामीले मोटरसाइकल र संगीत दुवैमार्फत् मानिसहरुसँग जोडिने प्रयास गरेका छौँ जसले आगामी १० वर्ष भित्रमा वातावरण सम्बन्धी उल्लेखनीय परिवर्तन ल्याउन अहिले नै केही गर्नुपर्छ भन्ने कुरा ३.५ अर्ब मानिसहरुलाई बुझ्न मद्दत गर्नेछ । यो भनेको विज्ञानलाई सामाजिक विषयमा परिणत गरे बराबर हो र यसो नगरे दुनियाँमा कुनै बदलाव ल्याउन सकिनेछैन ।”

अहिलेसम्म माटोको अवस्थाबारे ख्याल राख्ने यसको संरक्षण सम्बन्धी १४ वटा मुलुकले आधिकारिक हस्ताक्षर गरिसकेका छन् । र सद्गुरुले संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रहरुले आफ्नो यो रोचक यात्रामा साथ दिने अपेक्षा गरिरहेका छन् ।

तर यो अभियान कृषकहरुका लागि बाधा पुर्याउन चाहिँ नभएको उनले बताउँदै आएका छन् । उनले यो अभियान योग्य माटो अभावकै कारण पछिल्लो २० वर्षमा अत्महत्या गरेका ३ लाख बढी कृषकहरुका लागि समर्पित रहेको ठहर गरेका छन् ।

त्यसकारण जति कठिन भएपनि यो यात्रा पूरा गरेरै छाड्ने बताएका हुन् । यसमा उनले कृषकहरुलाई नै माटोमा कस्तो तत्व सबैभन्दा अर्गानिक हुनेछ भन्ने निर्धारण गर्न दिइनुपर्ने बताए ।

उनले भनेका छन्, “जस्तै हामी किटनाशक मलका विरोधी होइनौँ तर त्यसलाई पनि एकदम नियन्त्रित रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । पहिले त हामीलाई कानुन, वैज्ञानिक सुझाव अनि त्यसपछि सेवा सुविधाहरु आवश्यक पर्नेछ जस मार्फत माटोमा अर्गानिक तत्व बढाउन सकिनेछ किनकी माटो भनेको पनि जीवन दिने जिवित स्रोत नै हो ।”

उनले थप भने, “अहिले अधिकांश जमिन या त कालोपत्रे भएका छन् या तिनमा सिमेन्टका भवन ठड्याइएको छ । र यो हामी सबैका लागि एकदमै महत्वपूर्ण जिम्मेवारी हो कि आगामी पीढीलाई हामीले जिवित माटो सुम्पिन सकौँ कुनै जीवनरहित बालुवा होइन ।”

माटोलाई बोट बिरुवाहरु रोपेर, जैविक फोहोरजन्य मल राखेरलगायत धेरै तरिकामा समृद्ध बनाउन सकिन्छ । माटोको स्वास्थ्य सम्बन्धी मुद्दालाई सम्बोधन नगरेसम्म जलवायु परिवर्तनको हल निकाल्न नसकिने पनि उनको भनाइ छ ।

अत्याधिक खेती र किटनासक अनि रासायनिक मलको बढी प्रयोगले विश्वभरका खेती योग्य जमिन नाश भइरहेका छन् । त्यसैले उनको योजना भनेको मोटरबाइकमा यात्रा गर्ने र सामाजिक संजाल मार्फत लाखौँ मानिसहरुलाई यसका लागि प्रेरित गर्नु रहेको छ । यसले सरकारमाथि दबाब पार्न सक्यो भने अन्ततः सबै मुलुकले माटो संरक्षणका लागि नयाँ नीति निर्माण गर्ने उनको अपेक्षा छ ।

२०१७ मा पनि सद्गुरुले नदी संरक्षणका निम्ति यस्तै अभियान चालेका थिए जसमा उनले भारतभर १० हजार किलोमिटरको यात्रा गरेका हुन् । उनको यस अभियानलाई १६ करोड २० लाख मानिसहरुले समर्थन गरेका थिए ।

यस्तोमा माटो बचाऊ अभियानका लागि उनले झन् ठूलो लक्ष्य राखेका छन् । उनी यसमार्फत ३.५ अर्ब मानिससम्म पुग्न चाहन्छन् जसले विश्वव्यापी रुपमा वातावरण अनुकुल कदमको थालनी गर्ने उनी आशा गर्दछन् ।

वातावरणीय मुद्दामा नागरिकहरुलाई सक्रिय रुपमा सहभागी गराउनुले सो मुद्दा चुनावी चासोको विषय बन्दछ जसपछि सरकारले त्यससम्बन्धी नयाँ नीति निर्माण गर्नेछ र बजेट पनि निर्धारण गर्ने हुँदा वातावरणीय समाधानका लागि यसले अन्ततः दिगो कदम कार्यन्वयन गराउने आफ्नो विश्वास रहेको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित