सफल व्यवसायी बन्न चाहनु हुन्छ? ‘सारथि’ ले दिन्छ साथ
सफल व्यवसायी बन्न चाहनु हुन्छ? ‘सारथि’ ले दिन्छ साथ

१० लाखमा सुरू भएको 'सारथि' जसले व्यवसाय गर्न सिकाउँछ

    • बेल संचार

    • २१ चैत्र २०७८, सोमबार

तपाईं कुनै नयाँ व्यवसाय गर्न चाहनु हुन्छ तर कहाँबाट कसरी सुरू गर्ने भन्ने अन्यौलमा हुनु हुन्छ? लगानी गरेर काम थालेपछि असफल पो भइने हो कि भन्ने भयमा पो हुनु हुन्छ कि! व्यवसायको आइडिया त छ तर उपयुक्त ठाउँ कहाँ हो भन्ने अलमल छ कि!

वा कुनै व्यवसाय गरूँ जस्तो लागे पनि के गर्ने भन्ने आइडिया भएन? व्यवसाय त सुरू गर्नुभयो तर सोचेजस्तो राम्ररी अघि बढेन कि? पुरानो भएर पनि व्यवसाय ओरालो पो लाग्न थाल्यो कि?

यसो हो भने तपाईं ‘सारथि कन्सल्ट’ मा जान सक्नु हुन्छ। सारथिले तपाईंलाई सहयोग गर्न सक्छ।

सारथि कन्सल्ट एन्ड बिजनेस डेभलपमेन्टले नयाँ र पुराना सबै व्यवसायीलाई आवश्यक सबै किसिमको सहयोग गर्छ। व्यवसायका समस्या समाधान गर्न सघाउँछ।

यसका सञ्चालक हुन् दुई युवा मिलन खतिवडा र राकेश श्रेष्ठ। ३० उमेरका यी दुई युवा मिलेर व्यवसायमा आइपरेका समस्या सल्टाउने आइडियाहरू तयार पार्छन्। व्यवसायमा देखिएका अप्ठ्यारा, चुनौती र अवसरबारे अध्ययन गरेर उनले सारथि कन्सल्ट खोलेका हुन्।

मिलनका अनुसार हालसम्म सयभन्दा बढी व्यवसायीलाई सारथिले सहयोग गरिसकेको छ। सारथिले व्यवसाय गर्न चाहने व्यक्तिका लागि आइडिया बनाइदिन्छ। कुन ठाउँमा कस्तो व्यवसाय गर्दा ठीक हुन्छ, त्यहीअनुसार सल्लाह दिन्छ।

‘व्यवसाय थाल्दै गर्दा प्रपोजलदेखि फाइनलसम्मको काम हामी गरिदिन्छौं,’ उनी भन्छन्, ‘व्यवसायमा लगानी गर्दा कति समयमा कतिसम्म फाइदा लिने भन्नेसम्मको खाका हामी बनाइदिन्छौं।’

सारथिले विशेष गरी नयाँ व्यवसायीका लागि कम्पनी दर्ता, वेबसाइट डिजाइन, डिजिटल मार्केटिङ, उत्पादन, बजार, लेखाप्रणाली र लेखा परीक्षण, तलब र अन्य भुक्तानी, कानुनी परामर्श, कम्पनी अद्यावधिक लगायतमा सहयोग गर्छ।

नयाँ व्यवसायको आइडिया लिएर आउनेलाई अपरेसन (सञ्चालन) सम्म पुग्न सघाउँछ। प्रविधिमा र मेसिन ल्याउने काममा पनि मद्दत गर्छ। पुराना व्यवसायलाई प्रविधिसँग जोड्न सहजीकरण गर्छ। त्यस्तै यसले व्यवसायको ब्रान्डिङ, उत्पादनको मूल्य निर्धारण, नाफाको सीमा र समयानुकूल मार्केटिङमा सघाउँछ। आयात र निर्यातसम्बन्धी आइडिया तय गरिदिन्छ।

‘विदेशीहरूले नेपालबाट के चाहेका छन् भन्ने बुझ्नुपर्छ। त्यसपछि सम्बन्धित देशको मापदण्डअनुसार उत्पादन गरेर पठाउन सकिन्छ,’ मिलनले सेतोपाटीसँग भने, ‘सारथिले व्यवसाय चल्ने उपयुक्त ठाउँ पनि हेरिदिन्छ।’

यी सबै कामका लागि सारथिमा नौ जना कर्मचारी छन्।

व्यवसाय सुरू गरेका तर अघि बढाउन नसकेका स्टार्टअप व्यवसायीका लागि पनि सारथिले बाटो देखाउँछ।

मिलनका अनुसार कुन व्यवसाय गर्न उपयुक्त हुन्छ, केको सम्भावना बढी छ, सुरूआत कसरी गर्ने इत्यादि कुरा बुझ्न आउने धेरै हुन्छन्। सारथिले व्यवसाय गर्न चाहनेको रूचि बुझेर उचित सल्लाह दिन्छ। यस्तो सल्लाहको शुल्क लाग्दैन। थप कामसम्बन्धी सेवा लिनुपरेमा भने तोकिएको शुल्क तिर्नुपर्छ।

सारथिले अहिलेसम्म ३० वटा कम्पनीमा संलग्न भएर सहयोग गरेको छ। सय वटाभन्दा बढीलाई सल्लाह–सुझाव दिएको छ। खानेकुराका व्यवसाय, कृषि फार्म, विभिन्न उद्योग, होटल, प्रिन्टिङ प्रेस लगायतका कम्पनीहरूका लागि सहजीकरण गरेको उनले बताए।

नेपाली कपडाका केही ब्रान्डले पनि सारथिको सहयोग लिएका छन्। यीमध्ये एउटा हो अबिर डिजाइनर हब। यसले नेपाली कपडा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँछ। सन् २०१९ मा सुरू भएको अबिरले २० देखि ५० वर्ष उमेरसमूहका लागि सबै खाले कपडा उत्पादन गर्छ। अबिरको मार्केटिङमा सारथिले सहयोग गरेको कम्पनीकी सञ्चालक रश्मी तन्डुकारले बताइन्।

‘हामी सबै जना डिजाइनर थियौं। मार्केटिङ र ब्रान्डिङको आइडिया थिएन,’ रश्मीले भनिन्, ‘डिजिटल माध्यमबाट अबिरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सारथिले सहयोग गर्‍यो। हामीले नयाँ कुरा सिक्ने अवसर पायौं।’

सारथिको साथ पाएको अर्को कम्पनी हो इको ग्रुप। यसका लागि तीन वटा सोलार कम्पनी दर्ता र अडिट लगायत काममा सारथिले सहयोग गरेको कम्पनीका प्रमुख वित्त अधिकारी नवराज घिमिरेले बताए।

‘सबै डकुमेन्ट दियौं, सारथिले उद्योग दर्ता र अन्य कम गरिदियो,’ नवराज भन्छन्, ‘यस्तो काम सघाउने अरू पनि छन् तर सारथिको जस्तो व्यावसायिक सोच सबैको छैन।’

अरू व्यवसायलाई सहयोग गर्ने व्यवसायको आइडिया कसरी आयो त?

मकवानपुरमा जन्मेका मिलन एसएलसी परीक्षापछि थप पढाइका लागि काठमाडौं आएका थिए। उनी आत्मनिर्भर हुन चाहन्थे। उनले बालबालिकाको लागि काम गर्ने एउटा संस्थामा काम सुरू गरे। दुई वर्ष काम गर्दा धेरै जनासँग सम्पर्क भयो। तर पढाइलाई समय नपुगेपछि उनले संस्था छाडे।

यसपछि उनले एउटा क्लबमा काम पाए। क्लबमार्फत एउटा होटल ट्रेनिङ सेन्टरमा पुगे। त्यसमै काम थाले। उनी आफू कुनै उत्पादनमूलक व्यवसाय गर्न चाहन्थे, सारथिजस्तो कन्सल्टेन्सी चलाउने सोच थिएन।

सात वर्षअघि उनले इलाइट इन्स्टिच्युट अफ म्यानेजमेन्ट (चार्टर्ड एकाउन्टेन्सी पढाइ हुने इन्स्टिच्युट) मा प्रोगाम कोअर्डिनेटरका रूपमा काम गरे। त्यहाँबाट उनी हिमालय कलेज अफ म्यानेजमेन्ट पुगे। कलेजको प्रोगाम कोअर्डिनेटरका रूपमा काम गर्दा गर्दै उनले व्यवसायका समस्या, ब्रान्डिङ, मार्केटिङ लगायत बुझ्ने अवसर पाए।

‘कलेजमा प्रोगाम कोअर्डिनेटरका रूपमा काम गर्दा त्यहाँ ठूला व्यवसायी र भर्खरै स्टार्टअप गर्दै गरेकाहरू आउँथे। उनीहरूसँगको छलफलबाट धेरै कुरा सिक्ने अवसर पाएँ,’ मिलन भन्छन्,’ त्यही समय साथीहरूलाई व्यवसायमा सल्लाह दिन थालेँ। यही समय अरूको व्यवसायमा सहजीकरण गर्ने कन्सल्टेन्सी चलाउने सोच आयो।’

 

उनले यतैतिर अनुसन्धान थाले। व्यवसायीहरूले लक्षित उपभोक्ता, मार्केटिङ, ब्रान्डिङ, व्यवस्थापन इत्यादि पक्षमा ध्यान नदिएको पाए। उनले आफूले चलाउन खोजेको कन्सल्टेन्सीको महत्व देखे।

‘काम गर्ने क्रममा व्यवसाय सम्बन्धी सबै कुराहरूमा सहजीकरण गरिदिने एउटा राम्रो कन्सल्टेन्सीको अभाव देखेँ,’ मिलन भन्छन्, ‘राकेशसँग यस्तै एउटा कन्सल्टेन्सी खोल्ने सल्लाह भयो।’

सल्लाह त भयो तर यसमा पनि गहिरो अध्ययन आवश्यक पर्थ्यो। उनका अनुसार उनले सोचेजस्ता कन्सल्टेन्सी अरू पनि रहेछन्। तर तिनले धेरैजसो लेखा हेरिदिने काम मात्र गर्दा रहेछन्। करिब साढे दुई वर्षको अध्ययनपछि मिलन कन्सल्टेन्सी चलाउने निष्कर्षमा पुगे।

यही निष्कर्षलाई साकार पार्दै उनले २०७५ सालमा कन्सल्टेन्सी कम्पनी दर्ता गराए। बानेश्वरमा कार्यालय खोले। सबै तयारी गर्दा दस लाख रूपैयाँ लगानी भयो। मिलन र राकेशले संयुक्त लगानी गरे। व्यवसाय गर्न चाहनेहरूका लागि सारथि बन्न सकोस् भन्ने उद्देश्यले कम्पनीको नाम ‘सारथि कन्सल्ट’ राखेको उनीहरू बताउँछन्।

उनीहरूले सुरूमा चिनजानका व्यवसायी र आफन्तहरूका लागि व्यवसायका आइडियाहरू विकास गर्दै गए। बिस्तारै नयाँ व्यवसायीहरू सारथिसँग जोडिन थाले।

यसरी अहिले सारथिले व्यवसायको आकार हेरेर व्यवसायीको आवश्यकताअनुसार सबै योजना बनाइदिन्छ। यसमा लाग्ने समय पनि व्यवसायको आकारमा भर पर्छ।  अलि ठूलो कम्पनी छ भने एक वर्षसम्म लाग्छ। बजार मागअनुसार सारथि देशको जुनसुकै ठाउँमा पनि पुगेर आवश्यक सहजीकरण गरिदिने मिलन बताउँछन्।

‘कुनै व्यवसाय गर्न चाहनेले पहिले त्यसको अध्ययन गर्नुहोस्, आफैं गर्न सक्नु भएन भने सारथिमा आउनुहोस्,’ मिलन भन्छन्, ‘हामी एउटा खाका बनाइदिन्छौं। व्यवसाय गर्दै हुनु हुन्छ र त्यसको अपग्रेड चाहनु हुन्छ भने पनि सहजीकरण गरिदिन्छौं।’

(सारथिको वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्क- ०१-४७८२८७८ )

साताकाे चर्चित
सम्बन्धित