ठूला दल बाहिर फरक भए पनि भ्रष्टाचारको मुद्दामा एकै ठाउँमा छन्- राजेन्द्र लिङ्देन
ठूला दल बाहिर फरक भए पनि भ्रष्टाचारको मुद्दामा एकै ठाउँमा छन्- राजेन्द्र लिङ्देन
    • बेल संचार

    • २१ चैत्र २०७८, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरू बाहिर फरक देखिए पनि आर्थिक भ्रष्टाचारमा एकै ठाउँमा हुने दाबी गरेका छन्।

ठूला भनिएका नेपाली कांग्रेस, एमाले र माओवादी पार्टीका शीर्ष नेताहरू आर्थिक भ्रष्टाचारमा एकै ठाउँ हुने गरेको उनको आरोप छ।

राप्रपा रूपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला दलहरूकै कारण मुलुकको अर्थतन्त्र गम्भीर संकटमा परेको बताए।

वैदेशिक हस्तक्षेपमार्फत् देशलाई कमजोर बनाउने खेलमा मुख्य दलहरू लागेको भन्दै उनले विदेशीहरूसँग मागेर मात्र नेपालको राजनीति र सत्तामा टिक्न सकिन्छ भन्ने संस्कारमा दलहरू लागेको बताए।

तीन दशक बढी मुलुकको शासन चलाएका दलहरूले नेपाली जनतालाई सपनामात्रै देखाउने गरेको भन्दै त्यस्ता दललाई अबको निर्वाचनमा मत नदिन उनले आह्वान गरे।

´अब पनि उनै दलले देश बनाउँछन् भनेर भोट दिएर बस्नु साँढेले दूध दिन्छ भनेर अगाडि बाल्टी थापेर बस्नु जस्तै हो,’ उनले भने।

अध्यक्ष लिङ्देनले जयसिंह धामी भारतीय सुरक्षाकर्मीका कारण महाकाली नदीमा बेपत्ता हुँदा समेत क्षतिपूर्ति माग गर्न नसक्नु सरकारको निरिहता भएको बताए।

उनले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि ठीक नभएको बताउँदै शक्ति राष्ट्रहरूको रणनीतिक मुलुक नेपाल बनेको जिकिर गरे।

कार्यक्रममा पार्टीका उपाध्यक्ष ध्रुबबहादुर प्रधान, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, ताहिर अली, पूर्वमन्त्री निरंजन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयलगायतले बोल्दै राप्रपालाई एकपटक मुलुकको नेतृत्व गर्ने अवसर दिन आग्रह गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित