जीवन र अस्मिताको समूह बने दोहोरी प्रतियोगिताको बिजेता
जीवन र अस्मिताको समूह बने दोहोरी प्रतियोगिताको बिजेता
    • Bell Sanchar

    • २१ चैत्र २०७८, सोमबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित ‘टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता-२०७८’ सम्पन्न भएको छ। प्रतियोगिता चैत्र १६ गतेबाट सुरू भएर चैत्र २० गते सम्पन्न गरिएको हो। प्रतियोगितामा ६१ समूह बीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिता अवधीभर प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजकको भूमिकामा थिए भने निवर्तमान केन्द्रिय अध्यक्ष सह-संयोजक बद्री पंगेनी रहेका थिए। साथै, प्रतियोगितामा अन्य कलाकारहरू पनि निर्णायकको भूमिकामा थिए।

‘टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८” को अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरू र विभिन्न अनलाइनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद २ लाख २५ हजार रुपैयाँ, प्रमाणपत्र, मेडल र शिल्ड, दोस्रो स्थान हासिल गर्नेलाई नगद १ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद १ लाख रुपैयाँ, प्रमाणपत्र र मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल तोकिएको थियो।

त्यस्तै, उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टिमलाई १० हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र दिइएको थियो।

‘टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता-२०७८’ मा नगरकोट दोहोरी साझको प्रतियोगी जीवन सिग्देल र अस्मिता डल्लाकोटीले प्रथम स्थान हासिल गर्न सफल भए। पुरस्कारको प्रायोजन जापान बसोबास गर्ने मनु थापाले गरेका हुन् ।

त्यस्तै प्रतियोगितामा गामबेसी दोहोरी साझको प्रतियोगी शान्ता वलि र अर्जुन खड्काले दोस्रो स्थान हासिल गरे। यस पुरस्कारको प्रायोजन बिना बुढा मगर, गौचन बुढा मगरले गरेका थिए।

प्रतियोगितामा क्विन रोधी घरको प्रतियोगीहरू हरिमाया रायमाझी, रश्मि बस्नेत, श्याम राना र शर्मिला रायमाझीले सँगै लुम्बिनी प्रदेशले बराबर नम्बर लिएर दुईवटै समूहले तेस्रो स्थान हासिल गरेका थिए। तृतीय पुरस्कारको प्रायोजन शिरफुल दोहोरी साझले प्रायोजन गरेको थियो।

प्रतियोगितामा भद्रकाली समूह (खेम नेपाली) उत्कृष्ट समूहको रुपमा छनौटमा परेकोलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको थियो। त्यस्तै, अनुशासित समूहमा ओखलढुंगा प्रतिष्ठान छनौटमा परि नगद पाँच हजार रुपैयाँसहित सम्मानित भएको थियो भने नवदित गायिका दिलमाया बिक र गण्डकी प्रदेशका प्रतियोगी नवदित गायक किशान बिक छनौटमा परि पाँच-पाँच हजार रुपैयाँ पुरस्कार सहित पुरस्कृत भएका थिए।

उत्कृष्ट गायक, गायिका तर्फ गण्डकी प्रदेशको प्रतियोगी सुमन खड्का र राजधानी दोहोरी साझकी प्रतियोगी पुजा पुनले हात पारे। उत्कृष्ट गायक, गायिकालाई सात-सात हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

त्यसैगरी, प्रतियोगीहरू मध्य सबैभन्दा कान्छी प्रतियोगी गण्डकी प्रदेशकी प्रतियोगी अर्चना चापागाईंलाई पनि हौसला स्वरुप सात हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको थियो। प्रतियोगिता अवधिभर अनुशासित कलाकारको रुपमा रहेको भन्दै  राजु लामिछानेलाई पाँच हजार नगदसहित सम्मान गरिएको थियो।

‘टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता-२०७८’ को समापन कार्यक्रममा केन्द्रीय अध्यक्ष रमेश बिजिको अध्यक्षता रहेको थियो। समापन कार्यक्रममा मुख्य प्रायोजक, प्रायोजक, सह-प्रायोजक, सहयोगीदाता, विभिन्न संघ संस्था, मिडियाकर्मी, निर्णायकहरू लगायत अन्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रम अवधिभर खटिएर साथ दिने आयोजक, स्वयंसेवक, मुख्य प्रायोजक, प्रायोजक, सह- प्रायोजक, सहयोगीदाता, पत्रकार, विभिन्न संघ संस्था, सुरक्षाकर्मी लगायत अन्यलाई आभार प्रकट गर्नुका साथै लोक दोहोरीलाई सधै माया गर्न अनुरोध गर्दै केन्द्रीय अध्यक्ष रमेश बिजिले कार्यक्रमको समापन गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित