‘कालिका कप’ भलिबल सुरु
‘कालिका कप’ भलिबल सुरु
    • बेल संचार

    • २४ चैत्र २०७८, बिहीबार

आकर्षक राशिको ‘कालिका कप’ खुला भलिबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । चैत्राष्टमी मेलाका अवसरमा आयोजित सो प्रतियोगिताको गण्डकी प्रदेशका भूमि, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभयो ।

मेलाको मुख्य आकर्षणका रूपमा रहेको भलिबल प्रतियोगितामा १७ टोलीले सहभागिता जनाएको खेल संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीले ट्रफीसहित रु तीन लाख, दोस्रोले रु एक लाख ५० हजार र तेस्रोले रु ७५ हजार पुरस्कार पाउनेछ ।

विगतको तुलनामा यसपालि पुरस्कारको राशि बढाइएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गर्दै आएको चैत्राष्टमी मेलामा भलिबल प्रतियोगिता निरन्तर समावेश हुँदै आएको छ । खुला प्रतियोगिता रहेकाले बाहिरी जिल्लाका खेलाडी टोलीले पनि प्रतियोगितामा भाग लिएको खेल उपसमितिका सदस्य किशोर थापाले बताउनुभयो ।

“आज उद्घाटन खेल मात्र भयो, अरु खेल शुत्ररबार बिहानैदेखि सुरु हुन्छन्, फाइनल स्पर्धा मेलाको अन्तिम दिन यही चैत २८ गते हुन्छ”, उहाँले भन्नुभयो । खुला प्रतियोगिता भएकाले खेल रोचक र प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ । कोभिड–१९ ले विगत दुई वर्षसम्म चैत्राष्टमी मेला रोकिएपछि भलिबललगायतका प्रतियोगिता पनि प्रभावित बनेका थिए । अहिले महामारी थामिएर स्थिति सहज बनेपछि मेलाको आयोजना गरिएको हो ।

खेलकुद र मनोरञ्जनका क्रियाकलाप मेलामा समेटिएका छन् । मेलामा भलिबलसँगै लोकदोहोरी, लोकभजन, परम्परागत छेलोलगायतका प्रतियोगिता राखिएको छ । लोक दोहोरीमा पनि भलिबलकै अनुसार पुरस्कार राखिएको छ । लोकभजन प्रतियोगितामा पहिलो हुने समूहलाई रु दुई लाख, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कारको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।

परम्परागत छेलो प्रतियोगिताका विजेताले रु ११ हजार १११ र उपविजेताले रु पाँच हजार ५५५ प्राप्त गर्नेछन् । बर्सेनि चैत्राष्टी पर्व पारेर हुने यस मेलालाई पर्यटन र व्यापार प्रवद्र्धनका दृष्टिले पनि महत्वका साथ लिइन्छ । मेलामा स्थानीय उत्पादनको बजार लाग्छ । डोका, नाङ्ला, ठेकाठेकी जस्ता मौलिक उत्पादन बेच्न गाउँदेखि व्यापारी मेलामा झर्छन् । हस्तकला र घरेलु सीपबाट बनेका सामग्रीको किनबेच पनि उत्तिकै हुन्छ । मेलामा बालउद्यान, रमाइलो मेलालगायत मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गरिएको छ । मौलिक कला, संस्कृति झल्काउने झाँकी, गीत तथा नृत्य पनि प्रस्तुत हुन्छन् । कालिका भगवती मन्दिर परिसरमा हुने मेला अवधिभर दर्शक/भक्तजनको घुइँचो नै लाग्छ । चैत्राष्टमीमा विशेष पूजाआजा हुने भएकाले मन्दिरमा टाढाटाढाबाट दर्शनार्थी आउँछन् ।

चैत्राष्टमी मेला जिल्लाको पहिचान र परम्परासँग पनि जोडिएको छ । पहिलेपहिले तत्कालीन पश्चिमाञ्चल क्षेत्रकै ठूलो मेलाका रूपमा यस मेलालाई लिने गरिन्थ्यो । मेला आयोजनामा रु ५० लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित