भक्तपुर । राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा सञ्चालन गरिएकोे छ । हरसिद्धि (जलद्योः) नाच मूल समितिको सक्रियतामा जयवागेश्वरी डबलीमा भइरहेको नाच शुक्रबारदेखि सुरु गरिएको हो । यो जात्रा प्रत्येक १२ वर्षमा ललितपुर महानगरपालिका वडा नं २८ बाट पशुपति क्षेत्रमा ल्याइने गरिन्छ । जात्रा हेर्नका लागि स्थानीयवासी एवं विभिन्न भागबाट आएका दर्शकको भीड लागेको छ ।
जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण पशुपति क्षेत्रमा आएको मूल समिति संयोजक दिलीप वैद्यले जानकारी दिए । देवगणलाई चाबहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने र खाने व्यवस्थासहित राखिएको छ । हरसिद्धिलगायत विभिन्न स्थानबाट जात्रा लिएर आउनेलाई बस्न र खानका लागि बनाइएको जयवागेश्वरीका विभिन्न सत्तल २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माणका क्रममा रहेकाले देवगणलाई पार्टी प्यालेसमा राख्नुपरेको समितिले जनाएको छ ।