विकासमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीको महत्वपूर्ण भूमिका : अध्यक्ष न्यौपाने
विकासमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीको महत्वपूर्ण भूमिका : अध्यक्ष न्यौपाने
    • Bell Sanchar

    • २८ चैत्र २०७८, सोमबार

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुदिप गिरिले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले वैष्णवी माताको जात्राको पूर्वसन्ध्यामा आज बिहान यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेण्डर विमोचन’ कार्यक्रममा उहाँले समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीयबासीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।
“समाजमा हुने विकृति, विसङ्गती र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ,”– उहाँले भन्नुभयो । सिसि क्यामरा नभएको ठाउँमा चोरीका घटना धेरै बढेको भन्दै यसलाई नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको एसएसपी गिरिले बताउनुभयो ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, वालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गती अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो ।
ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टुँडालदेवीको विकासका लागि समेत सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको उहाँको भनाई छ । सामुदायिक सेवा केन्द्रले टुँडालदेवी मन्दिर परिसरमा ५ कोठे क्रियापुत्री भवन समेत सञ्चालन गरेको छ । उक्त क्रियापुत्री भवनलाई आज समाजसेवी ओजस्वी शाहले २५ थान कम्बल समेत वितरण गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिका–४ का वडा अध्यक्ष मोहनबहादुर विष्ट, नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक अमरसिंह शाहलगायतले समाजमा हुने आपराधिक क्रियाकलाप अन्त्यका लागि प्रहरी र स्थानीयबासीबीच सहकार्यको खाँचो रहेको बताउनुभयो ।
विस २०५९ सालमा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौँ महानगरपालिका वडा नं ४ मा हुने विकृति विसंगती अन्त्यका लागि विभिन्न सामाजिक काम गर्दै आएको केन्द्रकी प्रमुख, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमलाले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, नेपाली सेनाका पूर्व अधिकृत, नेपाल प्रहरीका पूर्व अधिकृतलगायतको सहभागीता रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित