मेलम्चीको पानी आजदेखि काठमाडौंमा
मेलम्चीको पानी आजदेखि काठमाडौंमा
    • बेल संचार

    • २९ चैत्र २०७८, मंगलवार

मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने भएको छ । पुनर्निर्माणको काम सकिएसँगै फिलिङका लागि सुरुङमा पठाउन लागिएको समितिले जनाएको छ ।

समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएर सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । ‘‘हाम्रोतर्फबाट काम सकाएका छौँ । आजदेखि नै फिलिङका लागि सुरुङमा पानी पठाउने तयारीमा छौँ,” उनले भने ।

गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले भने आज नै खानेपानीको उद्घाटन हुनेबारे टुंगो लागिनसकेको बताए । ‘‘हामीलाई केही जानकारी आएको छैन,” उनले भने ।

सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरकाअनुसार काठमाडौंमा पानी आउन अझै १० देखि १५ दिनसम्म लाग्ने छ ।

‘‘स्ट्यान्डर्ड अपरेटिङ प्रोटोकलअनुसार पानी काठमाडौं आइपुग्न १५ दिन लाग्छ । प्रतिसेकेन्ड ६५ लिटरका दरले पानी पठाउँछौँ । एकैपटक खोलो हाल्ने होइन । सुन्दरीजलसम्म पानी पुगेपछि पुनः मेलम्चीमै पानी फिर्ता आउँछ । सुरुङमा पानी बढी भयो भने १० देखि १२ दिनभित्रै पानी पुग्छ । तर बाटोमा केही पानी लिकेज भयो भने १५ दिनको ठाउँमा १६ दिनपनि लाग्नसक्छ,” उनले भने ।

साताकाे चर्चित
सम्बन्धित