प्रचण्डले कुलमानको तस्वीर राखेर यसकारण छापे पोष्टर कार्यकर्ताको अपमान
    • Bell Sanchar

    • ४ बैशाख २०७९, आईतवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावका लागि आफ्नो साथमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर राखेर पोष्टर प्रकाशित गराए।  उनले आफ्नै सामाजिक सञ्जालबाट सर्वप्रथम यो पोष्टर सार्वजानिक गरेका थिए।

घिसिङको तस्वीर प्रयोग गरिएपछि ठूलो विवाद भयो। कुलमान स्वयंले मिडियासँग कुरा गर्दै आफूले आफ्नो तस्वीर प्रयोग गर्न नमिल्ने बताएको तर कसरी प्रयोग गरियो भन्ने जानकारी नभएको स्पष्टीकरण दिए। यससँगै उनले आफ्नो तस्वीर यसरी प्रयोग गर्न नमिल्ने भएकोले हटाउन आग्रह गरे।

यसको केही समयपछि पोस्टरबाट कुलमान र अर्थमन्त्री जनार्दन शर्माको तस्वीर हटाएर प्रचण्डको मात्र तस्वीर भएको पोस्टर जारी गरियो। यसले प्रचण्ड र उनको पार्टीको हैसियतलाई नराम्रोसंग उदाङ्गोमात्र बनाएन उनै प्रचण्डमाथि थुप्रै प्रश्नहरु तेस्र्याइदिएको छ जसको जवाफ नदिई भाग्दा प्रचण्ड स्वयं झन् कमजोर बन्दै जाने निश्चित छ।

पार्टी विभाजनपछि स्वाभाविकरुपमा प्रचण्ड र उनको दलको शक्ति कमजोर भएको छ र यसै पनि माओवादी आन्दोलनमा लागेका पुराना नेताहरु टुक्रा टुक्रा भएर विभाजित भइसकेका छन्। त्यो कमजोर भएको शक्तिलाई उठाउन प्रचण्डका लागि मुलुकप्रति इमान्दार भएर गर्ने असल कर्ममात्र एकमात्र उपाय हुन्थ्यो तर त्यसतर्फ भन्दा एउटा कर्मचारीको कामलाई आफूले गरेकोझैं गरेर कर्मचारीसमेतलाई त्यसमा मुछेर प्रचार गर्नुपर्ने वाध्यतामा प्रचण्ड पुगेका देखिन्छन्।

कुलमानलाई जे काम गर्नको लागि राज्यले सेवा सुविधा दिएको छ उनले त्यही काम गरे यसैलाई आफ्नो दलको प्रचारको हतियार बनाउनुपर्ने अवस्था प्रचण्डका लागि कसरी आयो? कुलमानले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्दा चुनाव प्रचारको हतियार नै बन्छ भने त अहिले अरु कर्मचारीले ठिकसँग काम गरेका रहेनछन् भनेर बुझ्नुपर्ने हुन्छ। अनि ती काम नगर्ने कर्मचारीलाई कारवाही किन नगरेको कमरेड ? तपाइँको पार्टी त अहिले सरकारमा छ होइन र ?

पद र अवसर आउँदा आफन्त नातेदार भाइ भतिजातिर बढी नै केन्द्रीत भएका उनले चुनावमा जनतालाई देखाउने उल्लेख्य केही काम सार्वजानिक गर्न सकेनन्। त्यसैले उनले कुलमानको अनुहार बेच्ने प्रयास गर्न पुगे।

कुलमान सरकारी स्वामित्वको एक संस्थानका कर्मचारी हुन्। सरकारी कर्मचारीले कुनै पनि राजनैतिक दलको समर्थन गरेर सार्वजनिक रुपमा बोल्न समेत पाइँदैन। भलै हाम्रो देशका दलहरुले दलीय आधारमा कर्मचारीका पेशागत संगठन बनाएका छन् र सरकारी सेवालाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेका छन्।

अवस्था जस्तो भए पनि नियमतः सरकारी कर्मचारीले दलको प्रचार गर्न पाइँदैन। यति सामान्य कुराको समेत हेक्का नराखी माओवादीले सरकारी स्वामित्वको संस्थानको प्रमुखकै तस्वीर आफ्नो चुनाब प्रचारमा प्रयोग गरिदियो। यसले चुनाबमा जान माओवादी कतिसम्म डराएको छ र कति एजेण्डा विहीन छ भन्ने देखाएको छ। एजेण्डामा देखाएको दरिद्रता कुलमानको फोटो प्रचण्डसँग टाँसेर सार्वजानिक गरेको घटनाले छर्लङ्ग पारेको छ।

एक्लै चुनाबमा जाने हिम्मत नभएर अहिलेको सत्ताधारी गठबन्धनलाई जसरी पनि चुनाबी गठबन्धन बनाउन साम, दाम, दण्ड भेद सबै उपाय अपनाएका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई गठबन्धन गर्न दबाब दिनको लागि तर्साउने र धम्क्याउने समेत गरिरहेको कांग्रेसी नेताहरुले नै सार्वजानिक गरिरहेकै छन्।

तर यो पोष्टर प्रकरणपछि कांग्रेसको साथले पनि चुनाब जितिन्छ भन्ने कुरामा प्रचण्ड विश्वस्त हुन नसकेनन् भन्ने देखियो र कुलमानलाई समेत हतियारको रुपमा य्रयोग गर्ने प्रयास भयो। प्रचण्डका लागि जनताका पक्षमा काम गर्दा गर्व गर्नुपर्ने धेरै कुरा हुनुपथ्र्यो।

१० बर्ष लामो सशस्त्र युद्ध र त्यसले ल्याएको परिवर्तनलाई अवसर पाउँदा सदुपयोग गर्न सकेको भए अहिले उनका लागि गर्व गर्ने सयौं विषय हुने थिए तर उनी त शुरुदेखि नै नेपाली सेनालाई बलात्कारीहरुको संगठन भन्दै विवादमा परेर सार्वजानिक भएर आठ जर्नेलकाण्ड हुँदै कटवाल प्रकरणमा पुगेर असफलताका साथ सत्ता अरुलाई सुम्पन तयार हुनुपर्ने अवस्थामा पुगे।

कुलमानले अहिलेसम्म म माओवादीको नेता वा कार्यकर्ता हो भनेका छैनन्। यसअघिको कार्यकालको अन्त्यमा टीभी अन्तर्वार्तामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई लोडसेडिङ अन्त्यको जस दिएर आफ्ना भनाइ सार्वजानिक गरेका थिए। सबैभन्दा महत्वपूर्ण कुरा त कुलमानले नेपाल विद्युत प्राधिकरणमा जागिर गर्छन्।

मालिकसँगमात्रै वार्ता गर्छु भन्दै भारतमाथि धारेहात लगाएर सो बचनमा उनी टिक्न सकेनन् र ‘रअ’ सँग त्वमशरणम् गर्दै सत्ता प्राप्तिको अभियानमा जुटिरहे जसले गर्दा देशप्रेमी नेताको छवि पनि उनले बनाउन सकेनन्। उनका साथमा जनयुद्ध लडेका कमाण्डरहरु थिए तर ती सबै भ्रष्टीकरणतर्फ लागे उनीहरुमाथि गर्व गर्न सक्ने अवस्थामा प्रचण्ड पुग्न सकेनन्।

उनी मासिक पारिश्रमिक लिएर जागिर गर्ने जागिरे हुन्। उनलाई जे काम गर्नको लागि राज्यले सेवा सुविधा दिएको छ उनले त्यही काम गरे यसैलाई आफ्नो दलको प्रचारको हतियार बनाउनुपर्ने अवस्था प्रचण्डका लागि कसरी आयो? कुलमानले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्दा चुनाव प्रचारको हतियार नै बन्छ भने त अहिले अरु कर्मचारीले ठिकसँग काम गरेका रहेनछन् भनेर बुझ्नुपर्ने हुन्छ। अनि ती काम नगर्ने कर्मचारीलाई कारवाही किन नगरेको कमरेड ? तपाइँको पार्टी त अहिले सरकारमा छ होइन र ?

१० वर्षे विद्रोहका बेला क्रान्तिकारी भाषण गरेका र २०६४ को निर्वाचनमा पहिलो दल बन्दा सफलताको अहंकारले उन्मत्त भएर अरुलाई हरुवा भन्दै हिँडेका प्रचण्डसहितका माओवादी नेताहरुले अहिले राजनीतिको फोहोरी खेलमा पुराना संसदवादी दलहरुलाई समेत उछिन्न खोजेको प्रमाण यो पोष्टर प्रकरणले दिएको छ।

यसले प्रचण्डको राजनीति यति कमजोर भइसक्यो कि आफ्नो त्याग, १० वर्षसम्मको सशस्त्र युद्ध र त्यसले सृजना गरेका जनमतप्रति उनको विश्वास रहेन भन्ने पनि देखाएको छ। खुला राजनीतिमा आएको डेढ दशकसम्म आफ्नो पार्टीले जनताको हितमा काम गर्न नसकेको सत्यलाई स्वयं प्रचण्डले स्वीकार गरिसकेको प्रस्ट उदाहरण हो यो अविश्वास।

माओवादीले आफ्नो चुनाबी एजेण्डा बनाउने नै हो भने आफ्नो पार्टीले, नेताले कार्यकर्ताले गरेका राम्रा कामलाई बनाउनु पर्ने हो। रगत बगाएका, आन्दोलनमा लागेका परिवर्तनका संवाहक भनेर नेता कार्यकर्तालाई भन्ने पार्टीले परिवर्तनका उनीहरु संवाहक हुन भनेर गर्व गर्न किन नसक्ने ?

कार्यकर्ताले दशक लामो संघर्ष गरेर व्यवस्था नै परिवर्तन गरेका हुन्। तर ती कार्यकर्ताको उपलब्धी भन्दा एउटा कर्मचारीको उपलब्धी कसरी माथि भयो? के प्रचण्डले अहिले आएर आफ्ना कार्यकर्ता सबै लुटेर खाने मात्रै हुन, उज्यालोको संवाहक होइनन् भन्न खोजेका हुन् ?

Nabintech
साताकाे चर्चित
सम्बन्धित