मेरो कार्यकालमा वडावासीले कुनै गुनासो गर्नु परेन भन्दै फेरि वडाध्यक्ष हुन खोज्ने विराटनगरका आचार्यले के –के गरे ?
मेरो कार्यकालमा वडावासीले कुनै गुनासो गर्नु परेन भन्दै फेरि वडाध्यक्ष हुन खोज्ने विराटनगरका आचार्यले के –के गरे ?
    • बेल संचार

    • २१ बैशाख २०७९, बुधबार

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष मिनकुमार आचार्य फेरि पनि वडाध्यक्षको उम्मेदवार भएका छन् । उनी नेकपा एमालेको तर्फबाट स्थानीय तहको निर्वाचन २०७४ मा जितेका वडाध्यक्ष हुन् । उनले आफूले सुरु गरेका धेरै योजनाहरु सम्पन्न गर्न बाँकी रहेकाले एक पटक काम गर्ने अवसर खोजेको बताए ।

‘विभिन्न कारणले काम गर्दागर्दै सकिएन, ती अधूरा कामलाई पूरा गर्न पनि म वडाध्यक्ष हुनुपर्ने छ’ उनले भने ‘काम नगरेको भनेर कसैले भनेका छैनन् र भन्ने ठाउँ पनि छैन, परिस्थिति नै त्यस्तै भइदियो ।’ उनले आफ्नो कार्यकालमा सबैलाई चित्तबुझ्दो काम गरेको दाबी गरेका छन् । आफ्नो कामबाट कोही पनि असन्तुष्ट नभएको भन्दै थपे ‘मैले विकासको काममा कुन पार्टी मेरो र तेरो भनिन, सबैलाई वडावासीको नजरले मात्र हेरें ।’ उनले पहिलो वर्ष बाढीको कारणले विकास निर्माणमा बजेट लगाउन नपाएको, दोस्रो र तेस्रो वर्ष कोरोनाले असर गरेको र पछिल्लो समय काम गर्दागर्दै समय सकिएको बताए ।

बजेटलाई सही व्यवस्थापन गरेको भन्दै आएका उनी विकासको फेहरिस्त नै सुनाउँछन् । उनले जनता आवास कार्यक्रम अन्तर्गत २० वटा घर बनाइसकेको, हरित पार्क बनाउँदै गरेको, गाउँगाउँमा सडक पुर्याएको र पिच गरेको, जापानको जाइकाको सहयोगमा व्यवस्थित र दीर्घकालीन खानेपानी योजना अघि बढाएको, महानगरपालिकाकै योजना अन्तर्गतको महानगर बहु प्राविधिक शिक्षालय आफ्नै वडामा बनाउँदै गरेको, स्वास्थ्य केन्द्रमा विशेष र आवश्यक अनुसार निःशुल्क उपचारसहित एमबीबीएस डाक्टरसहितको २४ सै घन्टा सेवा दिने योजना अघि सारेको जनाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत अरु ३४ घर बनाउन बाँकी नै छ ।

‘म पनि कोरोनाबाट प्रभावित भएँ तर पनि त्योबेलामा सकेसम्म जनतालाई राहत दिने र उद्धार गर्ने काममा लागिरहें’ उनी भन्छन् ‘मलाई पार्टीकाले मात्र होइन अब अरुले पनि तपाई फेरि पनि वडाध्यक्ष हुनुपर्छ भन्न थालेका छन् ।’ पार्टीले ‘हामी बनाउँछौं, हाम्रो विराटनगर, अन्तर्राष्ट्रिय स्तरको आधुनिक र समृद्ध शहर’ को नारा अघि सारेको छ । ‘सबै वडावासीको सहयोग र सहकार्यमा धेरै काम गरेको छु , सहयोगको लागि उहाँहरुलाई धन्यवाद दिन्छु ’ उनी भन्छन् ‘फेरि पनि वडाध्यक्ष भएपछि बाँकी र अधूरा योजना पूरा गर्छु र नयाँ प्रकारका आधुनिक कार्यक्रम पनि सञ्चालन गर्छु ।

’ विराटनगरका रहेका १९ वटा वडामध्ये ३ वटामा एमालेले वडाध्यक्ष जितेको हो । उनी पार्टीको जिल्ला सचिवालय सदस्य र क्षेत्र नम्बर ६ को ‘ख’ प्रदेशको अध्यक्ष पनि हुन् । पछिल्लो समयमा आफ्नो नेटवर्क केन्द्रसँग पनि बढ्दै गएकाले केन्द्रबाट पनि योजना ल्याउन सकिन्छ भन्नेमा उनी ढुक्क छन् । आचार्यको वडामा अरु ४ सदस्य कांग्रेसबाट जितेका छन् । यो वडामा ८ हजार ७ सय ९८ मतदाता रहेका छन् । आचार्यसहित ११ जना वडाध्यक्षको प्रतिस्पर्धामा छन् ।

साताकाे चर्चित
सम्बन्धित