दुई दिन सार्वजनिक बिदाबारे अलमलमा स्वास्थ्य क्षेत्र
दुई दिन सार्वजनिक बिदाबारे अलमलमा स्वास्थ्य क्षेत्र

बिदाका नाममा बिरामीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने

    • Bell Sanchar

    • २१ बैशाख २०७९, बुधबार

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै बिदाको पक्ष र विपक्षमा मतहरू सार्वजनिक भइरहेका छन् । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरकारी तथा निजी संघमा आबद्ध स्वास्थ्यकर्मीबीच पनि आइतबारको सार्वजनिक बिदाका विषयमा मत बाझिएको छ ।

चिकित्सक संघ नेपाल (गोदान) ले आइतबार दिइने सार्वजनिक बिदा स्वास्थ्य क्षेत्रमा लागु नहुने भनिएको प्रति आपत्ति जनाएको छ । एउटै प्रवेश विन्दु र एउटै ऐनका कर्मचारीबीच फरक फरक व्यवहार हुनु न्यायसङ्गत नभएको धारणा संघका महासचिव डा. कृतिपाल

यदि स्वास्थ्यलाई विशेष क्षेत्र मान्ने हो भने स्वास्थ्यका कर्मचारीलाई खाली कार्य बोझ मात्रा बढी नभई विशेष थप सुविधा, अतिरिक्त सेवा तथा प्रोत्साहन भत्ता दिन अनिवार्य रहेको उनले बताए । स्वास्थ्य क्षेत्रमा आइतबार बिदा नदिइए अन्य सेवाका कर्मचारीको तुलनामा वर्षको ५२ हप्ता अधिक थप कार्यभार पर्ने हुँदा यसको व्यवस्थापनको तत्काल आवश्यकता पर्ने उनले बताए ।

स्तै, सरकारले कुनै विशेष थप सुविधा र न्यायोचित प्रोत्साहन विना नगरेमा गोदानको समर्थन नरहने उनको भनाइ छ । वैशाख १३ गते बसेको मन्त्री परिषद् बैठकले जेठदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । कार्यालय खुल्ने समय बिहान ९ः३० देखि ५ः३० सम्म बनाइएको छ ।

स्वास्थ्यका मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा मन्त्रीले विभिन्न समयमा स्वास्थ्य क्षेत्रमा आइतबार सार्वजनिक बिदा नहुने अभिव्यक्ति दिएपछि सरकारी स्वास्थ्यकर्मी संघले विरोध जनाएको हो । स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने सरकारले सार्वजनिक बिदाका नाममा नागरिकलाई अस्पतालबाट दिइने स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने बताउँछन् ।

‘सरकारले दिएको सुविधा अन्य क्षेत्रमा लागू हुने तर स्वास्थ्य क्षेत्रमा लागू गर्न समस्या पर्छ भन्नु उपयुक्त नहुन सक्छ,’ उनी भन्छन्, ‘तर शनिबारसँगै आइतबार पनि बिदा दिँदा स्वास्थ्य सेवा लिनबाट वञ्चित हुन्छन् ।’ आइतबार सरकारले बिदाको घोषणा गरेपनि सो दिन अन्य दिनमा दिइने स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नहुने मन्त्रालयका पूर्वसहसचिव डा. लामिछानेको भनाइ छ । सार्वजनिक बिदाको दिन सेवामा खटिने स्वास्थ्यकर्मीलाई अतिरिक्त सेवाको व्यवस्था मिलाएर भए पनि जनतालाई सेवा दिनुपर्ने उनको धारणा छ ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख तथा जनस्वास्थ्यविद् डा बाबुराम मरासिनी सबै क्षेत्रका कर्मचारीमा आइतबार सार्वजनिक बिदा लागू गर्दा स्वास्थ्य क्षेत्रका कर्मचारीमा पनि लागू हुनुपर्छ भन्ने धारणा राख्छन् । अमेरिका लगायतका अन्य राष्ट्रहरू पनि लगातार दुई दिनसम्म स्वास्थ्य कर्मचारीले सार्वजनिक बिदा पाउने भन्दै नेपालमा व्यवस्थापन गर्न सकिएमा सम्भव हुने डा मरासिनीको भनाइ छ ।
स्वास्थ्य सेवालाई अन्य दिनजस्तै आइतबार सेवा प्रदानका लागि सातामा ४० घण्टाभन्दा धेरै खटिने स्वास्थ्यकर्मीलाई ओभर टाइम अर्थात् बढी समय काम गरेबापत अतिरिक्त सेवा दिएर अघि बढ्न सकिने उनको भनाइ छ । ‘यदि सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई आइतबार बिदा दिइएन भने राम्रोसँग काम गर्दैनन् उनीहरूको मनोबल घट्छ, ’ उनी भन्छन्, ‘जसले गर्दा बिरामी नै मारमा पर्ने सम्भावना हुन्छ । त्यस्तो अवस्थामा स्वास्थ्यकर्मी ऊर्जावान् भएनन् भने समस्या पर्छ ।’

शनिबार, आइतबार बिदा हुँदा ओपिडी वार्डमा उपचार गराउने इमरजेन्सीमा सेवा लिनेहरूको भीड हुने डा मरासिनी बताउँछन् । ओपिडी सेवा बन्द भएपछि ज्वरो आउने, टाउको दुख्ने सामान्य बिरामी इमरजेन्सीमा पुग्दा भीड हुने भएकाले सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । स्वास्थ्य संस्थामा बिहान ९.३० बजे अस्पताल पुग्नुपर्ने र ५.३० बजे डिउटी सकिने भएपछि उनीहरूलाई टिकाउन स्वास्थ्यका चमेना गृह, शौचालय, खानेपानी आदिमा ध्यान दिन अति आवश्यक पर्ने उनको सुझाव छ ।

उता स्वास्थ्य क्षेत्रमा आइतबार बिदा गर्नु उपयुक्त हुँदैन भनेर   अभिव्यक्ति आएपछि यसबारे निर्णय नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले सरकारले आइतबार दिएको सार्वजनिक बिदा स्वास्थ्य मन्त्रालय, संघ, प्रदेश र  स्थानीय तहमा दिइँदै आएको सेवालाई कसरी व्यवस्थापन गर्ने विषय छलफल चलिरहेको बताइन् । स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले बिदा पाउने वा नपाउने र कसरी आइतबार नागरिकलाई सेवा दिने विषयमा छलफल भइरहेको प्रवक्ता डा. मिश्राको भनाई छ ।

साताकाे चर्चित
सम्बन्धित