सुदूरपश्चिमको राजधानी गोदावरीमा यस्तो छ चुनावी प्रतिस्पर्धा
सुदूरपश्चिमको राजधानी गोदावरीमा यस्तो छ चुनावी प्रतिस्पर्धा
    • Bell Sanchar

    • २५ बैशाख २०७९, आईतवार

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषित गोदावरी नगरपालिकामा स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधि उत्कर्षमा पुगेको छ । कम्युनिष्टको पकड क्षेत्रका रुपमा रहेको यस नगरपालिकामा प्रमुख, उपप्रमुखसहित वडा अध्यक्ष तथा सदस्यका आकांक्षीहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

यस नगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ स्वतन्त्र उम्मेदवारले पनि दुवै पक्षलाई कडा चुनौती दिएका छन् । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता विरेन्द्र भट्ट र नेकपा एमालेबाट गोकर्ण भट्ट मेयरका उम्मेदवार भएका छन् । यस्तै, राप्रपाबाट दुर्गाकुमार पोखरेल, राष्ट्रिय जनमोर्चाबाट हरिकृष्ण पाण्डेय, नेकपा माओवादी केन्द्रबाट विक्रम विश्वकर्मा, लोसपा नेपालबाट फकलु चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट रामबहादुर रावल मेयरमा उम्मेदवार छन् । टेकबहादुर विक र मिने मल्लले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनका नेता भट्ट २०७४ सालको निर्वाचनमा मेयरमा नेकपा एमालेका उम्मेदवार हरिसिंह साउदसँग पराजित भएका थिए । २०७४ को निर्वाचनमा पराजित भए पनि अब आउने निर्वाचनमा भने आफूले जित्नेमा ढुक्क रहेको उनी बताउँछन् ।

‘स्थानीय चुनाव भनेको कुनै राज्यसत्ता परिवर्तन गर्नका लागि होइन । नगरवासीको चाहना, अपेक्षाअनुसार यहाँका आवश्यकता अनुसार काम गर्नका लागि यो निर्वाचन हो,’ उनले भने, ‘२०७४ सालको स्थानीय चुनावमा म पराजित भए पनि यहाँ जितेका प्रतिनिधिहरुले यस क्षेत्रको समग्र विकास, यस क्षेत्रका जनताको स्तरोन्नति गर्न नसकेका कारण हामी यस क्षेत्रमा फरक र राम्रो गर्न सक्छौं भन्ने उद्देश्यका साथ प्रचार प्रसारमा छौं ।’

उनले प्रत्येक वडालाई कृषिसँग जोडेर यहाँका किसान दाजुभाइ दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन अगाडि बढ्ने बताए ।

‘यस क्षेत्रमा पर्यटकीय एवम् धार्मिक क्षेत्रलाई विकास गर्नेछौं । यहाँका गोदावरी धाम, नायल ताल, ग्वासी समैजी, कम्पासे डाँडा यस क्षेत्रका धेरै सम्भावना बोकेका ठाउँ हुन्,’ उनले भने, ‘ती क्षेत्रको विकासका साथै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, असहाय, युवाको हकमा हामीसँग लक्षित कार्यक्रम छन् । हामी त्यही अनुसार काम गर्ने छौं । समृद्ध नगरपालिका बनाउने छौं ।’

उनले गोदावरी नगरपालिकामा भ्रष्टाचार पनि ठुलो समस्याका रुपमा रहेको बताए । उनले भ्रष्टाचार मुक्त नगरपालिका, क्लिन नगरपालिका, ग्रीन नगरपालिका बनाउने मुख्य एजेन्डा रहेको पनि प्रस्ट पारे ।

नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्ट भने सत्तारुढ गठबन्धनकै कारण आफूले चुनाव जित्ने दाबी गर्छन् । ‘जनता गठबन्धनको विरुद्धमा छन् । परमादेशको सरकारले जुन व्यवहार गरेको छ, जुन कार्यशैली छ । त्यसप्रति एकदमै असन्तुष्ट छन्,’ उनले भने, ‘त्यसकारण हामीलाई निर्वाचन जित्न एकदमै सहज छ । जहाँ गयो त्यहीँ जनताको समर्थन छ । जनलहर उर्लेको छ ।’

उनले अहिले जनताको घरदैलोमा जाँदा आधारभूत रुपमा शिक्षा, स्वास्थ्यमा सुधारको माग भइरहेको जानकारी दिए । खानेपानी, ढल निकासका, विकास निर्माणसँग जोडिएका समस्या समाधान गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

उनले गोदावरी सहरलाई आधुनिकीकरण गर्न, व्यवस्थित बनाउन आफूले विशेष पहल गर्ने पनि बताए । स्वतन्त्र उम्मेदवार विक पनि बलिया उम्मेदवार मानिएका छन् । उनी विगतमा एमाले र हाल नेकपा एकीकृत समाजवादीमा रहे पनि उम्मेदवारी नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवार बनेका छन् ।

नगरमा रहेका दलित बस्तीको विकासमा ध्यान दिने उनी बताउँछन् । २०७४ सालकै निर्वाचनमा आफू मेयरको आकांक्षी रहेको उल्लेख गर्दै उनले त्यतिबेला एमालेले हरिसिंह साउदलाई उम्मेदवार बनाएका कारण आफू उम्मेदवारीबाट वञ्चित भएको बताए । हाल नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेका उनी आसन्न निर्वाचनमा पनि मेयरका आकांक्षी थिए । तर गठबन्धनबीच भागबण्डा हुँदा नेपाली काँग्रेसको भागमा मेयर पद परेपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

२०७४ को मतपरिणाम

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा गोदावरीमा ४१ हजार ८२९ मतदाता थिए । चुनावमा भने २९ हजार ७५३ मत खसेकोमा सात सय ७३ बदर भएको थियो । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हरिसिंह साउदले नौ हजार ८७० मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट आठ हजार ४९७ मत पाएका थिए ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका गोकर्ण भट्टले ६ हजार ४८१ मत पाएका थिए । राप्रपाका उम्मेदवार चन्द्रबहादुर सिंहले ७३२ र राष्ट्रिय जनमोर्चा शेरबहादुर लुहारले ५२३ मत प्राप्त गरेका थिए ।

५५ हजारभन्दा बढी मतदाता

गोदावरी नगरपालिकामा हाल ५५ हजारभन्दा बढी मतदाता छन् । अहिले २६ हजार ६१७, पुरुष, २८ हजार ८७४ महिला र दुई अन्य गरी ५५ हजार ४९२ मतदाता छन् । सो नगरपालिकामा २४ वटा मतदान स्थल रहने छ भने ६७ वटा मतदान केन्द्र रहने जनाइएको छ । रातोपाटी

साताकाे चर्चित
सम्बन्धित