अन्तरिक्षतर्फ सर्दै पृथ्वीको वैमनस्यता
अन्तरिक्षतर्फ सर्दै पृथ्वीको वैमनस्यता
    • Bell Sanchar

    • २६ बैशाख २०७९, सोमबार

विगतमा पृथ्वीमा द्वन्द्वमा सहभागी राष्ट्रहरूबीच पनि सहकार्यको क्षेत्र हुने गर्थ्यो, अन्तरिक्ष । तर, पछिल्ला दशकमा अन्तरिक्षमा सहकार्यको प्रकृति बदलिँदै गएको छ। युक्रेनमा रुसको आक्रमणपछि यो परिवर्तन झन् स्पष्ट भयो । यस परिप्रेक्षमा अन्तरिक्ष विज्ञहरुले भविष्यमा एकल मुलुकले विभिन्न तहको आधिपत्यको प्रयास गर्ने प्रक्षेपण गर्न थालेका छन्।

अर्काथरी विज्ञले भने व्यावसायिक निजी अन्तरिक्ष कम्पनीहरुले प्रतिद्वन्द्वी मुलुकलाई नजिक ल्याउने बताउँछन् । तर अन्तरिक्ष क्षेत्रको भविष्य उल्लेखित दुई परिदृश्यभन्दा फरक हुनसक्छ । विगत केही वर्षको उदाहरण हेर्ने हो भने रणनीतिक स्वार्थ मिलेका मुलुकहरु अन्तरिक्ष अभियानको लागि गुट९अन्तरिक्ष गुट० बनाउन थालेका छन् ।

अन्तरिक्षमा सहकार्य

शीत युद्धमा अन्तरिक्ष क्रियाकलापमा अमेरिका र सोभियत संघको आधिपत्य थियो । जमिनमा दुई मुलुकबीच वैमनस्यता रहे पनि अन्तरिक्षमा भने दुई मुलुकले तनाब आउन दिएनन् । केही परियोजनामा दुई मुलुकबीच सहकार्य समेत हुन्थ्यो ।

अन्तरिक्ष अभियानमा थप मुलुक जोडिँदै गएपछि कयौँ अन्तराष्ट्रिय सहकार्य समूह देखा पर्न थाले । तिनमा बाह्य अन्तरिक्ष मामिला हेर्ने संयुक्त राष्ट्र संघिय कार्यालय, बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोग सम्बन्धि संयुक्त राष्ट्र संघीय समिति र अन्तरिक्ष तथ्यांक प्रणालीका लागि सुझाव समितिहरु पर्छन्।

सन् १९७५ मा १० युरोपेली मुलुक मिलेर युरोपियन स्पेस एजेन्सी गठन गरे। सन् १९९८ मा अमेरिका र रुसले इन्टरनेसनल स्पेस स्टेसन निर्माण प्रयासमा हात मिलाए। यी बहुराष्ट्रिय सहकार्य वैज्ञानिक सहकार्य र तथ्यांक लेनदेनमा केन्द्रीत थिए ।

अन्तरिक्ष गुटको उदय

हाल २२ देश सदस्य रहेको युरोपियन स्पेस एजेन्सी पहिलो अन्तरिक्ष गुट थियो । अन्तरिक्ष अभियानमा गुटगत शक्ति संरचनाप्रति स्पष्ट झुकाव शीतयुद्धको अन्त्यपछि थप तिव्र हुन थाल्यो। पृथ्वीमा स्वार्थ मिल्ने मुलुकहरु निश्चित मिसनमा सहकार्य गर्न थालेपछि अन्तरिक्ष गुट देखिन थाल्यो।

गत पाँच वर्षभित्र विभिन्न तहका अन्तरिक्षण क्षमता भएका कैयौं नयाँ अन्तरिक्ष गुट निर्माण भए। यसमा अफ्रिकन स्पेस एजेन्सी भन्ने एउटा छ, जसमा ५५ सदस्य मुलुक छन्। अर्को ल्याटिन अमेरिकन एण्ड क्यारेबियन स्पेस एजेन्सी छ। यो एजेन्सी ७ मुलुक मिलेर बनेका छन्। त्यस्तै अरब स्पेस कोर्डिनेसन ग्रुपमा १२ पश्चिमी एशियाली सदस्य छन्।

गुटभित्रका सदस्य मुलुकबीच सहकार्य हुन्छ भने गुटहरूबीच प्रतिस्पर्धा हुने गर्छ । पछिल्ला दुई अन्तरिक्ष गुटहरु आर्टेमिस एकर्ड र चिनियाँ–रुसी अन्तरिक्ष सहमती यस्तै प्रतिस्पर्धाका उदाहरण हुन्।

पछिल्लो ५० वर्षमा कोही मानवले पनि चन्द्र धरातलमा पाइला टेकेका छैन्न्। तर अगामी दशक अमेरिका नेतृत्वको आर्टेमिस एकर्ड र चिनिया–रुसी मिसनले चन्द्र धरातलमा आधारक्षेत्र बनाउने लक्ष लिएका छन् ।

सन् २०२० अक्टोबरमा सार्वजनिक भएको अमेरिका नेतृत्वको आर्टेमिस एकर्डमा हालसम्म १८ सदस्य छन् । यसले सन् २०२५ सम्म मानिसलाई चन्द्रमा पु¥याउने लक्ष लिएको छ। त्यहाँ आधार निर्माण गरेर उ चन्द्रमा, मंगल र अझ परसम्म खनिज उत्खनन् गर्न चाहन्छ।

सन् २०१९ मा चीन र रुसले सन् २०२६ सम्म चन्द्रमामा मानिस पठाउन सहकार्य गर्ने सहमति जनाएका थिए। यी दुई गुटबीच समान उद्देश्यका लागि सहकार्य नहुनुले जमिनको स्वार्थ र प्रतिद्वन्द्विता अन्तरिक्षमा पनि सरेको देखाउँछ।

अन्तरिक्षमा शक्ति विस्तार गर्ने प्रयास गरिरहेका मुलुकहरु बीचको गुटले कहिलेकाहिँ जमिनमा प्रभाव पार्न पनि सक्छ। यसको एउटा उदाहरण एशिया–प्यासिफिक स्पेस कोअपरेसन अर्गनाइजेसन हो। सन् २००५ मा निर्माण भएको चीन नेतृत्वको यो अन्तरिक्ष संगठनमा बंगलादेश, इरान, मंगोलिया, पाकिस्तान, पेरु, थाईल्याण्ड र टकी छन्। यसको वृहत्तर लक्ष भूउपग्रह प्रक्षेपण गर्ने भए पनि यसको मुख्य उदेश्य भने ‘जीपीपएस’को चिनियाँ संस्करण बेइडुलाई विस्तार गर्ने देखिन्छ।

निजी अन्तरिक्ष कम्पनीको प्रभाव

पछिल्लो समय स्पेस–एक्सजस्ता नीजि कम्पनीले पनि व्यवसायिक प्रयोजनका लागि अन्तरिक्ष अभियानमा सहभागी बढाएको छ। एक थरी विज्ञहरु नीजि कम्पनीको आगमनपछि प्रतिद्वन्द्वी अन्तरिक्ष एजेन्सीबीच सहकार्य विकास हुने विश्वास गर्छन्।

तर अन्तराष्ट्रिय कानुन अनुसार अन्तरिक्षमा काम गर्ने कुनै पनि कम्पनीले उसको गृह मुलुकको सरकारको कानुनको अधिनमा रहेर काम गर्नुपर्छ। यो कानुनले तिनको अन्तराष्ट्रिय सहकार्य निर्देशित गर्ने सम्भावना कमै देखिन्छ ।

युक्रेन युद्धपछि अमेरिकी व्यवसायिक अन्तरिक्ष कम्पनीले रुसी अन्तरिक्ष एजेन्सीसँगको सहकार्य रोक्न बाध्य भए । यसले अन्तरिक्ष क्षेत्रमा राज्यको प्रधानतालाई नै इंगित गर्छ।

हाल कायम अन्तरिक्षमा गुटको फाइदा, घाटा दुवै छन्। अन्तरिक्ष अभियान महंगो परियोजना भएकाले तिनमा गुट बनाएर मुलुकहरुले आ–आफ्नो स्रोत, ज्ञान र जनशक्ति बाँड्दा ठूलो उद्देश्यमा सहजता उत्पन्न हुन्छ।

तर गुटहरु कठोर हुदै गए भने त्यसले प्रतिद्वन्दी गुटबीच द्वन्द हुने खतरा बढाउँछ। वैज्ञानिक उद्देश्यमा केन्द्रीत भएर अन्तरिक्ष गुटबीच सहकार्यको लागि लचकता अपनाए बल्ल अन्तरिक्ष खुला द्वन्द्वको स्थल बन्नबाट रोकिन्छ।

‘द कन्भरसेसन’को लागि सहप्राध्यापक स्वेटला बेन–इत्झाकको आलेख

साताकाे चर्चित
सम्बन्धित