काठमाडौंबाट प्रत्यक्ष चुनाव लड्दै मानुषी यमी
काठमाडौंबाट प्रत्यक्ष चुनाव लड्दै मानुषी यमी
    • Bell Sanchar

    • २५ जेष्ठ २०७९, बुधबार

जनता समाजवादी पार्टी नेपाल (जसपा)की युवा नेत्री मानुषी यमी भट्टराई काठमाडौंबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भएकी छिन् ।

पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी समेत रहेकी मानुषीले काठमाडौंबाट प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्ने तयारी गरेको स्रोतले लोकान्तरलाई बतायो ।

आमा हिसिला यमीले २०६४ सालमा चुनाव जितेको क्षेत्र काठमाडौं ७ या अहिले मानुषी बस्दै आएको क्षेत्र काठमाडौं ५ बाट चुनाव लड्ने तयारी रहेको स्रोतले बतायो ।

मानुषी अहिले जसपाको केन्द्रीय सदस्य र बागमती प्रदेश कमिटी सचिव छिन् ।

काठमाडौं ७ मा यसअघि एमालेका रामवीर मानन्धर विजयी भएका थिए भने ५ बाट ईश्वर पोखरेल विजयी भएका थिए । अहिले बाबुराम परिवार काठमाडौं ५ टोखा क्षेत्रमा बस्दै आएको छ ।

जसपाका युवा नेताहरूले बुधवार बिहान मानुषीसँग भेटेर चुनाव लड्न आग्रह गरेका हुन् । मानुषी प्रत्यक्ष चुनाव लड्ने विषयमा डा. भट्टराई पनि सकारात्मक छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा बालेन्द्र शाह निर्वाचित भएपछि आगामी प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्न युवाहरू अघि सरेका छन् ।

काठमाडौं १ बाट पुकार बमले स्वतन्त्र रूपमा चुनावमा उठ्ने घोषणा गरिसकेका छन् ।

राजधानी शहर काठमाडौंमा युवाहरू राजनीतिमा आकर्षित भइरहेको समयमा मानुषीले उम्मेदवारी दिने चर्चा चलेको हो ।

जसपाका नेता विश्वदीप पाण्डेले युवापंक्तिबाट मानुषीलाई चुनावमा उठ्न आग्रह भइरहेको र उनी सकारात्मक रहेको जानकारी दिए ।

राजनीतिक परिवारको सदस्य रहेपनि उनले क्याम्पसदेखि नै राजनीति शुरू गरेकी हुन् ।

२०६५ सालमा मानुषी त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सचिव बनेकी थिइन् ।

पछि उनले स्ववियु सभापतिमा उठ्ने तयारी गरेपनि अन्तिम समयमा चुनाव नै स्थगित भएको थियो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पार्टीको तल्लो कमिटीमा बसेर राजनीति गर्दै आएकी छिन् ।

त्रिविबाट राजनीतिशास्त्रमा स्‍नातकोत्तर मानुषी सामाजिक कार्यक्रमहरूमा समेत सहभागी हुँदै आएकी छिन् ।

साताकाे चर्चित
सम्बन्धित