इजरायलमा ढल्यो गठबन्धन सरकार, तीन वर्षमा पाचौं पटक चुनाव हुँदै
इजरायलमा ढल्यो गठबन्धन सरकार, तीन वर्षमा पाचौं पटक चुनाव हुँदै

आगामी अक्टुबरसम्म इजरायलमा नयाँ चुनाव हुने अपेक्षा गरिएको छ।

    • Bell Sanchar

    • ७ असार २०७९, मंगलवार

इजरायलमा नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार ढलेको छ।

प्रधानमन्त्री बेनेटले सोमबार टेलिभिजनबाट सम्बोधन गर्दै आफूहरूले सरकार जोगाउन नसकेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ।

एक वर्षअघि बेनेटले आठ दल सम्मिलित गठबन्धनको सरकार बनाएका थिए।

राजनीति विचार र नीति तथा कार्यक्रम नमिल्ने दलहरूबीच विभिन्न विषयमा मतभेद रहँदै आएको थियो। पछिल्लो समय गठबन्धनका दुई जना सांसद विपक्षी गठबन्धनमा गएका थिए भने केहीले सरकारले ल्याएका विधेयकका पक्षमा मत हालेका थिएनन्।

सरकार चलाउन कठिन भएपछि बेनेटले संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका हुन्। न्युयोर्क टाइम्सका अनुसार अर्को साता इजरायलको संसदले आफैंलाई विघटन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसपछि अहिलेका विदेश मन्त्री याइर लापिड कामचलाउ प्रधानमन्त्री बन्नेछन्।

आगामी अक्टुबरसम्म इजरायलमा नयाँ चुनाव हुने अपेक्षा गरिएको छ।

सन् २०१९ यता इजरायलमा चार पटक संसदीय चुनाव भइसकेको छ। चुनावबाट कुनै पनि दलले बहुमत ल्याउन नसक्ने र गठबन्धनले बजेट पारित गर्नेलगायत अत्यावश्यक काम गर्न नसक्ने भएपछि इजरायलमा पटक-पटक चुनाव भएको थियो।

पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुले १२ वर्ष इजरायलको शासन चलाएका थिए।

पछिल्लो समय उनीमाथि भ्रष्टाचारको मुद्दामा छानबिन भइरहेको छ। लामो समय सत्तामा बसेका र भ्रष्टाचारको मुद्दामा छानबिन हुँदा पनि सरकार नछोडेपछि उनलाई सत्ताबाट निकाल्न गत वर्ष राजनीतिक विचार नमिले पनि विपक्षीहरूले गठबन्धन गरेर संसदमा बहुमत पुर्‍याएका थिए।

अहिलेको गठबन्धन बन्दा नै धेरैले यो लामो समय नटिक्ने अनुमान गरेका थिए। अहिलेका सर्वेक्षणहरूले आगामी चुनावमा पनि नेतन्याहुको लिकुड पार्टीले सबैभन्दा धेरै सिट जित्ने देखाएका छन्।

साताकाे चर्चित
सम्बन्धित