मुख्यमन्त्री राउत ,पहुँच नहुनेले कोरोना विरूद्धको खोप लगाउन पाएनन्
मुख्यमन्त्री राउत ,पहुँच नहुनेले कोरोना विरूद्धको खोप लगाउन पाएनन्

पहुँच भएका व्यक्तिहरूले मात्र खोप पाएको उनको भनाइ छ।

    • Bell Sanchar

    • ७ असार २०७९, मंगलवार

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गाउँका मानिस कोरोना भाइरस (कोभिड–१९) विरूद्धको खोपबाट बञ्चित भएको बताएका छन्।

पहुँच भएका व्यक्तिहरूले मात्र खोप पाएको उनको भनाइ छ।

अस्ट्रेलियाली सरकारको आर्थिक सहयोग तथा आड्रा नेपालको प्राविधिक सहयोग तथा बागमती सेवा समाजको सहजीकरणमा प्रदेशको आठ वटै जिल्लामा कोभिड–१९ विरूद्धको खोप सुदृढीकरणका जारी घुम्ती खोप सेवाको निरन्तरता दिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।

‘साँच्चिकै भन्ने हो भने जसको पहुँच थियो, नजिकका थिए उनैले खोप लगाउन पाए। जो गाउँ समाजमा बस्छन्। अहिले पनि खोप भन्दा बाहिर छन्। वास्तविकता यहीँ हो,’ उनले भने।

खोपको पहुँच बढाउन सञ्चालित यो परियोजनाको कामलाई मुख्यमन्त्री राउतले प्रशंसा गरे।

परियोजना अन्तर्गत गर्भवती, सुत्केरी, जेष्ठ नागरिक तथा बिरामीहरूलाई घर–घरमै गएर खोप लगाइँदैछ।

बालबालिकालाई पनि अगामी दिनमा यस्तै घुम्ती सेवा सञ्चालन गर्नुपर्ने मुख्यमन्त्री राउतले बताए।

बञ्चित भएका १ लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउने परियोजनाको लक्ष्य रहेको बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिए।

हालसम्म चार जिल्लाका ३८ हजार बढी व्यक्तिलाई खोप लगाइएको र बाँकी चार जिल्लामा आजैदेखि खोप सेवा सुरू गरिएको उनले बताए।

साताकाे चर्चित
सम्बन्धित