केपी शर्मा ओली ,कुनै देशले आफ्नो भू-भाग चाहियो भन्नु अर्घेल्याइँ होइन
केपी शर्मा ओली ,कुनै देशले आफ्नो भू-भाग चाहियो भन्नु अर्घेल्याइँ होइन

त्यसकारण सम्बन्धमा समस्या छन् भने ती समस्या समाधान गर्नुपर्ने उनले बताए।

    • Bell Sanchar

    • ७ असार २०७९, मंगलवार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू-भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पारेका छन्।

अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू-भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको प्रष्टयाएका हुन्।

मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौंमा आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताए।

अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरूको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्चस्तरीय वार्ताको क्रममा पटक/पटक राखेको पनि स्मरण गराए।

उनले भने,‘हाम्रो छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नु पर्छ। पारस्पारिक सम्मान, पारस्पारिक लाभको आधारमा छिमेक सम्बन्ध बढाउनु पर्दछ। अब छिमेक सम्बन्ध गर्दा समस्या छँदैछन् भने हेपिएको महसुस भइराखेको छ भने वास्तवमा सम्बन्ध सुमधुर हुँदैन, आत्मीय हुँदैन। मित्रतापूर्ण सम्बन्ध हुँदैन। मैले हाम्रा छिमेकीहरूसँग उच्चस्तरमा संवाद गर्दा यी कुराहरू राखे। यदि हाम्रा अलिकति पनि अमिलोपन, चिसोपन रह्यो। भन्न नसक्ने, बोल्न नसक्ने अवस्था रह्यो भने मित्रता कसरी रहन्छ? हामी एक आपसमा बोल्न नसक्ने, भन्न नसक्ने अवस्थामा छौं तर मित्रताका कुरा गर्छौं भने एउटाले दपेट्छ, अर्को दपेटिन्छ भने, भन्न सक्दैन भने त्यहाँ वास्तविक मित्रता कसरी हुन्छ?’

त्यसकारण सम्बन्धमा समस्या छन् भने ती समस्या समाधान गर्नुपर्ने उनले बताए।

अनि त्यसपछि मात्रै वास्तविक मित्रता हुन्छ। र, एक्काइसौं शताब्दीमा हामीले समस्याहरू भन्न नसकेर, बोल्न नसकेर वा सरकारमा बस्नेहरूले आफ्ना सत्ता स्वार्थहरूलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितहरूको प्रश्नमा सौदावाजी गर्नु हुन्न। राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ। खुलस्त पनि हुनुपर्छ। भन्न खोजेका कुरा नबुझिने गरी प्रस्तुत भएर के हुन्छ? हामीले मानेका सन्धि, सम्झौताले तय गरेका सीमालाई हामीले मानेर र यदि हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि एक सय ४६ वर्ष हामीले भोगचलन गरेको भू-भाग हो। एक सय ४६ वर्ष हामीले भोगचलन गर्‍यौं। त्यसपछि एउटा समय सन्दर्भमा हाम्रो कालापानीमा भारतीय फौज आएर बस्यो। र साठी वर्षदेखि त्यहाँ छ’, उनले भने।

कालापानीमा भारतीय फौज भएको हुनाले उता लिपुलेक र कालापानीमा प्रवेशै गर्न नपाएको भन्दै उनले भने,‘मैले अहिले भनिनँ भने पनि  अलि पछि नेपालीले भन्ने छन्। भन्छन्, भन्छन्, भन्नैपर्छ। र, यस्तो समस्या सुगौली सन्धि सो सबैको मानेको छ। यसबाट प्राप्त गरेको भू-भाग हो यो। यसमा हामीले अर्घेल्याइँ गर्‍यौं कि भन्ने ठान्नुपर्ने कुनै आवश्यक्ता छैन। अनि कहिल्यै पनि उठाउने, कसैले पनि नबोल्ने अनि हाम्रौ भौगोलिक अखण्डता, हाम्रो सीमासम्बन्धी प्रश्न, हाम्रो सीमा यो हो। छलफल गरौं र यसलाई टुंग्याऔं। यो हाम्रो भू-भाग चाहिँ हामीलाई फिर्ता चाहियो भन्ने कुरा कुनै अर्घेल्याइँ होइन।’

‘यो सम्बन्ध बिगार्ने कुरा पनि होइन। यस्ता कुरालाई सल्टयाउनुपर्छ। नेपालमा राजनीतिक खचपच नभएको भए लिम्पियाधुरा, लिपुलेक, कालापानी वा अन्य सीमा सन्दर्भहरू चाहिँ अहिलेसम्म समस्या समाधान भइसक्थ्यो भन्ने मलाई लाग्छ। यो विषयमा मैले खुलस्त छलफल गरेको थिएँ। यो मित्रतालाई सुदृढ गराउनका लागि हो,’ उनले थपे।

अध्यक्ष ओलीले हामीले आफ्नो भूगोल चाहियो भन्नु कुनै राष्ट्रसँगको सम्बन्ध बिगार्नु नरहेको पनि पटक/पटक दोहोर्‍याए।

साताकाे चर्चित
सम्बन्धित