युक्रेनलाई ईयू उम्मेदवारको रूपमा समर्थन गर्ने तयारी
युक्रेनलाई ईयू उम्मेदवारको रूपमा समर्थन गर्ने तयारी

अधिकांश ईयू सदस्य राष्ट्रले युक्रेनको उम्मेदवारीलाई समर्थन गर्न सहमत भएका छन्।

    • Bell Sanchar

    • ९ असार २०७९, बिहीबार

युरोपेली आयोगले सकारात्मक संकेत दिएपछि बिहीबार हुने ब्रसेल्स शिखर सम्मेलनमा युक्रेनलाई युरोपेली युनियन (ईयू) को उम्मेदवारका रूपमा अनुमोदन गर्ने तयारी भएको छ।

युक्रेनले ईयू सदस्यताका लागि रूसी आक्रमण सुरू भएको केही दिनपछि गत फेब्रुअरीमानै आवेदन दिएको थियो। त्यसपछि तीव्र रूपमा प्रक्रियाहरू अघि बढाएको थियो।

बिबिसीका अनुसार ईयूका लागि युक्रेनी राजदूत सेभोलोद जेन्त्सोभले युक्रेनीहरूका लागि ईयूको सदस्यता मनोवैज्ञानिक प्रोत्साहन हुने बताएका छन्।

अधिकांश ईयू सदस्य राष्ट्रले युक्रेनको उम्मेदवारीलाई समर्थन गर्न सहमत भएका छन्।

ईयू सदस्यताका लागि यसअघि युक्रेनसँग भएको वार्तामा न्यायिक र भ्रष्टाचार विरोधी सुधार सुरू गर्नुपर्ने सर्तहरू अघि सारिएका थिए।

यसैबीच ईयूका लागि युक्रेनी राजदूतले देश युद्धमा रहेकाले आफ्नो सम्पूर्ण क्षेत्रमा नियन्त्रणमा नभए पनि केही सुधारहरू हुन सक्ने बताएका छन।

यसिअघिनै पश्चिमी बाल्कन देशहरू अल्बानिया, उत्तरी म्यासेडोनिया, मोन्टेनिग्रो र सर्बिया वर्षौंदेखि ईयू सदस्यताका रूपमा उम्मेदवार छन्।

केही त एक दशकभन्दा बढीदेखि उम्मेदवार रहेका छन्। सन् २०१६ मा उम्मेदवारका लागि आवेदन दिएको बोस्निया एन्ड हर्जगोभिना अझै सफल हुन सकेको छैन।

ईयूका लागि युक्रेनी राजदूतले सदस्यताका लागि आफूहरू लामोसमयसम्म नपर्खने बताएका छन्।

उनले किएभको व्यग्रताले अरू देशहरूका लागि पनि उदाहरण प्रस्तुत गर्न सक्ने जिकिर गरे।

‘हरेक देशको आफ्नो मार्गचित्र छ, बाटो छ। यदि राजनीतिक इच्छाशक्ति अनि साहसी र द्रूत रूपमा सुधार कार्यान्वयन गर्न अगाडि बढ्नका लागि समाज र व्यापार गर्नेहरूको समर्थन छ भने हामीले किन पर्खने?,’ उनले पश्न गरेका छन्।

उम्मेदवारका रूपमा स्वीकार्नु भनेको ईयू सदस्यताका लागि पहिलो आधिकारिक कदम हो।

फ्रान्सले यसै साता युक्रेनलाई युईको सदस्यताका लागि उम्मेदवार दिने विषयमा सहमती जनाएको थियो। युईमा सामेल हुन युक्रेनलाई कति समय लाग्छ यकिनसाथ भन्न नसकिने बिबीसीले जनाएको छ।

 

साताकाे चर्चित
सम्बन्धित