छानबिन कार्यदलमा एकराजले भने- राज्यमन्त्री वलीसँग साढे ६ लाख लिएको थिएँ
छानबिन कार्यदलमा एकराजले भने- राज्यमन्त्री वलीसँग साढे ६ लाख लिएको थिएँ

राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित कार्यदलसमक्ष बस्नेतले सोही विवरण प्रस्तुत गरेका छन्।

    • Bell Sanchar

    • १० असार २०७९, शुक्रबार

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्य तथा परिवार कल्याण मन्त्री विमला वली र वाइसियलका नेता एकराज बस्नेतका बीचमा साढे ६ लाख जतिको लेनदेन भएको खुलेको छ।

राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित कार्यदलसमक्ष बस्नेतले सोही विवरण प्रस्तुत गरेका छन्।

‘मैले उहाँसँग ६ लाख ४० हजार रुपैयाँ पटक/पटक गरी लिएको थिएँ,’ बस्नेतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यो रकम पनि मैले राज्यमन्त्रीज्यूकै आग्रहमा उहाँकै काममा खर्चिएको हो।’

गत बुधबार तुलसीपुरको एक होटलमा कार्यदलका सदस्यले एकराजलाई बोलाएर घटनाको बारेमा जानकारी लिएका थिए। त्यसक्रममा उनले घटना हुँदा आफू घरमा नरहेको तथा काम विशेषले जिल्लाबाहिर रहेको हुँदा वली एकाएक आफ्नो घरभित्र प्रवेश गरी परिवार र बच्चामाथि गरेको व्यवहारका कारण राज्यमन्त्री सजायको भागिदार हुनुपर्ने माग गरेका थिए।

रकमको लेनदेन आफूले गरेको हुँदा त्यसको जिम्मेवारी आफ्नो हुने भन्दै बस्नेतले राज्यमन्त्री वली घरमै गएर परिवार र छोरीमाथि भएको अभद्र व्यवहारको आपत्ति जनाए।

‘राज्य मन्त्रीज्यूसँग फोन सम्पर्कमा मैले दिनुपर्ने रकम हिसाब गरी घर आएपछि मिलाउँछु भनेको थिएँ,’ एकराजको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,  ‘तर, उहाँले मेरो विश्वास नै नगरी घरमै गएर उपद्रो मच्चाउनु कति जायज कुरा हो!’

कारबाही भए पनि आफूमाथि भए जायज मान्न सकिने भन्दै एकराजले राज्यमन्त्री वलीले  मर्यादा भुलेर किन परिवार र बच्चालाई अभद्र व्यवहार गरेको भनेर उल्टै कार्यदलका पदाधिकारीहरूलाई प्रश्न सोधेका थिए।

उनीहरूबीच लेनदेनको विषयमा मात्र कुराकानी भएको थियो।

राज्यमन्त्री वलीले भने बस्नेतले आफूबाट झन्डै ३५ लाख जति पैसा सापटी लगेको र माग्दा नदिएको भन्ने कुरा चर्चामा छ। तर,  राज्यमन्त्री वलीनिकट एक व्यक्तिले पनि एकराजले वलीसँग जम्मा साढे ६ लाख जति मात्र लिएको बुझिएको बताए।

उनले भने, ‘उहाँ (वली) सँग मैले केही दिन पहिलेमात्रै एकराजले कति रकम लगेका हुन् भनेर सोधेको थिएँ र त्यसक्रममा राज्यमन्त्री वलीले जम्मा साढे ६ लाख मात्रै रकम लगेको बताउनु भएको हो।’

पछिल्लो समय राज्यमन्त्री वलीले आफूले सापटी दिएको पैसा पटक/पटक माग्दा पनि नदिएको हुँदा बाध्य भएर पैसा माग्न घरै जानु परेको र आफूलाई त्यहाँ षड्यन्त्रपूर्वक फसाउन खोजिएको दाबी गर्दै आएकी छन्।

यद्यपि उनीहरूबीचको प्रेम प्रसंग पनि चर्चाको विषय बन्दै आएको छ।

राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित आयोगको टोली तुलसीपुरमा आएर सरोकारवालाहरूसँग छलफलपछि बिहीबार फर्किएको थियो।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको उक्त टोली गत मंगलबार दाङको तुलसीपुर आएको थियो।

जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई उनकी श्रीमती मीना र साढे ३ वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन्। घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन्।

उक्त टोली आएर घटनाबारे पीडित पक्ष र प्रहरी अधिकारीसँग सोधपुछ तथा छलफल गरी फर्किएको मन्त्री शर्माले जानकारी दिएका थिए। यो टोलीले घटनाको बारेमा प्रहरी र पीडितको घरमै पुगेर सोधपुछ तथा जानकारी लिएको थियो।

आफूहरूलाई दिएको समय सीमाभित्रै सकभर प्रतिवेदन प्रदेश सरकारलाई बुझाउने मन्त्री शर्माले जानकारी दिए।

अबको ५/६ दिन भित्रमा प्रतिवेदन सार्वजनिक भइसक्ने उनले जानकारी दिए।

मन्त्री शर्मासहित नेतृत्वको छानबिन कार्यदल बुधबार दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर घटनाबारे जानकारी लिएपछि पीडित मीना भण्डारी बस्नेतको घरमा पुगेको थियो।

राज्यमन्त्री वलीमाथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि घरभित्र पसेर कुटपिट र दुर्व्यवहार गर्नुका साथै लत्ताकपडा फाल्ने जस्ता हर्कतहरू गरेको घटनालगत्तै मीनाले बताएकी थिइन्।

राज्यमन्त्री वली उत्तरकुमार वलीकी श्रीमती हुन्। उत्तर २०७४ सालमा नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका थिए।

२०७५ माघमा वलीले हाँकेको कारलाई लमही–घोराही सडक खण्डमा बसले ठक्कर दिएपछि गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको थियो। त्यसपछि रिक्त रहेको ठाउँमा २०७६ मंसिरमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले उत्तरकी श्रीमती विमलालाई उम्मेदवार बनाएको थियो। उनी निर्वाचित भएपछि दल रोज्ने क्रममा नेकपा माओवादी केन्द्र रोजेकी थिइन्।

यी नै वलीका कारण कुनै दिन नेकपा एमालेका महासचिव मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो भने अहिलेका नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) मुख्यमन्त्री बनेका थिए ।

साताकाे चर्चित
सम्बन्धित