पाँच युवाले बनाए सवारी दुर्घटना हुँदा तुरून्तै जानकारी दिने प्रविधि

गाडीमा एकदमै ठूलो कम्पन आउँदा पनि यसले सम्बन्धित धनी वा नजिकैको प्रहरी चौकी वा आफन्तहरूलाई जानकारी दिन्छ। 

    • Bell Sanchar

    • १३ असार २०७९, सोमबार

पाँच जना नेपाली युवाको टिमले सवारी दुर्घटनाको जानकारी दिने सफ्टवेयर ‘भेहिकल एक्सिडेन्ट अलर्ट एन्ड ट्र्याकिङ सिस्टम’ बनाएका छन्।

उनीहरूसँग चालक निदायो भने स्वचालित ढंगले ब्रेक लाग्ने प्रविधि पनि छ। अर्को प्रविधि पनि छ जसले अटोरिक्सामा ब्याट्री चोरी हुन लाग्यो भने त्यसको सूचना दिन्छ। अर्को एउटाले सवारी गुडिरहेको ठाउँ र गति जानकारी दिन्छ।

यो टिमको नेतृत्व गरेका छन् कैलालीको धनगढीका इलेक्ट्रिकल इञ्जिनियर सुमन पौडेलले। टिममा विवेक पौडेल, रवि थापा, सुजन पौडेल, भूपाल खतिवडा र स्मृति कट्टेल छन्।

सुमन भन्छन्, ‘गाडी दुर्घटना भयो भने यो प्रणालीले तुरून्तै जानकारी दिन्छ। यसो हुँदा चाँडो उद्धार गर्न मद्दत पुग्छ।’

गाडीमा एकदमै ठूलो कम्पन आउँदा पनि यसले सम्बन्धित धनी वा नजिकैको प्रहरी चौकी वा आफन्तहरूलाई जानकारी दिन्छ।

यस्तो जानकारी दिन सवारी साधनमा एउटा र सवारी धनीले रोजेको उपयुक्त स्थानमा त्यस्तै अर्को उपकरण जडान गरिएको हुन्छ। उपकरण जहाँ जडान गरिएको छ त्यहीँ साइरन बज्छ। उनका अनुसार उक्त उपकरणले गाडीले बल्ड्याङ खायो अथवा ठूलो झड्का लाग्यो भने घटनास्थलसहितको जानकारी तुरून्तै दिन्छ।

झड्का मात्रै लाग्दा पनि दुर्घटनामा परेको सूचना उपकरणले दिन्छ। दुर्घटना भएको होइन भने चालकले एउटा बटन दबाउने विकल्प छ। बटन दबाएपछि साइरन बज्दैन।

‘नेपालमा सवारी दुर्घटना धेरै हुन्छ तर कुन स्थानमा दुर्घटना भयो भनेर तत्काल जानकारी नहुँदा समस्या पर्छ। समयमा दुर्घटनास्थल पत्ता नलाग्दा ठूलो मानवीय क्षति हुने गरेको छ,’ सुमन भन्छन्, ‘घाइतेहरू अचेत अवस्थामा हुन्छन्, तुरून्तै खबर गर्न सक्दैनन्। यो प्रणालीबाट सहजै खबर जान्छ।’

सुमन पौडेल

गाडी पल्टेको कसैले देखिहाले पनि कहाँ खबर गर्ने भनेर अलमल हुने हुँदा यो प्रणाली उपयुक्त हुने उनको भनाइ छ। दुर्घटना भएको करिब १० सेकेन्डभित्रै सम्बन्धित व्यक्तिसम्म खबर पुग्ने उनी बताउँछन्।

सवारी दुर्घटना अत्यधिक भइरहेका कारण आफूहरूले यो प्रणाली विकास गरेको सुमनको भनाइ छ।

उनले भने, ‘म विगत १० वर्षदेखि यो क्षेत्रमा अध्ययन–अनुसन्धान गरिरहेको छु। सडक दुर्घटना न्यूनीकरणमा मद्दत गर्ने मेरो उद्देश्य हो।’

सुमन लामो समयदेखि सवारी प्रविधिमा अनुसन्धान गरिरहेका छन्। सडक दुर्घटनाका समाचार दिनदिनै सुन्नु परेकाले दुर्घटनाको खबर तुरून्तै पुग्ने प्रविधि विकास गर्ने सोच आएको उनले बताए। दुर्घटना न्यूनीकरण गर्ने विषयमा आफूले काम गरिरहेको सुमनको भनाइ छ। यसअघि २०७१ सालमा चालक निदायो भने स्वतः ब्रेक लाग्ने प्रणाली विकास गरेको उनको भनाइ छ।

उनले भने, ‘चालक निदाएर पनि सवारी दुर्घटना भएका छन्। सोही अवस्था ध्यानमा राखेर अटो ब्रेक सिस्टम तयार गरेको हुँ।’

उनका अनुसार यो प्रविधि २०७२ सालमा विज्ञान तथा प्रविधि मन्त्रालयको गाडीमा समेत परीक्षणका लागि जोडिएको थियो। त्यसपछि मन्त्रालयबाट कुनै पनि प्रतिक्रिया नआएको उनले बताए। आफूले विकास गरेका यस्ता प्रविधिहरू सरकारको सहयोग नपाएका कारण उपयोगमा आउन नसकेको सुमनको भनाइ छ। उनी यसमा दुःखी छन्।

भन्छन्, ‘आफूसँग राजनीतिक पहुँच नहुँदा पछि परिएको हो कि जस्तो लाग्छ। समन्वय हुन सकेको छैन।’

करिब चार वर्षअघि आफूले काठमाडौं नगर विकास समितिसँग समन्वय गर्न खोज्दा पनि नपत्याएको उनको गुनासो छ। आफूले विकास गरेको प्रविधिबारे जानकारी दिन दस मिनेटको कार्यक्रम राख्न दिनुहोस् भन्दा पनि बेवास्ता गरेको उनले बताए।

सरकारको सहयोग पाए सुरुमा सुदूरपश्चिमको यातायात स्मार्ट बनाउने र त्यसपछि केन्द्र सरकारसँग समन्वय गर्ने योजना उनको छ।

हाल सवारी दुर्घटनाको जानकारी दिने प्रविधि प्रयोग गर्ने ग्राहकहरू बढ्दै गएको सुमनले बताए। उनलाई चाँडै सरकारको सहयोग पाउने अपेक्षा छ। उनले भने, ‘अझै मेहनत गर्छौं, आउटपुट देखाइसकेपछि सरकारले सहजीकरण गरिदिन्छ कि भन्ने आश छ।’

सुमनका अनुसार हाल यो प्रविधि १० वटा मोटरसाइकलमा जडान गरिएको छ। हालसम्म ती मोटरसाइकल दुर्घटनामा परेका छैनन्। मोटरसाइकल आफैं पल्टाएर परीक्षण गर्दा सफल भएको उनले बताए।

यस प्रविधिमा करिब सय ग्रामको मेसिन मोटरसाइकलमा राखिन्छ। यो मेसिन मोटरसाइकलको हेडलाइट वा ब्याट्री भएको ठाउँमा जडान गर्न सकिन्छ। दुर्घटना भएको थाहा पाउने उपकरण सम्बन्धित ठाउँ अथवा व्यक्तिसँग पनि राखिन्छ। अन्य सवारी साधनमा पनि प्रयोग गर्न सकिन्छ। यो प्रविधिबाट तीनपांग्रे सवारी साधनमा ब्याट्री चोरी भएको पनि थाहा पाउन सकिने उनले बताए।

कसैले ब्याट्री चोरी गर्न लाग्यो भने साइरन बज्छ। अनि सवारी धनीले थाहा पाउँछ। पछिल्लो समय अटोरिक्साको ब्याट्री चोरी हुने क्रम बढेकाले यसमा प्रयोग गर्न सकिने उनले बताए। सुदूरपश्चिमका अटोरिक्सा धनीहरूले यो प्रविधि जडान गर्न सुरू गरेका उनले जानकारी दिए।

‘ब्याट्री चोरी हुन लागेको संकेत आउँछ। त्यसो गर्दागर्दै पनि चोरी भइहाल्यो भने नयाँ ब्याट्री दिन्छौं। हामीले ब्याट्री बीमा सुविधा पनि सुरू गरेका छौं। सवारी धनीले नै बेइमान गरेको शंका भएमा बीमा कम्पनीले छानबिन गर्छ,’ उनले भने।

उनीसहितको टिमले अरू प्रविधिमा पनि काम गरिरहेको छ। टिमले यो प्रणालीसँगै जिपिएस प्रणाली विकास गरेको छ। यो प्रणाली नेपालमा प्रयोग भइरहेको छ तर विदेशी सफ्टवेयर किन्नु पर्छ।

सुमन भन्छन्, ‘हामीले नेपालमै सफ्टवेयर विकास गरेका छौं। यो सफ्टवेयर सवारीमा प्रयोग गर्न सकिन्छ।’

यो प्रणालीबाट सवारी कुन ठाउँमा कति गतिमा गुडिरहेको छ, कहाँ कति बेर रोकियो इत्यादि जानकारी मोबाइल फोनमै प्राप्त हुन्छ। यस्तो सफ्टवेयर तयार गरेर बिक्री गर्न थालेको उनले बताए।

‘अहिले जिपिएस प्रणाली सुदूरपश्चिमको विद्यालयका सवारीका लागि दिएका छौं,’ सुमनले भने, ‘विद्यालयको गाडीमा यो प्रणाली जोड्दा अभिभावकहरूले आफ्ना बालबच्चाको गाडी कहाँ पुग्यो भनेर जानकारी लिन सक्नुहुन्छ। स्कुलको व्यवस्थापनलाई पनि गाडी कहाँ गुड्दैछ भन्ने थाहा हुन्छ।’

उनका अनुसार बसको अवस्थिति थाहा हुने भएकाले बाटोमा धेरै बेर कुर्नु पर्दैन। उनी भन्छन्, ‘यो प्रविधि राखेपछि गाडी कहाँ छ भन्ने थाहा हुन्छ। बच्चा पुर्‍याउन र लिन जान ठिक समयमा निस्कन सकिन्छ।’

आफ्नो टिमले विकास गरेको गरेको प्रणालीबाट धेरै फाइदा हुने सुमनको भनाइ छ। विद्यालयको बसमा मात्रै नभई सार्वजनिक सवारीमा पनि यस्तो प्रविधि जडान गर्न सकिन्छ। उनको टिमले सुदूरपश्चिम प्रदेशबाट लामो दूरीमा चल्ने सार्वजनिक बसमा यो प्रणाली निःशुल्क जडान गर्न थालेका छन्। सुदूरपश्चिमबाट काठमाडौं, विराटनगर, वीरगन्जलगायत लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा जडान गरिएको उनले बताए। यो प्रणाली मालबाहक गाडीका लागि पनि उपयुक्त हुने सुमनको भनाइ छ।

‘धनगढीबाट काठमाडौं हिँडेको ढुवानी गाडी बीच बाटोमा पुगेर खाली हुन सक्छ। कोही मानिसलाई सामान पठाउन परेको हुन सक्छ,’ उनी भन्छन्, ‘यो प्रणाली जडान छ भने गाडी खाली भएको थाहा हुन्छ। यसबाट दुवै पक्षलाई फाइदा हुन्छ।’

यससम्बन्धी जिपिएस एप डाउनलोड गरेर प्रविधि उपयोग गर्न सकिन्छ।

चक्कामा हावा कति छ भनेर पनि हेर्न सकिने सुमनले बताए। जिपिएससँगै फ्लीट म्यानेजमेन्ट सिस्टम जोडेर मालबाहक सवारीको भार पनि पत्ता लगाउन सकिन्छ।

सवारी सम्बन्धी आफ्नो टिमले तयार गरेका सबै प्रणाली सरल र सस्तो रहेको सुमनको दाबी छ। पाँच हजार रूपैयाँ धरौटी राखेर जिपिएस प्रणाली जडान गर्न सकिन्छ। मासिक तिर्ने हो भने पाँच सय रूपैयाँ लाग्छ। सवारी दुर्घटना हुँदा जानकारी दिने प्रणाली राख्न एकमुष्ठ ३० हजार रूपैयाँ लाग्छ। मासिक तिर्ने हो भने एक वर्षसम्म दुई हजारका दरले शुल्क लाग्ने उनले बताए।

आफ्नो टिमले विकास गरेका प्रविधि प्रयोगकर्ता तीन सय जति रहेको सुमनले बताए। सुमनले चल्ला कोरल्ने मेसिन, सेनिटरी प्याड भेन्डिङ मेसिन लगायत अरू प्रविधि पनि विकास गरेका छन्।

युवाहरूले विकास गरेका यस्ता प्रविधि सरकारको आधिकारिक निकायबाट परीक्षण गर्नु पर्छ। उपयुक्त देखिए व्यावसायिक उत्पादन गरेर प्रयोग बढाउन सकिन्छ।

सेतोपाटी

Nabintech
साताकाे चर्चित
सम्बन्धित