बिग्रेका कम्युनिष्ट सडेको अन्डाजस्तै गन्धा हुन्छन्: अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
बिग्रेका कम्युनिष्ट सडेको अन्डाजस्तै गन्धा हुन्छन्: अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

नेपालका सबै कम्युनिष्टलाई मिलाउन खोजे पनि सफल नभएको उनको भनाइ थियो।

    • Bell Sanchar

    • १३ असार २०७९, सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिग्रेका कम्युनिष्टहरू सडेको अन्डाजस्तै गन्धा हुने टिप्पणी गरेका छन्।

नेपालका सबै कम्युनिष्टलाई मिलाउन खोजे पनि सफल नभएको उनको भनाइ थियो।

कम्युनिष्टहरू राम्रा र धैर्यपूर्वक विश्लेषण गर्न सक्ने हुने पनि उनले बताए। तर विग्रेपछि भने सडेको अन्डाजस्तो गन्धा हुने प्रचण्डको भनाइ थियो।

‘कम्युनिष्टहरू राम्रा हुन्छन्। धैर्यतापूर्वक विश्लेषण गर्छन्। तर विग्रेपछि कम्युनिष्टजति नराम्रा कोही पनि हुन्नन्, सबैभन्दा नराम्रा कम्युनिष्ट हुन्छन्,’ ललितपुरमा आज आयोजित नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै प्रचण्डले भने, ‘अण्डा धेरै फाइदाजनक चिज हो। सड्यो भने त्यो जति गन्धा केही पनि हुँदैन।’

उनले कार्यक्रममा सहभागी रहेका एमालेका महासचिव शंकर पोखरेलले उठाएका प्रश्नप्रति पनि जवाफ दिएका थिए।

‘एसपिपी ओली सरकारले ल्याएको हो यसको जिम्मा उनैले लिनुपर्छ,’ उनले भने, ‘एसपिपी केपी ओलीका पालामा आएको प्रमाण पेश गर्न एमालेका एक नेताले संसदमा चुनौती दिएका थिए। उनले चुनौती दिएको चार घन्टाभित्रै प्रमाण आइदियो।’

उनले कम्युनिष्टहरू विग्रेपछि क्रान्ति बरबाद हुने पनि बताएका थिए। साथै उनले एमाले महासचिव पोखरेललाई लक्षित गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भ्रष्टाचार बढेको बताएका थिए।

‘शंकर पोखरेलजीलाई सुनाउन मन थियो- कति धेरै भ्रष्टाचार भयो तपाईंहरूका पालामा?,’ प्रचण्डले भने, ‘शोधनान्तर घाटाको प्रणेता केपी ओली र युवराज खतिवडा हुन्।’

प्रचण्डअघि बोलेका एमाले महासचिव पोखरेलले शोधनान्तर घाटा बढिरहेकोले गठबन्धन सरकारले जवाफ खोज्नुपर्ने बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित