हिलाम्मे सडकमा धान रोपाइँ  
हिलाम्मे सडकमा धान रोपाइँ  

मूल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयनले गत वैशाखदेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।    

    • Bell Sanchar

    • १४ असार २०७९, मंगलवार

म्याग्दी
म्याग्दीको मङ्गला गाउँपालिका–२ नयाँबजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे भएको सडकमा धान रोपाइँ गरेका छन् । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डमा पर्ने रणवाङदेखि दुखुखोलासम्मको सडक हिलाम्मे छ । नयाँबजारका बासिन्दा श्रीराम पौडेलले सडक अलपत्र बनाउने निर्माण व्यवसायीलाई दबाब र सरोकारवालाहरूको ध्यानाकर्षण गराउन सडकमा रोपाइँ गरिएको बताउनुभयो ।

“अधुरो र अधकल्चो सडकमा हिलाम्मे, पानीका पोखरी जमेर आवतजावतमा सास्तीका साथै दुर्घटनाको जोखिम बढेको छ,” उहाँले भन्नुभयो, “निर्माण र मर्मतका लागि कसैले वास्ता नगरेपछि बाध्य भएर सडकमै रोपाइँ गरिएको हो ।” रणवाङ, नयाँबजार र सहश्रधाराका २० जनाभन्दा बढीले सडकमा सामूहिक धान रोपेर विरोध जनाएका हुन् ।

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी तीन महिनादेखि सम्पर्कविहीन बनेका छन् ।

विसं २०७८ वैशाखदेखि मङ्सिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन बिल्डर्सलाई सहायक ठेकेदारका रुपमा गत पुसमा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मूल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयनले गत वैशाखदेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा–क्याराभानका प्रतिनिधिले काम सञ्चालन नगरेको बताउनुभयो । “निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छाँै,” उहाँले भन्नुभयो, “मन्त्रालयमा जानकारी गराएर बिरुवा–काराभानको जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।”

विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा सकिनुपर्ने थियो । विसं २०७८ चैतसम्म थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागिसमेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सहायक ठेकेदारले रणवाङ र रातोढुङ्गा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो, हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको मङ्गला गाउँपालिका–२ का जीवन कार्कीले बताउनुभयो ।

सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ्ग अवस्थामा रहेको सडकमा सवारी साधन सञ्चालन गर्न गाह्रो भएको यातायात व्यवसायी शक्ति छिनालले बताउनुभयो । बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले बर्खापछि सडक निर्माणलाई तीव्र गति दिने बताउनुभयो ।

बेनी–दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीनवटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ । लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर दूरीको बेनीदेखि सिम खण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।

सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । विसं २०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।
–––

साताकाे चर्चित
सम्बन्धित