आफ्नै दुनियाँमा हराउने एलन मस्क कसरी बने संसारकै धनी?
आफ्नै दुनियाँमा हराउने एलन मस्क कसरी बने संसारकै धनी?

यो एसली भ्यान्सद्वारा लिखित किताबको पहिलो पृष्ठमा उल्लिखित शब्दावली हो।

    • Bell Sanchar

    • १४ असार २०७९, मंगलवार

‘म पागल हुँ भन्ने लाग्छ?’ लेदरको ज्याकेट, डिजाइनर जिन्स र कोठे सर्टमा ठाँटिएका उनले सोधे।

छ फुट अग्ला उनी धेरै नै डँडाक देखिन्छन्। उनको काँध चौडा र मोटो छ। कुनै कोठामा छिरे भने उनको ज्यानको बान्कीले नै सबैको ध्यान तान्छ।

तर टाउको एकातिर बंग्याएर हिँड्ने बानीले होला, उनी लजाएजस्ता, धकाएजस्ता देखिन्छन्।

यो एसली भ्यान्सद्वारा लिखित किताबको पहिलो पृष्ठमा उल्लिखित शब्दावली हो।

सन् २०१५ मेमा प्रकाशित एसलीको यो किताब सबभन्दा धेरै चर्चामा आउने खर्बपतिको जीवनमा आधारित छ।

यी खर्बपतिलाई धनी व्यक्तिहरूको सूची सार्वजनिक गर्दै आएको ‘फोर्ब्स’ ले संसारकै धनी व्यक्ति घोषणा गरेको छ। आर्थिक तथा वित्तीय क्षेत्र विश्लेषण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘ब्लुमबर्ग’ को सूचीमा पनि उनी संसारकै धनी व्यक्ति बनेका छन्। सूचीअनुसार उनको सम्पत्ति दुई खर्ब ३५ अर्ब अमेरिकी डलर छ।

हामी कुरा गर्दैछौं एलन मस्कको।

आज उनको जन्मदिन हो। सन् १९७१ जुन २८ मा जन्मेका उनी ५१ वर्ष लागे।

तपाईंहरू ट्विटरमा सक्रिय हुनुहुन्छ, प्रविधिमा रूचि राख्नुहुन्छ वा संसारका धनाढ्यहरूलाई पछ्याउनुहुन्छ भने एलन मस्कलाई चिनिहाल्नुभयो। मनलाग्दी ट्विट गरेर बेलाबेला विवादमा आउने उनले केही समयअघि ट्विटरको सेयर किने। त्यसपछि उनको चर्चा झनै चुलियो।

आज जन्मदिनको अवसरमा हामी उनै धनाढ्य र बेपरवाह एलनको जीवनका केही पाटा यहाँ खुलाउँदै छौं।

एलनलाई चिनाउने पहिलो कम्पनी ‘स्पेस-एक्स’ हो। यसले रकेट बनाउँछ। तर आममानिसका लागि उनको सबभन्दा ठूलो पहिचान हो टेस्ला जसले बिजुलीबाट चल्ने कार बनाउँछ।

अत्याधुनिक बिजुली कार धेरैको चासोको विषय हो। त्यसैले एलन र टेस्ला एकअर्काका पर्याय हुन्।

टेस्ला संसारकै धनी कम्पनीमध्ये पर्छ। हाल यो कम्पनीको सम्पत्ति सात खर्ब ३५ अर्ब डलर छ। सार्वजनिक कम्पनी भएको एघार वर्षमा, पोहोर टेस्ला दस खर्ब डलरको हुँदै ‘ट्रिलियन डलर’ कम्पनी बनेको थियो। यसअघि यत्तिको सम्पत्ति पुर्‍याउने सार्वजनिक कम्पनीहरू एप्पल, अमेजन, फेसबुक र गुगल हुन्।

अन्तर्राष्ट्रिय वित्तीय विश्लेषकहरूले एलन मस्कको व्यक्तिगत सम्पत्ति नै १० खर्ब डलर पुग्ने अनुमान गरेका छन्। त्यस्तो भए उनी संसारकै पहिलो ट्रिलेनियर बन्नेछन्। त्यसतर्फ उनको यात्रा तीव्र गतिमा अघि बढ्दैछ।

बिजनेस इनसाइडरले ‘दुई कम्पनीका सिइओ कसरी केटाकेटीमा ‘बुली’ (हेप्ने व्यवहार) सामना गर्दै प्रविधि क्षेत्रमा सबभन्दा सफल र विवादित व्यक्ति बने’ भनेर उनका बारेमा लामो फिचर गरेको थियो।

इनसाइडरले एलनलाई विवादित भन्नुको मुख्य कारण उनले बेलाबेला दिने अभिव्यक्ति हो। उनी अन्टसन्ट ट्विट गर्न पछि पर्दैनन्। कहिले गाँजाको कुरा गर्छन्, कहिले पूरै सम्पत्ति बेच्ने भन्छन् अनि कहिलेकाहीँ आफ्नै ट्विट हटाउँछन्। यिनै कारणले उनी ट्विटर ट्रेन्डिङमा परिरहेका हुन्छन्।

उनले विभिन्न सञ्चारमाध्यममा बोलेका कुराले उत्तिकै विवाद निम्त्याउने गरेका छन्। उनको विवादित अभिव्यक्तिकै कारण कयौंपटक टेस्लालाई घाटा पनि परेको छ।

केही समयअघि मात्र एलनकी छोरी जेभियर अलेक्जेन्डर मस्कले आफ्ना बुवा एलन मस्कको नामबाट पहिचान नबनाउने भन्दै अदालतमा निवेदन दिएकी थिइन्। उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुबासँग कुनै पनि हिसाबले नाता राख्न नचाहेको बताएकी थिइन्। एलनका सात सन्तानमध्ये १८ वर्षीया जेभियर उनकी पूर्वपत्नी जस्टिन विल्सनकी छोरी हुन्।

तीन दिनअघि अदालते जेभियरलाई नयाँ नाम र लैंगिक पहिचानको अनुमति दिएको अमेरिकी अखबारहरूले लेखेका छन्। उनले आफ्नी आमाको थर लिँदै नाम भिभियान जेना विल्सन राखेकी छन्।

एलनलाई विभिन्न कारणले सबभन्दा धेरै विवादित धनाढ्य पनि भनिन्छ।

कम्पनीका लागि भरपुर दिमाग लगाउने तर नसोची बोलेर विवादमा आउने एलन को हुन्? कसरी उनले अमेरिकामा आफ्नो खर्बौं डलरको साम्राज्य खडा गरे?

सन् १९७१ जुन २८ मा जन्मेका एलनको खास नाम एलन रिभ मस्क हो। उनकी आमा मायी क्यानडाकी हुन्। पेसाले मोडल उनी पाँच वर्षअघि ६९ वर्षको उमेरमा न्यूयोर्क फेसन विकको र्‍याम्पमा हिँडेर फेरि चर्चामा आएकी थिइन्।

पोषणविदसमेत रहेकी मायीले आफ्नो मोडलिङ करिअर १५ वर्ष उमेरमा दक्षिण अफ्रिकाबाट सुरू गरेकी थिइन्। आफ्ना आमाबुवासँग दक्षिण अफ्रिका गएकी मायीको बिहे त्यहीँका इलेक्ट्रोमेकानिकल इञ्जिनियर तथा पाइलट एर्रोल मस्कसँग भएको थियो। एकै टोलमा हुर्केका उनीहरूले प्रेम विवाह गरेका थिए।

उनीहरूका तीन सन्तान भए- छोराहरू एलन र किम्बल र छोरी टोस्का।

दक्षिण अफ्रिकाको प्रेटोरियामै बस्ने मस्क परिवार त्यो बेला धनाढ्यमध्ये पर्थ्यो। प्रेटोरियामा सबभन्दा ठूलो घर उनीहरूकै थियो। तर एलन नौ वर्षका हुँदा उनका आमाबुवा अलग भए।

सुरूमा आमासँगै डर्बन सहरमा बसेका एलन र उनका भाइ किम्बलले दुई वर्षपछि बुवासँग बस्ने निधो गरे।

‘एलन मस्कः हाउ द बिलेनियर सिइओ अफ टेस्ला एन्ड स्पेस-एक्स इज सेपिङ आवर फ्युचर’ किताबका लेखक एसली भ्यान्सका अनुसार एलन सानैदेखि तीक्ष्ण थिए। उनी जे कुरा पनि छिटो टिप्थे। कम्प्युटर र भिडिओ गेमहरूमा उनको अत्यधिक रूचि थियो।

दस वर्षको हुँदा एलनसँग त्यो बेला लाखौं बिक्री भएको सफल कम्प्युटर थियो। उनले कम्प्युटर प्रोग्रामिङ पनि सिके। बाह्र वर्षका हुँदा त उनी आफैंले ‘ब्लास्टर’ नामको भिडिओ गेम बनाए र बेचे। यो अन्तरिक्षमा कुदेर खेल्नुपर्ने भिडिओ गेम थियो।

अन्तरिक्षमा आधारित भिडिओ गेम सार्वजनिक भएपछि एलनको कथा दक्षिण अफ्रिकाको ‘पिसी एन्ड अफिस टेक्नोलोजी’ पत्रिकाले एक पानाभरि छाप्यो। उनले आफूले बनाएको गेम त्यही पत्रिकालाई पाँच सय डलरमा बेचेका थिए। त्यतिखेर कम्प्युटर विज्ञान एकदमै सुरूआती चरणमा भएकाले उनको खेल चम्किन भने सकेन।

‘१२ वर्षे किशोर एलनको दिमाग समयभन्दा निकै तेज गतिमा दौडिन थालिसकेको थियो,’ एसलीले लेखेका छन्।

एसलीका अनुसार एलन लजालू र अन्तर्मुखी थिए। सानैदेखि एकदमै धेरै कल्पनामा रमाउँथे। अन्तरिक्ष र ब्रह्माण्डबारे सोच्थे। किशोरावस्थाको मध्यतिर आइपुग्दा त उनले कल्पना र वास्तविकता छुट्याउनै गाह्रो हुने गरी आफ्नो दिमागमा घोलिसकेका थिए।

‘सायद मैले सानोमा धेरै कमिक्स पढेर होला,’ एलनले आफ्नो यस्तो व्यवहार कसरी विकास भयो भन्नेबारे अनुमान गर्दै एसलीलाई भनेका छन्, ‘कमिक्सहरूमा सधैं संसार बचाउने कुरा हुन्थ्यो। यस्तो लाग्थ्यो, कसैले त संसारलाई राम्रो ठाउँ बनाउनुपर्छ।’

उनी यतिसम्म आफ्नो संसारमा हराउँथे, अरूले बोलाएको समेत सुन्थेनन्। प्रतिक्रिया दिन्थेनन्। एकोहोरो टोलाएजस्ता देखिन्थे। डाक्टरले उनी कान नसुन्ने छन् कि भनेर शंका पनि गरे। उनको स्वास्थ्य जाँचे। सुन्ने क्षमता बढाउन एउटा ग्रन्थी निकालेर फालिदिए। तर त्यसले उनको आनीबानी सुध्रेन।

‘उसको समस्या कानमा होइन,’ एलनकी आमा मायीको भनाइ एसलीको किताबमा उद्धृत छ, ‘ऊ आफ्नो दिमागी संसारमा हराउँछ। अर्कै दुनियाँमा पुग्छ। अहिले पनि त्यसै गर्छ। अचेल उसलाई म यसबारे केही भन्दिनँ। अहिले अब ऊ नयाँ रकेट कि के डिजाइन गर्दैछ।’

सानामा आफ्ना भाइबहिनी अँध्यारोसँग डराउँदा एलन ढुक्क साथ भन्थे रे- अँध्यारो भनेको प्रकाशको अनुपस्थिति मात्र हो।

केटाकेटी बेलादेखि नै एलनको दिमागमा अन्तरिक्ष संसार घुम्ने भए पनि उनी आफ्नै परिवारको उल्झनमा परेका थिए। बुवासँग बसे पनि उनीहरूबीच निकट सम्बन्ध थिएन। एक अन्तर्वार्तामा एलनले आफ्ना बुवाबारे भनेका छन्- ‘एकदमै खराब मान्छे… उनले गरेका कामहरू तपाईंहरूले सोच्न सक्नेसम्मकै खराब थिए।’

बुवासँग बस्ने निर्णय गर्नु आफ्नो सबभन्दा ठूलो भुल भएको उनको भनाइ छ।

एलनले स्कुल पढ्ने बेला आफू बुलीको शिकार भएको पनि बताएका छन्। उनले धेरैपटक कुटाइ खाए। एकपटक त उनलाई केही केटाहरूले भर्‍याङबाट हुत्त्याइदिए। उनी अस्पतालै भर्ना हुनुपरेको थियो।

दक्षिण अफ्रिकाको त्यो बेलाको राजनीतिक परिवेशमा ‘गोरा’ का रूपमा हुर्किँदै गर्दा उनले आफ्नो अस्तित्व संकटमा देख्न थाले। न घरमा उनको कोही ‘आफ्नो’ भयो, न स्कुलमा। त्यसैले पनि होला, उनी कल्पनामै रमाउँथे।

एलन प्रेटोरिया विश्वविद्यालयमा पढ्दापढ्दै क्वीन्स विश्वविद्यालयमा पढ्न भनेर आमा र भाइबहिनीसँगै क्यानडा गए।  उनी त्यति बेला सत्र वर्षका थिए। दुई वर्षपछि अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालय पुगे। त्यहीँबाट उनले अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातक पूरा गरे।

पेन्सिलभेनियामा पढ्दाखेरि नै एलन र उनका साथी मिलेर दस बेडरूमको एउटा घर भाडामा लिए र नाइट क्लब चलाए।

यो उनको व्यावसायिक यात्राको पहिलो कदम थियो।

स्नातक सकेपछि एलन सन् १९९५ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्ने भनेर क्यालिफोर्निया सरे। तर उनले थप पढ्नुभन्दा व्यवसाय गर्ने सोचे।

आफ्नो भविष्य खोज्दै उनले भाइ किम्बलसँग मिलेर वेब सफ्टवेयर कम्पनी ‘जिप२’ खोले।

यो कम्पनी स्थापना गर्न सूचना प्रविधिको सहर मानिने सिलिकन भ्यालीका केही लगानीकर्ताले सहयोग गरेका थिए। यसले द न्यूयोर्क टाइम्स र सिकागो ट्रिब्युन जस्ता अखबारले भर्खर सुरू गरेको अनलाइन संस्करणका लागि सहरसम्बन्धी सामग्रीहरू उपलब्ध गराउँथ्यो।

मस्क दाजुभाइको यो कम्पनी राम्रै चल्यो।

यो स्टार्टअप कम्पनीलाई सन् १९९९ मा सूचना प्रविधि क्षेत्रमा काम गर्ने अमेरिकी कम्पनी कम्प्याकले ३० करोड ७० लाख डलरमा किन्यो। कम्प्याकलाई पनि अहिले एचपी कम्पनीले किनिसकेको छ।

यो कारोबारबाट एलनले २ करोड २० लाख डलर कमाए।

आफ्नो पहिलो कम्पनी बेचेकै साल एलनले एक करोड डलर राखेर अनलाइन बैंकिङ कम्पनी ‘एक्स डटकम’ स्थापना गरे। त्यसको एक वर्षपछि एक्स डटकम सफ्टवेयर कम्पनी ‘कन्फिनिटी’ सँग गाभियो। दुई कम्पनी गाभिएपछि अनलाइन भुक्तानी सेवा सुरू गर्ने ‘पेपल’ जन्मियो।

एलन पेपलका सिइओ भए। उनको यो पद भने लामो समय टिकेन।

उनले पेपलको सर्भर युनिक्स अपरेटिङबाट माइक्रोसफ्ट विन्डोजमा सार्नुपर्छ भनेर सह-संस्थापकलाई दबाब दिएका थिए। यसबारे संस्थापकहरूबीच झगडा पर्‍यो। यसबीच उनी अस्ट्रेलिया घुम्न गएका बेला पेपलको बोर्डले उनलाई पदबाट हटायो र नयाँ सिइओ नियुक्त गर्‍यो।

‘बिदा मनाउन जाँदा समस्या नै यस्तै हुन्छ,’ एलनले आफू पेपलबाट निकालिएको केही वर्षपछि फर्च्युन पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्।

पछि त्यही पेपलले एलनलाई निकै फाइदा दियो। सन् २००२ मा अनलाइन बजार इबेले एक अर्ब पचास करोड डलरमा पेपल किन्यो। त्यो बेला एलन पेपलका सबभन्दा ठूला सेयरधनी थिए। उनले १६ करोड ५० लाख डलर पाए।

पेपलबाट निकालिएपछि एलन हात बाँधेर बसेका थिएनन्। उनी अर्को सपना बुन्दै थिए। त्यही सपनाभित्र मंगल ग्रहमा मुसा वा बिरूवा पठाउने योजना फस्टाएको थियो। त्यसैले पेपलबाट पाएकोमध्ये दस करोड डलर लगानी गरेर उनले ‘स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज’ (स्पेस-एक्स) स्थापना गरे। यो कम्पनीको उद्देश्य अन्तरिक्ष उडानलाई दस गुणा सस्तो बनाउनु थियो।

सुरूआती चरणमा उनले ‘पफ द म्याजिक ड्र्यागन’ गीतबाट प्रेरित नाम ‘ड्र्यागन’ राख्दै अन्तरिक्षयान बनाए। केहीले उनलाई ‘स्पेस-एक्सले कहिल्यै अन्तरिक्षमा यान पठाउन नसक्ने’ भनिदिए।

तर कल्पनाको संसारमा रमाउने एलन अरूका कुरा कहाँ सुन्छन् र!

स्पेस-एक्सको दीर्घकालीन लक्ष्य नै मंगल ग्रहको यात्रा सस्तो बनाउनु हो। उनी यसलाई ‘मार्स कोलोनियल ट्रान्सपोर्टर’ भन्छन्। जबसम्म मंगल ग्रहमा नियमित उडान हुँदैन, तबसम्म स्पेस-एक्सलाई सार्वजनिक कम्पनी नबनाउने उनले बताएका छन्।

अन्तरिक्षको दुनियाँमा भुलिइरहेका एलन धर्तीमा पनि कम व्यस्त छैनन्।

सन् २००४ मा उनी अध्यक्ष र आर्किटेक्टका रूपमा विद्युतीय कार बनाउने कम्पनी टेस्लासँग जोडिए। उनी यसमा सक्रिय भएर लागे र दुई वर्षपछि कम्पनीको पहिलो पूर्ण विद्युतीय कार ‘रोडस्टर’ बनाउन सघाए।

एलन एउटै काममा रमाएर बस्ने खालका होइनन्। टेस्ला चलाउँदै गर्दा सन् २००६ मै उनले सोलारसम्बन्धी काम गर्ने कम्पनी स्थापना गर्न मद्दत गरेका थिए। पछि टेस्लाले नै त्यो कम्पनी किन्यो र अहिले टेस्ला इनर्जीका रूपमा परिचित छ। यसले सोलार ब्याट्रीहरू बनाउँछ।

सन् २००७ सम्म आइपुग्दा एलन टेस्लामा निकै शक्तिशाली भइसकेका थिए। त्यो बेला एलनसँग जोडिनुअघि टेस्लाका सह-संस्थापक मार्टिन एबरहार्ड टेस्लाका सिइओ थिए। एलनले पहिले उनलाई पदबाट हटाए, पछि बोर्ड र कार्यकारीबाट पनि निकाले।

त्यो बेला टेस्ला आर्थिक रूपमा खस्किँदै गएको थियो। उनले व्यक्तिगत रूपमै टेस्लालाई टाट पल्टिनबाट जोगाएका थिए। उनले कम्पनीमा आफैं चार करोड डलर लगानी गरे र थप चार करोड डलर ऋण कम्पनीलाई दिलाए। त्यही वर्ष उनी टेस्लाका सिइओ पनि बने।

तर स्पेस-एक्स, टेस्ला र सोलार सिटी हाँकिरहेका एलन आर्थिक रूपमा निकै भासिए।

टेस्लाले पैसा गुमाइरहेको थियो, स्पेस-एक्सलाई आफ्नो फ्याल्कन-१ रकेट उडाउन समस्या भइरहेको थियो। आफ्नो जीवन धान्न पनि एलन ऋणको सहारा लिइरहेका थिए। त्यसैले सन् २००८ लाई उनी आफ्नो जीवनकै खराब वर्ष भन्छन्।

त्यसै वर्ष क्रिसमसतिर एलनलाई आकाश र धर्ती दुवैतिरबाट शुभ समाचार आयो।

पहिलो, स्पेस-एक्स र नासाबीच अन्तरिक्षमा सामानहरू पठाउन १५ अर्ब डलरको सम्झौता भयो।

दोस्रो, टेस्लाले बाहिरी लगानीकर्ता पायो।

सन् २०१० जुनसम्म आइपुग्दा टेस्लाले सार्वजनिक सेयर जारी गर्‍यो। आइपिओमार्फत् २२ करोड ६० लाख डलर संकलन भयो। सन् १९५६ मा फोर्ड कम्पनीपछि सार्वजनिक सेयर जारी गर्ने कार कम्पनी टेस्ला नै हो।

आर्थिक अवस्था बलियो बनाउन एलनले टेस्लामा रहेको एक करोड ५० लाख डलर बराबर आफ्नो सेयर बेचेका थिए।

सन् २०१५ मा आएर एलनले ‘ओपन-एआइ’ नामक गैरनाफामूलक संस्था स्थापना गरे। यसले मानवमैत्री आर्टिफिसियल इन्टेलिजेन्स प्रवर्द्धन निम्ति अध्ययन तथा अनुसन्धान गर्छ। त्यसै वर्षको अन्त्यसम्म उनको स्पेस-एक्सले विभिन्न कामका लागि २४ वटा रकेट उडाइसकेको थियो।

सन २०१७ मा स्पेस-एक्सको फ्याल्कन-९ यानले पहिलोपटक सफलतापूर्वक समुद्रमा अवतरण गर्‍यो जुन पुनः प्रयोग गर्न मिल्ने रकेट थियो। आजका मितिसम्म स्पेस-एक्सले बनाएको सबभन्दा शक्तिशाली रकेट फ्याल्कन हेभी हो जसले सन् २०१८ मा उडान भर्‍यो। यसमा एलनको रातो टेस्ला रोडस्टर गाडी पनि पठाइएको थियो।

एलनले यो कामसँगै सन् २०१६ मै न्युरालिंक कम्पनी खोलेका थिए। यसले मान्छेको दिमागमा राख्न मिल्ने उपकरण विकास गरिरहेको छ। उच्च गतिमा सवारी कुदाउन सुरूङ निर्माण गर्ने बोरिङ कम्पनी पनि उनले स्थापना गरिसकेका छन्।

एलनको दिमाग तीव्र गतिमा चलिरहन्छ। आफ्नो दिमागको रफ्तारसँग मिल्दोजुल्दो उनको नयाँ काम हो ‘हाइपरलूप’। एलनका अनुसार हाइपरलूप एकदमै तीव्र गतिको रेल हो जुन रित्तो ट्युबजस्तो बाटोमा कुद्छ।

कम्पनी र व्यवसायमा सफल एलनको वैवाहिक जीवन भने असफल मानिन्छ।

सन् २००२ मा उनले क्यानेडियन लेखक जस्टिनसँग बिहे गरेका थिए। उनीहरूका पहिलो छोराको दस सातामै मृत्यु भयो। पछि जुम्ल्याहा र तिम्ल्याहा छोरा भए।

एलन टाट पल्टिन लागेकै वर्ष सन् २००८ मा उनको वैवाहिक जीवन पनि टुंगियो। उनले यो वर्षलाई आफ्नो जीवनकै खराब वर्ष भन्नुमा जस्टिनसँगको सम्बन्धविच्छेद पनि हो।

हालै अदालतमा एलनसँग कुनै नाता नराख्ने भन्दै निवेदन दिएकी जेभियरसहित एलन र जस्टिनका पाँच सन्तान छन्।

जस्टिनसँग अलग भएलगत्तै एलन बेलायती अभिनेत्री तलुला राइलीसँग डेट गर्न थाले र सन् २०१० मा बिहे गरे। दुई वर्ष नहुँदै एलनले आफूहरू अलग भएको सुनाए। सन् २०१३ मा उनीहरूले फेरि बिहे गरे।

उनीहरूको नाटकीय बिहे यतिमा सीमित भएन। अर्को साल अन्त्यतिर उनीहरूले फेरि डिभोर्सका लागि अपिल गरे। त्यो बेला भने एलनले अपिल फिर्ता लिए अनि सन् २०१६ मा आएर बल्ल उनीहरू औपचारिक रूपमा अलग भए।

त्यसपछि एलनको नाम अभिनेत्री एम्बर हर्डसँग जोडियो। भनिन्छ, एम्बर र एलन सन् २०१२ देखि सम्बन्धमा थिए।

सन् २०१७ मा एम्बरका श्रीमान तथा अभिनेता जोनी डेपले सार्वजनिक रूपमै एलनलाई आफ्नी पत्नीसँग ‘अफेयर चलाएको’ आरोप लगाए। त्यो बेला एलन र एम्बर दुवैले यो कुरा नकारे।

त्यसको केही समयपछि एक अन्तर्वार्तामा एलनले एम्बरसँगको बिछोडले गाह्रो बनाएको बताएका थिए।

एलनले जसरी आफ्नो काममा अनेक प्रयोग गरे, उनको प्रेम सम्बन्ध पनि त्यस्तै हुँदै गयो।

सन् २०१८ मा एलन र क्यानेडियन संगीतकार ग्रिम्सले आफूहरू डेट गरिरहेको बताए। दुई वर्षपछि उनीहरू एक छोराका आमाबुवा बने। त्यति बेला पनि एलन आफ्ना छोराको नाम ‘X Æ A-12’ राखेर निकै चर्चामा आए। यो नाममा आधुनिक अंग्रेजी वर्णमालामा भएका अक्षर समावेश नभएकाले क्यालिफोर्नियाको नियमले मानेन। त्यसैले एलनले नाम फेरेर ‘X Æ A-Xii’ राखे। ‘Æ’ अक्षर पनि वर्णमालामा नभएको भनिएपछि आखिरमा आएर उनले छोराको नाम ‘X AE A-XII’ मस्क राखे।

यो नाम कसरी उच्चारण गर्ने भन्दै धेरैले उनको मजाक उडाएको पाइन्छ।

सात सन्तानका बाबु बनिसकेका ५१ वर्षीय एलन अझै पनि व्यक्तिगत सम्बन्धमा स्थिर छैनन्। गत सेप्टेम्बरमा मात्र उनले ग्रिम्ससँग आंशिक रूपमा छुटेको बताए। तर आफूहरूबीच राम्रो समझदारी र माया कायम रहेको उनले बताएका थिए।

एलन खासमा कुनै एक कुरामा अडिएर बस्न नसक्ने, एउटा काममा मात्र चित्त नबुझाउने, प्रविधिमा विभिन्न सम्भावना खोजिरहने व्यक्ति हुन्। उनको दिमाग हरक्षण केही न केही नयाँ आइडिया खोतल्न लागिपरिरहेको हुन्छ। त्यसैले उनलाई हलिउड फिल्म ‘आइरन म्यान’ का वास्तविक टोनी स्टार्क पनि भनिन्छ।

बिजनेस इनसाइडरले लेखेको छ, ‘एलन वास्तविक जीवनका टोनी स्टार्क हुन्। मार्भलको फिल्म आइरन म्यान उनीबाटै प्रेरित भएको हो।’

एलनले आइरन म्यानको दोस्रो संस्करणमा क्यामियो भूमिका पनि निर्वाह गरेका थिए।

सायद एलनलाई पनि आफ्नो व्यवहार अनौठो लाग्दो हो, यो संसारले सहजै पचाउँदैन भन्ने उनी सोच्दा हुन्।

त्यसैले आफ्नोबारे मोटो किताब लेख्न बसेका एसली भ्यान्सलाई भेट्दा एलनले भनेका होलान्, ‘के तिमीलाई म पागल हुँ भन्ने लाग्छ?’

साताकाे चर्चित
सम्बन्धित