पोखरा
गण्डकीको सरकारभित्रै फाटो ल्याएको र सत्ता पक्ष तथा विपक्षी सबैले एक स्वरमा विरोध गरेको ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ अन्तत फेरि समेटिने भएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निर्देशन अवज्ञा गर्दै अर्थमन्त्री रामजी बरालले हटाएको भनिएको कार्यक्रम समेटेर सोमबारदेखि संसदमा असार १ गते पेश भएको बजेटमाथि छलफल हुने भएको हो ।
पछिल्लो समय प्रत्येक दिनजसो यही विषयलाई लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बसिरहेको थियो । शुक्रबार राति २ बजेसम्म बैठक बसेर मुख्यमन्त्री नेपाली र अर्थमन्त्री बरालले सोमबारदेखि प्रदेशसभा बैठकमा बजेट छलफल गर्ने समझदारी गरेका थिए ।
त्यसका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा थप्ने र मन्त्रालयको सिलिङभित्रको योजना नै काटिएको विषयमा क्रस चेक गर्ने, थपघट गर्नुपरे अर्थ विविध शीर्षकबाट गर्ने र संसदमा छलफल पनि चलाउने सहमति भएको स्रोतको भनाइ छ ।